हरिकृष्ण गौतम
म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरमा वैशाख पूर्णिमाको अवसरमा साढे ३ हजार भन्दा बढी भक्तजनले दर्शन गरेका छन् । म्याग्दीको मालिका गाउँपालिका–७, रघुगंगा गाउँपालिका–६ र मंगला गाउँपालिका–२ हिदीबाट सडक सञ्जाल र पैदलमार्ग हुदै बिहिबार बेलुकी र शुक्रबार प्रतिकुल मौसमका बाबजुत पनि उत्साहजक भत्तजनको उपस्थिीति रहेको मालिका क्षेत्र विकास संरक्षण समितिका अध्यक्ष छकप्रसाद पाईजाले बताउनुभयो ।

‘तीनवटै पालिकाबाट सडक सञ्जाल जोडिएकाले विहान आएर पूजा गरी फर्किनेको संख्या बढ्न थालेको छ, अब एकैदिनमा पुजागरी आफ्नै घरमा पुग्न सकिने भएकाले आगामी दिनमा भक्तजनको भीड लाग्ने अनुमान छ’ अध्यक्ष पाईजाले बेनीअनलाइनलाई भन्नुभयो। रघुगंगा, मालिका र मंगलाको सिमानामा रहेका बस्तीबाट सडक सञ्जाल छोडेर करिब आधाघण्टाको अक्करे भीरको यात्रा गरेपछि मालिका मन्दिरमा पुगिन्छ ।
मन्दिरमा ५७ हजार ७१० रुपैयाँ दानभेटी संकलन भएकोमा भक्तजनले ल्याएको बोकाको बली दिने कार्यमा खटिएका सहित अन्य खर्च गरी बाँकी भेटीलाई मन्दिर आसपासका क्षेत्रमा आवश्यक पर्ने मर्मतका कार्यमा खर्च गरिने छ ।

मन्दिरमा पाखापानीकी थममायाँ पाईजा, रेसु पाइजाले मुल मन्दिर र कालिका, जालपा, गणेश, शिव मन्दिरमा आउने भक्तजनलाई पूजाआजा र प्रसाद वितरण गर्नुभएको थियो । एउटै थुम्कोमा त्रिदेवी मालिका, कालिका र जालपा रहेको मालिकाधुरीमा चण्डी पुर्णिमा, जेष्ठी पुर्णिमा र कार्तिक पुर्णिमामा दर्शन र पुजाआजा गर्ने भक्तजनहरुको घुइँचो लाग्छ । त्रिदेवीको दर्शनले मनोकांक्षा हुने जनविश्वासका साथ बषौंदेखि भक्तजनहरू मालिकाधुरी पुग्छन् । कालिका र जालपकाको बीचमा मालिका मन्दिर छ ।

एउटा ठूलो शिलालाई कालिका र अर्कोलाई जालिकाको रूपमा पुजिन्छ। मन्दिर नजिकै चट्टानमा गणेशको पूजा गरिन्छ भने हाल अमेरिकामा रहनुभएका मोतिबहादुर पाइजाले शिवको मन्दिर समेत बनाउनुभएकाले मन्दिरबाट अलग रहेको स्थानमा भक्तजनले दर्शन गर्ने गरेका छन् ।

समुन्द्री सतहदेखि तीन हजार ३ सय मिटर उचाइमा अवस्थित मालिकाधुरीबाट आँखामा नै ठोक्किन आउने धौलागिरि, नीलगिरि, अन्नपूर्ण, मनास्लु, माछापुच्छ्रे, गुर्जा, चुरेन, पुथालगायतका दर्जनौँ हिमश्रृंखला देखिन्छन् । मालिकालाई ग्रामिण पर्यटनको सुन्दर गन्तब्यको रुपमा समेत विकास गरिएको छ ।














