म्याग्दीका सहित्यकार अजयमिलन श्रेष्ठलाई ‘लोकप्रिय साहित्यकार’को उपाधि सहित सम्मानित गरिएको छ । बेनी नगरपालिका वडा नं १ रत्नेचौरमा मंगलबार आयोजित नेपाली कांग्रेस म्याग्दीका संस्थापक सभापति स्वर्गीय ओमबहादुर बोगटीको २६ औं स्मृति दिवसको अवसरमा श्रेष्ठलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य चम्पादेवी खड्काले दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गर्नुभएको थियो ।

नेपाली भाषा र साहित्यको क्षेत्रमा निरन्तर रुपमा कलम चलाउँदै विभिन्न विधामा पुस्तक लेखन र प्रकाशन गरी अनुसन्धानात्मक र ऐतिहासिक खोजमूलक तथ्यहरूलाई सङ्कलन गरेर सम्प्रेषण समेत गर्न सफल साहित्यकार श्रेष्ठलाई २०७८ मंसिर १ गते नेपाली कांग्रेसको आठौं जिल्ला अधिवेशनको समुदघाटन कार्यक्रममा “म्याग्दीका चम्किला तारा“ जीवनी सङ्ग्रह विमोचन र लोकार्पण गर्नुभएको थियो ।

उक्त पुस्तकमा पार्टीको जिल्ला नेतृत्वमा रहेर योगदान पु–याउनु भएका ४५ जना दिवंगत व्यक्तित्वका लोकतान्त्रिक योगदानका साथै जनहितकारी सामाजिक कार्यहरू जनसमक्ष ल्याउने महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको भन्दै सम्मान गरिएको नेपाली कांग्रेस म्याग्दीका महाधिवेशन प्रतिनिधि बिक्रम बोगटीले बताउनुभयो ।

नेपाली कांग्रेसका नेता समेत रहनुभएका श्रेष्ठको म्याग्दीको साहित्य क्षेत्रमा अतुलनीय योगदान रहेको छ । सम्मानित भएपछि साहित्यकार श्रेष्ठले आफ्नो लेखन यात्रा जारी रहने बताउनुभएको थियो । नेपाली कांग्रेसका वडा सभापति कमल थापा मगरको अध्यक्षता र महाधिवेशन प्रतिनिधि विक्रम बोगटीको सञ्चालनमा भएको उक्त कार्यक्रममा स्वर्गीय ओमबहादुर बोगटीका पत्नी लीला बोगटी र नाति अभिषेक बोगटीले कार्यक्रममा उपस्थित सम्पूर्णप्रति आभार प्रकट गदैं आगामी दिनमा समेत रचनात्मक कार्य गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

Leave a Reply