हरिकृष्ण गौतम
म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँमा रहेको दिपशिखा माध्यमिक विद्यालयलाई आवासीयमा रुपान्तरण गर्ने उद्देश्यले आर्थिक स्रोत जुटाउन बिहिबारदेखि सुरु भएको “म्याग्दी मालिका टोड्के, शैक्षिक एवं धार्मिक महोत्सव, श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ” मा करिब ४० लाख आर्थिक संकलन भएको छ ।

महायज्ञको गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले उद्घाटन गदैं ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा समुदायको लगानीले सम्पन्न भएको बताउनुभयो । गण्डकी प्रदेशसभा सदस्य जुग्जालीले स्वदेश तथा विदेशमा रहेका समुदायबाट शैक्षिक क्षेत्रमा प्रसस्तै लगानी भएपनि विद्यार्थीको संख्या न्यूनले चुनौति थपिएको अवस्थामा प्रबिधीको प्रयोग र शैक्षिक गुणस्तर बृद्धि गरी विद्यार्थीैलाई टिकाउन र अन्यत्रबाट समेत आउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

सोही अवसरमा प्रमुख जिल्ला अधिकारी गणेश गैरेले धार्मिक अभियानमार्फत शैक्षिक क्षेत्रमा गरिएको योगदानको उच्च प्रशंसा गर्नुभएको थियो । महायज्ञको उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख दिलकुमारी खत्री, मंगला गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी खत्री, सुरक्षा निकायका प्रमुख, मंगला माविका प्रअ गमबहादुर खत्रीसहितको उपस्थिती रहेको थियो । महायज्ञको उद्घाटन सत्रको अध्यक्षता विब्यस अध्यक्ष डेगबहादुर घर्ती, स्वागत मंगला माविका प्रअ गमबहादुर खत्री, सञ्चालन सहायक प्रअ हरिकृष्ण भट्टराईले गर्नुभएको थियो ।

आगामी मंसिर ३ गतेसम्म कुहुँ स्थित विद्यालय परिसरमा सञ्चालन हुने शैक्षिक अभियानका लागि घरदैलो,मेलापातमा रहेका अभिभावक तथा चन्दादाता भेटघाटका साथै स्वदेश तथा विदेशमा रहेका दाताबाट समेत आर्थिक सहयोग आउन थालेको प्रअ.डा.नन्दबहादुर खत्रीले जानकारी दिनुभयो ।

हालसम्म मुक्ति रोका परिवारबाट १५ लाख ५ हजार ५५५ विद्यालयका पूर्व प्रअ भद्र बहादु क्षत्रीबाट ५ लाख ५ हजार ५५५ रुपैयाँ, पुर्व विद्यार्थी महेन्द्र घर्तीबाट ३ लाख ५० हजार रुपैयाँ, भुपु माननीय नरबहादुर पुनबाट ३ लाख रुपैयाँ लगायत सहयोग प्राप्त भएको छ । न्यूनतम ५ हजारदेखि माथिको आर्थिक प्राप्त भइरहेको छ ।

विपन्न, भौगोलिक रुपमा विकट र अपायक पर्ने ठाउँका साथै कमजोर विद्यार्थीहरुलाई आवासीय सुविधा दिएर अतिरिक्त कक्षा सञ्चालन गरि सिकाई उपलब्धी वृद्धि गर्ने उद्देश्य राखेर महायज्ञ आयोजना गरिएको थियो ।

पण्डीत दीनबन्धु पोखरेलले कथाबाचन गर्नुहुने महायज्ञबाट तीन करोड जुटाउने र दुई करोडभन्दा बढी बचत गर्ने लक्ष्य राखिएको छ । भागवत पाठ–पारायण, पुजाआजा, भजनकिर्तन, कशलयात्रा, आरती, झाकी प्रर्दशनि गरिनेछ ।
प्रबिधीको प्रयोग र शैक्षिक गुणस्तर बृद्धि गरेर अध्ययनका लागि बालबालिकालाई सहर बजार लैजाने समस्या न्युनीकरण गर्ने पनि उद्देश्य रहेकोमा महायज्ञ अवधिमा लक्ष्य अनुसार सहयोग प्राप्त हुने छ । कक्षा १ देखि १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल एक सय ९६ जना विद्यार्थी छन् । वि.स. २०१७ मा स्थापना भएको विद्यालयले वि.स. २०४७ देखि माध्यमिक र वि.स. २०६५ देखि दश जोड दुई तहको पठनपाठन सञ्चालन गर्दै आएको छ ।














