अविरल वर्षसँगै आएको बाढीपहिरोले असर गरेको म्याग्दीको विभिन्न स्थानको भूगर्भविद्सहितको प्राविधिक टोलीले अध्ययन सुरु गरेका छन् । गत असोज ८ देखि १२ गतेसम्म परेको अबिरल बर्षाका कारण सदरमुकाम बेनीस्थित न्युरोड क्षेत्रमा खसेको पहिरोको दीर्घकालीन समाधान र जोखिम न्यूनीकरणका लागि भूगर्भविद्हरूको टोलीले वैज्ञानिक अध्ययन सुरु गरेको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजको नेतृत्वमा समाजका अध्यक्ष भास्कर खतिवडासहितको प्राविधिक टोलीले शनिबारदेखि पहिरोग्रस्त क्षेत्रमा विस्तृत स्थलगत अध्ययन थालेको बेनी नगरपालिकाका मेयर सुरत केसीले बताए । मेयर केसीका अनुसार बेनीबजारको चारैक्षेत्रसँगै भकिम्लीमा समेत अध्ययन हुने छ । टोलीले रघुगंगा, अन्नपूर्ण गाउँपालिकासहित जिल्लाभर कार्ययोजना बनाएर अध्ययन गर्ने छ ।

शनिबार न्युरोडको शिरमा रहेको खोरिया,खरेनीको पाखो,क्याम्पसचोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर प्राविधिक अध्ययन सुरु गरेको छ । जिल्ला समन्वय समितिका अधिकृत अमृत सुबेदीका अनुसार अध्ययन टोलीले मानवीय त्रुटीका कारण हुने जोखिमका बारेमा समेत जानकारी गराउने भएकाले तत्काल ब्यवस्थापनमा समेत काम गरिने बताए ।

पहिरोको अवस्था र माटोको बनोटको सटिक आकलन गर्न सर्भेको इक्विपमेन्ट, ड्रोनबाट तस्बिर लिनुका साथै पहिरो खसेको स्थानबाट ढुङ्गा तथा माटोका नमुना संकलन गरी वैज्ञानिक अध्ययन अघि बढाइने भूगर्भविद् एवं त्रिचन्द्र बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा.चम्पकबाबु सिलवालले बताउनुभयो।

पहिलो चरणमा अध्ययन गर्न नेपाल भौगर्भिक समाजका अध्यक्ष भाष्कर खतिवडाको नेतृत्वमा आएको चारजनाको विज्ञ टोलीमा जिल्लामा कार्यरत इन्जिनियरसहित प्राविधिक टोलीसहित स्थानीय ड्रोनको प्रयोग गरिएको छ ।
गत बुधबार राति करिब साढे ११ बजे बेनी नगरपालिका–८ स्थित न्युरोड क्षेत्रमा पहिरो खसेको थियो। खोरिया पाखोबाट खसेको पहिरोले एक दर्जनभन्दा बढी घरमा क्षति पु¥याएको छ । भिरालो तथा कमजोर भूगोल र भूमिगत पानीका कारण सो क्षेत्रमा पहिरो खस्ने क्रम अझै रोकिएको छैन ।

खरबारी क्षेत्रको माथिल्लो भाग निकै तलसम्म धसिएको अवस्थामा पाँच सयभन्दा बढी घरधुरी रहेको न्युरोड र गणेशटोल क्षेत्र उच्च जोखिममा परेको छ।
ठुलो पहिरो खसेर बजारमा थप क्षति हुन सक्ने त्रासमा स्थानीय बासिन्दा छन्। भूगर्भविद्को टोलीले स्थलगत अध्ययन तथा सङ्कलित नमुनाको विश्लेषण गरी सरकारलाई प्राविधिक प्रतिवेदन बुझाउनेछ। सोही प्रतिवेदन र सुझावका आधारमा बेनी नगरपालिका तथा सम्बन्धित निकायले पहिरो नियन्त्रण र बजारवासीको सुरक्षाका लागि दीर्घकालीन उपाय तय गर्ने प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए ।
करिब तीन सय मिटर उचाइ र पाँच सय मिटर चौडाइ क्षेत्रफल खरबारीको माथिल्लो भाग एक मिटरभन्दा तल दबेको र बीच भागमा धेरै ठाउँमा चिराचिरा परेर धाँजा फाटेकाले जोखिम रहेको अवस्था अध्ययनले केही राहतको महसुस भएको बेनी नगरपालिका–८ खोरियाका बासिन्दा निशा सुवेदीले बताइन् । पाखोमा चिरा परेपछि रुखहरू लडेका कारण जमिन दवेको भएपनि कालिगण्डकी नदीको बाहबको कुनै सम्बन्ध नरहेको नेपाल भौगर्भिक समाजका अध्यक्ष खतिवडाको भनाई छ ।












