---Advertisement---

७४ वर्षमा पनि संघर्ष, मागेरै गुजारा चलाउन दैनिक चार घण्टा हिँड्छन् जीतबहादुर

On: November 13, 2026 11:36 AM
Follow Us:

हरिकृष्ण गौतम
लगाएकोे कपडा र जुत्ता च्यातिएको छ। हातमा आवतजावत गर्न सहारा दिने सेतो छडी र सानो झोला भिरेका ७४ बर्षिय जीत बहादुर कार्कीको अनुहार शरीर र धुलाम्मे छ। पश्चिम म्याग्दीको बेनी नगरपालिका–४,राक्सेमा भेटिएका पूर्ण दृष्टिविहिन जीतबहादुर कछुवाको गतिमा हिँडिरहेका छन्। सडकमा सवारीसाधन ओहोरदोहोर गरिरहँदा दुर्घटनाको जोखिमले समेत जीतबहादुरलाई सताउने गरेको छ।
मनको दृष्टिले उज्यालो जीतबहादुरको दैनिकी भने निकै कष्टकर छ।

दैनिक मागेर हातमुख जोड्ने गरेका जीतबहादुर पश्चिम म्याग्दी जोड्ने बेनी–तातोपानी सडकखण्डमा भेटिन्छन्। करिब आधाघण्टा कच्ची बाटोमा यात्रा गरी कालोपत्रे सडक हुँदै तातोपानी पुग्छन्। जीतबहादुरको प्रायः दैनिकी सहयोग माग्ने बनेको छ। सानो उमेर छँदा राम्ररी आँखा देख्ने जीतबहादुर रोजगारीको खोजीमा भारत पुग्दा करिब २२ बर्षको उमेरमा दुवै आँखाको दृष्टि गुमाए। दृष्टि गुमाएको बषौँ बितिसकेको छ तर पनि उनलाई दुःख, कष्टले पछ्याउन छोडेको छैन।


बेनी नगरपालिका–४,खलखले भन्ने गाउँमा स्थानीय व्यवसायी हिरा कुँवरको घरको पुरानो घरमा बस्दै आएका जीतबहादुर सुकुम्बासी हुन्। उनी बिहानै सेतो छडीको साहरामा करिब २ किलोमिटर पैदलयात्रा गरी तातोपानी बजार पुग्छन्। उनलाई पछिल्लो समय एउटा कुकुरले साथ दिने गरेको छ । जितबहादुरको अगाडी कुकुर हिड्छ फर्किने बेलामा पनि संगै फर्किन्छ ।

केही कच्ची सडक हिडेर कालोपत्रे सडकको जोखिमपूर्ण पैदलयात्रा गरी प्राकृतिक उपचार केन्द्रको रुपमा चिनिएको तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी, स्थानीयबासीले दिएको सहयोग लिएर बासस्थानमा फर्किन झण्डै २ घण्टा लाग्छ। दैनिक चारघण्टा पैदलयात्रामै बिताउने गरेका जीतबहादुर सडकमा खाल्डाखुल्डी, सडक छेउछाउको घर, मान्छे र कुकुर बाटो वरपर केही भए भाइब्रेसन मार्फत बुझ्दै यात्रा गर्छन्।


जीतबहादुरलाई सहयोगी मनका धनीले दिएको सहयोग जुटाउन श्रीमतीको साथ र हातमा रहेको सेतो छडी नै भरपर्दो माध्यम बनेको छ। सेतो छडी दृष्टिविहिनहरुको मौलिक अधिकार भएपनि आधारभूत आवश्यकता भित्र पर्ने गास, बास र कपासका लागि जीतबहादुरले चार दशकदेखि गरिरहेको संघर्षको यात्रा लामो र निकै कठोर छ। सडकखण्डको ठुलो खोला र पहिरो गएको स्थानमा भने अलमल पर्छन् । घर फर्किने बेलामा खुट्टामा चोट लागेको अवस्थामा श्रीमतिले तातोपानीले सेक्ने गरेको उनले बताए ।

बाल्यकालमा उज्यालो संसार देखेका जीतबहादुरको भारतको विकट गाउँमा गोठालो बन्दै गर्दा त्यही संसार अध्याँरोमा परिणत भयो।दृष्टिविहिनताले कष्टपूर्ण दैनिकीमा रहेका जीतबहादुरले पूर्ण अपांगताको रातो परिचयपत्र र ८५ बर्षिया तिजा कार्कीले सामाजिक सुरक्षा भत्ता बुझ्दै आएपनि बर्षभरी खाना,उपचार सहितको खर्चमा भने अभावै हुन्छ।


स्वतन्त्र रुपमा अरुको सहारा बिना नै हिँडडुल गर्ने जीतबहादुरले दैनिक सहयोग जुटाएर घरखर्च चलाउने गरेको बताए।‘भत्ताको पैसाले मात्रै खान पुक्दैन,‘अब माग्न जान पनि सक्ने अवस्था छैन’ दृष्टिविहिन कार्कीले भने। उनले एक दिन पैदलयात्रा गरी सहयोग जुटाउन जाँदा केही दिन शरीर दुखेर हिँड्न नसक्ने समेत नमिल्ने बताए।

विगत लामो समयदेखि मागेर गुजारा चलाइरहेका जीतबहादुरले तातोपानी कुण्डमा स्नान गर्न आउनेबाट दैनिक २ सय देखि ७ सय रुपैयाँसम्म सहयोग जुट्ने गरेको बताए। सहयोग माग्न बस्ने ठाउँबाट निस्कने बेलामा गम्भीर घाईते भएको केही बर्ष अगाडी करिब ६ महिना ओछ्यानमै सुतेका थिए । श्रीमतिले समेत राम्रोसँग कान सुन्न सक्दिनन् र आँखाले पनि स्पष्ट देख्दिनन् ।


उनले एउटा सानो बस्ने घर र पेटभरी खान पाए सहयोग जुटाउन हिँड्न छोड्ने बताए। ‘अब माग्न जाने अवस्था छैन, भत्ताले खाना मात्रै पुग्दैन’ एक स्थानीयले भने । दृष्टिविहिन भएर बिहानैदेखि निरन्तर मेहनत गर्ने गरेको देखेर स्थानीयबासी समेत दंग पर्ने गरेका छन् ।

बेनी नगरपालिका–२,बगरफाँटमाको ‘टाकुरा’ भन्ने ठाउँमा सरकारी जग्गामा एउटा सानो छाप्रो भएपनि आँखाले नदेख्ने, शरीरले साथ नदिने र दैनिक जीवनका आधारभूत आवश्यकतासमेत पूरा गर्न कठिन हुने अवस्थामा त्यहाँ एक्लै बस्न सम्भव नभएपछि केही समय १०१ वर्षीय खड्गबहादुर श्रीमती खिरकुमारी थापासँग बिताएका थिए ।

Leave a Comment