---Advertisement---

बेनी-जोमसोम सडक एक साताभित्र सञ्चालनमा ल्याउने तयारी, स्वयंमसेवकले बोके ७२० लिटर डिजेल

On: October 3, 2026 9:55 PM
Follow Us:

अविरल वर्षासँगै आएको बाढीपहिरोपछि म्याग्दीका अधिकांश ग्रामीण सडक सञ्चालनमा आएका छन्। बेनी–दरबाङ सडक साना सवारीका लागि खुलेको छ भने बेनी–बागलुङ सडकमा पनि साना सवारी आंशिक रूपमा चलेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कुल प्रसाद आचार्यले शनिबार जारी गरेको प्रेस नोटमा जिल्लाको प्रमुख बेनी–जोमसोम सडक भने अझै पूर्ण रूपमा अवरुद्ध भएपनि आवश्यक इन्धनसहितको स्रोतसाधनको ब्यवस्थापन भइरहेको छ ।


जिल्लाको बेनी–तोरीपानी–पाखापानी, पखेर–बरंजा–महेश–धापुङ र गलेश्वर–घतान–पुलाचौर सडक सञ्चालनमा आएका छन्। पर्वतको जलजला हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीसम्मको सडकको अवरोध हटाइएको छ। मौवाफाँट–बेगखोला वैकल्पिक मार्गको काम सुचारु गरिएको छ भने अन्य पहिरो प्रभावित ग्रामीण सडक खुलाउने काम जारी छ।


बेनी–जोमसोम सडकको तिलकेनी क्षेत्रमा प्रधानमन्त्रीका निजी सचिव (सहसचिव) प्रदीप परियारको नेतृत्वमा स्थलगत निरीक्षण गरी आवश्यकता परेमा दुई सिफ्टमा भएपनि काम गरी एक साताभित्र सडक सञ्जाल गर्न निर्देशन दिइएको छ ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीले कालीगण्डकी करिडोर सडकखण्डको निरीक्षण गरी थप स्रोतसाधनका बारेमा जानकारी लिएको सहायक प्रजिअ आचार्यले बताउनुभयो । बाढीपहिरो र नदी कटानले दाना–कुश्मा २२० केभी प्रसारण लाइनको दाना सबस्टेशनदेखि राहुघाट सबस्टेशनसम्म क्षति पुगेकाले प्रसारण लाइन मर्मतको काम भइरहेको छ।


त्यस्तै बेनी नगरपालिका–६ ओँपारूख सामुदायिक वनको खैरेनी बस्ती नजिक पहिरो धस्किएको छ। अँधेरीगैरामा रोकथाम गरिएको पुरानो पहिरो पुनः सक्रिय भएको छ भने बेनी–४ सिंगा क्षेत्र पनि प्रभावित भएको छ। बेनीबजारको न्यूरोडमा खसेको बाढीको अवस्थाका बारेमा खोरियामा समेत भर्गविद्को टोलीले निरीक्षणसहित माटो, ढुंगाको नमुना संकलन गरेको जिल्ला समन्वय समिति म्याग्दीका अधिकृत अमृत सुबेदीले बताउनुभयो ।


त्यस्तै नेपाल भौगर्भिक समाजका चार जना भूगर्भविद्को टोलीले बेनी नगरपालिका–८ न्यूरोडमाथि रहेको प्रकाश माध्यमिक विद्यालयको पाखोलगायतका स्थानमा भौगर्भिक अध्ययनसहित रघुगंगा गाउँपालिकामा समेत पुगेर निरीक्षण गरेको छ । खाद्यान्न तथा गैरखाद्यान्न राहत सामग्री पु¥याउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय भइरहेको छ।

अन्नपूर्ण गाउँपालिका–५ शिख, वडा नं. ५ कै पाउद्वार र वडा नं. ८ महभिर (शिरुवारी) मा राहत पु¥याउने तयारी गरिएको छ। जिल्लाभर उद्धार, सुरक्षा तथा सडक सञ्चालनका लागि जिल्लाभर नेपाली सेना १६५, नेपाल प्रहरी २५१ र सशस्त्र प्रहरी बल ६० जना परिचालन गरिएको छ। निजामती कर्मचारी, स्वास्थ्यकर्मी र संघसंस्थालाई आवश्यकता अनुसार खटाइएको छ भने सबै स्थानीय जनप्रतिनिधि परिचालित छन्।


यसैबीच हेलिकप्टरमार्फत अन्नपूर्ण गाउँपालिका–५ पाउद्वार, गिबाङ, शिख, वडा नं. ६ घार, मंगला गाउँपालिका–५ छिस्वाङ, रघुगंगा गाउँपालिका–६ पाखापानीलगायत क्षेत्रमा खाद्यान्न, गैरखाद्यान्न तथा औषधिजन्य सामग्रीसमेत ढुवानी गरिएको छ। कालीगण्डकी करिडोरको लेते–घाँसा हुँदै पोखरेबगर पुलसम्म साना सवारीसाधन सञ्चालन हुने गरी सडक अवरोध हटाइएको आयोजना प्रमुख तेजस्वी शर्माले बताउनुभयो । सडक खुलाउन ४५ जना सुरक्षाकर्मी तथा सामाजिक संघसंस्था र राजनीतिक दलका स्वयंसेवक परिचालन गरी राहुघाट खोलादेखि बैँसरीसम्म ७२० लिटर डिजेल ढुवानी समेत गरिएको छ ।


बेनी–जोमसोम सडकखण्डका विभिन्न अवरोधस्थलमा ठूलो संख्यामा मेसिन परिचालन गरिएको छ। प्रशासनका अनुसार राहुघाटमा ४ एक्स्काभेटर, २ लोडर, ५ टिपर र १ ब्याकहो; बैँसरीमा २ एक्स्काभेटर; तातोपानीमा १ एक्स्काभेटर तथा पोखरेबगरमा २ लोडर, २ एक्स्काभेटर र २ टिपर सञ्चालनमा छन्। प्रशासनले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा सडक सञ्चालनका लागि सम्बन्धित निकाय र नागरिकलाई आवश्यक सहयोग तथा समन्वय गर्न अनुरोध गरेको छ।

Leave a Comment