Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

मंगला जहाँ मन रमाउँछ…

म्याग्दी नदीको नामबाट नामकरण गरिएको गाउँपालिका हो–मंगला। म्याग्दी नदीलाई ‘मंगला’ पनि भनिन्छ। म्याग्दी जिल्लाका कुहुँकोट, बाबियाचौर, बरंजा र अर्मन गाविस मिलाएर मंगला गाउँपालिका बनाइएको हो। यसको क्षेत्रफल ८९ वर्गकिलोमिटर छ।  यहाँ पर्यटनको प्रशस्तै सम्भावना छ। यहाँका टोड्के र झाँक्रीपानी चर्चित भैसके। अब चम्काउनु पर्नेछ तीनचुले, चाङ्गाखर्कलगायत सम्पदालाई।
मंगला नदी सहितको बस्ती।

स्थानीय चुनावपछि आउने गाउँपालिका नेतृत्वले पर्याप्त पर्यटकीय पूर्वाधार विकास, प्याकेजिङ र मार्केटिङमा विशेष काम गर्नुपर्ने बताउँछन् म्याग्दीका पर्यटन अभियन्ता राजेश शाक्य।

‘मंगला गाउँपालिका आध्यात्मिक पर्यटनधाम बन्न सक्छ। त्यसका लागि हामी स्थानीय सरकारलाई झक्झकाइरहनेछौं। सकेको योगदान पुर्‍याउनेछौं’, उनी भन्छन्, ‘हाम्रो म्याग्दी सबभन्दा पहिला हामी म्याग्देलीले नै घुम्नु पर्छ।’
मंगला गाउँपालिकाका टोड्के र झाँक्रीपानी पछि हिलस्टेसनका रूपमा तीनचुले र चाङ्गाखर्क चम्किन सक्छन्। भोलि स्वदेश तथा विदेशका पर्यटक त आउलान् नै, म्याग्देलीहरू भने आजै किन नघुम्ने ?

तीनचुले 

तीनचुले आध्यात्मिक धाम हो। डाँडामा बराहताल र सिद्धबराह मन्दिर छ। प्राकृतिक हिसाबले पनि सुन्दर तीनचुले (२,७३५ मिटर) बाट हिमालको लामो श्रृंखला देखिन्छ, धौलागिरि, गुर्जा, अन्नपूर्ण, निलगिरिलगायत हिमाल। म्याग्दीको मंगला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सीमामा पर्दछ तीनचुले। गुराँसे जंगलको शिरमा दुई वटा मन्दिर मात्र छ। बस्ती छैन। शान्त डाँडामा बालाचर्तुदशीका दिन ठूलो मेला लाग्छ। यहाँ सतविज छरिन्छ। अरू बेलामा सुनसान हुन्छ।

तीनचुलेमा सिद्धबराह मन्दिर।

दुई गाउँपालिकाको संगममा पर्ने भएकाले यसको पर्यटकीय विकासमा दुवैले साझेदारी गर्नुपर्छ। तीनचुले बेस क्याम्पसम्म सडक खन्ने काम सुरू भैसकेको छ। मंगला गाउँपालिकाको किम्चौरबाट सडक खनिएको छ। जीप यात्रापछि आधा घण्टा हिँडेमा तीनचुले पुगिन्छ। मन्दिर पुग्नु अघि बेस क्याम्प आउँछ। त्यहाँबाट ७ मिनेट पदयात्रामा बराह मन्दिर।

तीनचुलेका तीर्थालु।

तीनचुलेमा खाना र बास सुविधा छैन। वर्तिरको झाँक्रीपानीमा सामुदायिक होमस्टे सुविधा छ भने सिर्कुम गाउँमा पनि सामान्य खाना र बास पाइन्छ।

सम्पर्क
भूपेन्द्र खत्रीक्षेत्री– ९८४१७३६३७३

झाँक्रीपानी

हिमाली सौन्दर्य, मगर संस्कृति र मीठो खानाका लागि मंगला गाउँपालिका–३ को झाँक्रीपानी प्रख्यात छ। झाँक्रीपानी (२,२८० मिटर) बाट धौलागिरि, चुरेन, गुर्जा, मानापाथी, अन्नपूर्ण, निलगिरि र माछापुच्छ्रेलगायत हिमाल छर्लङ्ग देखिन्छन्।

झाँक्रीपानी

शितल वातावरण, ग्रामीण जीवनशैली र आत्मीय व्यवहार गाउँका आकर्षण हुन्। गाउँ नजिकै चिनाकोट छ। स्थानीय संस्कृतिविद् अमरबहादुर रोकाकाअनुसार गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने बेलामा चौबीसे राज्यबाट दलबलसहित ‘चिना’ नाउँकी रानी भागेर अग्लो डाँडाको धुरीमा बसेकी थिइन्। चिना रानी बसेको डाँडा भएकाले पछि चिनाकोट भनिएको किम्बदन्ती छ।

झाँक्रीपानीमा महिला समूह

पर्यटकका लागि झाँक्रीपानीमा सामुदायिक होमस्टे सुविधा छ। मगर, विक, नेपाली, किसान, बाहुन, क्षेत्री, थकाली, नेवार र छन्त्यालका ६० घर रहेको गाउँका २२ घरमा होमस्टे सुविधा छ। होमस्टेमा सस्तोमा खाना र बास सुविधा पाइन्छ।

सम्पर्कः
कमल रोका–९८४७४४८७२९

टोड्के

प्रकृति र अध्यात्मको दोभान टोड्के (२,५०० मिटर)। मंगला गाउँपालिका, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको संगममा पर्ने टोड्के डाँडाबाट गुर्जा, चुरेन, मानापाथी, धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमाल छर्लङ्ग देखिन्छन्।

टोड्केबाट देखिएको धौलागिरि हिमश्रृंखला

टोड्केको रोमान्टिक वातावरणमा तन र मन रिचार्ज हुन्छ। ऊर्जा बढ्छ। हिमाली  मुस्कान, चराको चिरबिर र जंगलको हरियालीले लठ्ठै बनाउँछ। वर्षातमा भुइँकुहिरोले लुकामारी खेल्छ। जमिन भुइँफूलले रंगीन बन्छ। पुस–माघमा सेताम्मे हिउँ पर्छ। फागुन–चैतमा लालीगुराँसको बैंस चढ्छ।

टोड्केलाई योग र ध्यान केन्द्रका रूपमा विकास गर्न सकिन्छ। आध्यात्मिक हिसाबले टोड्के क्षेत्रको ठूलो महत्व छ। पुराणहरूमा कालाञ्जर पर्वतको वर्णन पाइन्छ। टोड्के पनि कालाञ्जर क्षेत्रमै पर्छ। स्वर्गद्वारी महाप्रभुलगायत धेरैले यहाँ तपस्या गरेका थिए। डाँडाको थाप्लोमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ।

टोड्केबाट देखिएको कुहुँ गाउँ

डाँडाको नाम टोड्के रहनुमा एउटा कथा छ। टोड्केको अर्थ प्वाल हो। जंगलमा ५० मिटर लामो सुरूङ छ। त्यो प्वालमा गाईवस्तु अड्किन्थे। तिनलाई बाघभालुले खाइदिन्थे। गाउँलेले टोड्को भएको ठाउँ भन्दाभन्दै ठाउँकै नाम टोड्के रहन गयो।

 

डाँडामा दुई रात बसेर रमाउन सकिन्छ। मधुमास मनाउन टोड्के उत्तम गन्तव्य बन्न सक्छ। त्यसैले डाँडालाई ‘हनिमुन डेस्टिनेसन’का रूपमा ब्राण्डिङ गर्ने कि? टोड्के आफैंमा रोमाञ्चक गन्तव्य हो। डाँडामा पर्यटनकर्मी भीम शेरचनको समूहले रिसोर्ट चलाएको छ।

सम्पर्क
भीम शेरचन–९८५१०२३०३२

चांगा

सिर्कुम गाउँको शिरमा चांगाखर्क छ। मंगला गाउँपालिका–५, मा पर्ने चांगा (२,२५० मिटर) बाट खर्कबाट गुर्जा, चुरेन, धौलागिरि, मानापाथी, अन्नपूर्ण, नीलगिरी र माछापुच्छ्रे हिमालको लामो लर्कन देखिन्छ।

चांगामा दलित, मगर र क्षेत्री समुदायको बसोबास छ। निर्वतमान वडाध्यक्ष भूपेन्द्र खत्री क्षेत्रीकाअनुसार खर्कमा १२ परिवारले स्थायी रूपमा बसोबास गर्दै आएका छन्। पहिला-पहिला गाउँलेहरू बर्खामासमा खर्कमा गोठ राख्थे। भेडा र भैंसी पाल्थे। अचेल पनि पालिन्छ तर थोरै मात्र।

खर्कमा बराह मन्दिर पनि छ। जैविक विविधताका हिसाबले पनि चांगा आकर्षक मानिन्छ। यहाँ प्रकारका जडीबुटी, चरा र जंगली जनावर पाइन्छ। खर्कमा दुम्सी, घोरल, बाँदर, मृग, बाघ, भालु, कालिजलगायत जनावर भेटिन्छन्।

चाङ्गाको काखमा सिर्कुम गाउँ।

खर्कमा खाना र बास बस्ने सुविधा छैन। क्याम्पिङ गरेर बस्नुपर्ने बाध्यता छ। तल सिर्कुम गाउँमा चाहिँ खाना र बास पाइन्छ।
योग र ध्यानका लागि चांगाखर्क उपयुक्त छ। यहाँ आध्यात्मिक पर्यटनको प्रचुर सम्भावना देखिन्छ। खर्कसम्मै सडक ट्रयाक खुलेको छ।

कसरी पुग्ने? 

काठमाडौं–बेनी २८२ किमी बसमा ९ घण्टा। बेनी बजारबाट २४ किमी दूरीमा झाँक्रीपानी। बेनीबजारबाट १४ किमीमा टोड्के, बेनीबाट ३५ किमीमा सिर्कुम गाउँ। सिर्कुमबाट १ घण्टा पदयात्रामा चाङ्गा खर्क। त्यस्तै बेनीबाट झाँक्रीपानी, किम्चौर हुँदै करिब ३२ किमीमा देउराली। देउरालीबाट आधा घण्टा पदयात्रामा तीनचुले।

मंगला घुम्न आउनुस् है !


सतप्रसाद रोका
निवर्तमान अध्यक्ष, मंगला गाउँपालिका 

हामी पर्यटकीय हिसाबले मंगला गाउँपालिकालाई चम्काउँछौं। हाम्रो गाउँपालिकामा पर्यटनको प्रशस्तै सम्भावना छ। त्यसैले हामीले पर्यटकीय क्षेत्र पहिचान गरी पूर्वाधार विकासमा जोड दिएका छौं। यहाँका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले पर्यटकलाई आकर्षित गर्छन्। हामीले झाँक्रीपानी, चिनाकोट, चाङ्गा, तीनचुले, टोड्के, लामो छहरालगायत सम्पदामा पूर्वाधार विकासका काम गरेका छौं। हामी कृषि पर्यटन पनि प्रवर्द्धन गर्दैछौं। तपाईं पनि मंगला घुम्न आउनुस् है!

setopati.com

Exit mobile version