ठेकेदार कम्पनीको चरम लापरबाहीले म्याग्दीमा ठूला सडक आयोजनाको भौतिक प्रगति निराशाजनक रहेको छ । कोरोना, वर्षात् र अन्य बहाना बनाएर जिल्लाभित्रका ठूला विकास आयोजना अलपत्र छाडेका हुन् । बेनी–बागलुङ, बेनी दरवाङ, बेनी–गलेश्वर, गलेश्वर–राखु भगवती, पोखरेबगर–चित्रे लगायतका सडकको भौतिक प्रगति अवस्था असाध्यै नाजुक छ ।म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बागलुङ–बेनी सडक खण्डको बेनपा–१ मा ३ किलोमिटर ८ सय मिटर सडक निर्माण गर्ने योजना चार वर्षमा पनि पूरा भएको छैन ।

बेनपा–१ रत्नेचौरको भुवानेबाट हुलाकेडाँडा–खबरासम्मको सडक विस्तार र कालोपत्र गर्न सडक डिभिजन कार्यालय बागलुङले वि.सं २०७४ साउनमा नागार्जुन देव एण्ड सायर बिएन जेभीसँग रु १३ करोड १५ लाखमा ठेक्का सम्झौता गरेको थियो । विसं २०७५ मा प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीमा हस्तान्तरण भएको यो सडक निर्माण विसं २०७६ मा सक्ने लक्ष्य थियो । ९० प्रतिशत भौतिक प्रगति भएको सडकको अहिले कालोपत्र उप्किएर खाल्डाखुल्डी परेको, पर्खाल भत्किएको र नाली पुरिएको छ ।

पूर्वाधार विकास कार्यालयले चैत महिनासम्म म्याद भएकाले मौखिक र पत्रमार्फत सडक निर्माणलाई पूर्णता दिन ताकेता गरेपनि निर्माण कम्पनीले बेवास्ता गरेको छ । सदरमुकाम बेनीदेखी गलेश्वरसम्मको ३ किलोमिटर सडक खण्ड बजेट विहीन भै अलपत्र परेको छ । पूर्वाधार कार्यालयले बेनी–जोमसोम–कोरोला सडक आयोजनालाई हस्तान्त्रण गर्ने सूचिमा राखेकोले बजेट विनियोजन नगरेको र आयोजनाले हस्तान्त्रण नभएकाले सडक अलपत्र परेको बताइएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले बेनी–गलेश्वर खण्ड अन्र्तगत गत वर्ष कालीपुल मोटरेपुलबाट डल्लेपिपलसम्मको ७ सय मिटर सडक कालोपत्रे गराएको र उक्त ठेक्काको मर्मत गर्ने एक बर्षे म्याद ०७८ पुस २९ गतेसम्म सकिएको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले म्याद भएर पनि काम नगरेका ठेकेदारलाई ताकेता गरिएको बताए ।

‘समयमै निर्माण नसकिने र भएका संरचनामा पनि गुणस्तरमा ध्यान दिएका छौ,‘वित्तिय स्रोतको अभाव नभई काम गर्नेहरूबाटै असहयोग भएको हो’ कार्यालय प्रमुख अर्यालले भने । उनले आयोजना सुरु भएको वर्षौं बित्दा पनि प्रतिफल नदेखिएको अब समय खेर फाल्न नहुने भन्दै माथिल्लो निकायमा समेत पत्रचार गरिएको बताए । प्रगति पनि कमजोर भएका केही आयोजनाहरूलाई निरन्तर दबाब पछि काम सुरू गरेको प्रमुख अर्याललको भनाई छ ।

बेनी–दरबाङ सडकमा ठेकेदार फर्किएपछि भौतिक प्रगति राम्रो देखिएको पूर्वाधार कार्यालयले जनाएको छ। जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि र सरकारी निकायका प्रमुखहरूको उपस्थितीमा लिखित र मौखिक प्रतिबद्धता जनाएका ठेकेदार कम्पनीले समेत आफ्नो प्रतिबद्धता अनुसार काम गर्न सकेका छैनन् ।

गलेश्वर–पिप्ले–भगवती–बेग सडकको काम समेत सुस्त गतिमा छ । एपेक्स खड्का कृष्ण जेभीले विभिन्न प्रचार गरी कामलाई गति दिन सकेको छैन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ म्याग्दीले मोतिदान–जयमाता जेभीसँग ठेक्का सम्झौता गरेको पोखरेबगर–चित्रे सडक कालोपत्रको काम समेत सन्तोषजनक नभएको कार्यालयले जनाएको छ ।

जिल्लाभित्रका विकास निर्माणको योजना अलपत्र पर्नुमा राजनीतिक दल, जनप्रतिनिधि, प्रशासन तथा सुरक्षा निकायलाई विकास आयोजनामा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कारबाहीभन्दा संरक्षण गरेको आरोप लाग्ने गरेको छ । संघ, प्रदेश र स्थानीय तहमा सञ्चालित ठूला आयोजना सम्पन्न गराउनेभन्दा अलपत्र पार्ने ठेकेदारको संरक्षणमा जिल्ला जनप्रतिनिधि र राजनीतिक दल लाग्दा ठूला आयोजनाले गति लिन नसकेको सरोकारवाला निकायको भनाई छ । जिल्ला समन्वय समितिको आयोजनामा भएको स्थानीय तह र विषयगत कार्यालयको विभिन्न बैठकमा प्रतिबद्धता अनुसार काम नगरेकालाई कारवाही गर्न समेत सरकारी निकायले चासो देखाएका छैनन् ।

Leave a Reply