---Advertisement---

ढाडमा डोरी बाँधी काालिलाग्दो भीरमा तुर्लुङ्ङ झुन्डिएर मह सिकार

On: May 2, 2026 1:45 PM
Follow Us:

हरिकृष्ण गौतम
म्याग्दीको धवलागिरि गाउँपालिका-२, लुलाङ खोरियाका ६३ वर्षीय मोतीप्रसाद पाइजा कहालीलाग्दो मतलाभिरमा ज्यानको बाजी लगाएर आफ्नो ढाडमा डोरी बाँधी तुर्लुङ्ङ झुन्डिएर मह सिकार गर्छन्। उनले बाँसको चोया र काठ प्रयोग गरी बनाइएमा भ¥याङ (पराङ)मा डेढ घण्टासम्म झुन्डिएर मह काढ्छन्। विगत ३८ वर्षदेखि निरन्तर म्याग्दीका अधिकांश अग्ला भिरपहरामा मौरीको घार खोज्दै हिँड्ने गरेका मोतीप्रसादले तुर्लुंग डोरी झुन्डिएर मह निकाल्ने र बिक्री गर्ने कामलाई आफ्नो पुख्र्याैली पेसा र परम्परा ठान्छन्।


आङ सिरिंग हुने कहालीलाग्दा पहरामा एक्लै पुग्ने मोतीप्रसादलाई सहयोग गर्ने करिब १० जनाको टोली छ। उनले हरेक वर्ष सिजनमा म्याग्दी र छिमेकी जिल्लाका भिरहरूमा पुगेर मह सिकार गर्छन्। करिब तीन सयदेखि सात सय मिटर अग्लो भिरमा जोखिम मोलेर मह निकाल्ने गरेका मोतीप्रसादले अन्य भीर मह शिकारीले छोडेका अग्ला पहाडमा समेत पुगेर ज्याला लिएर समेत मह निकाल्ने गरेका छन् ।


अक्करे भिरमा जोखिम मोलेर गरिने साहसिक मह सिकार गर्दा मोतीप्रसादका धेरै रात जंगलमा बितेका छन्। ‘हत्केलामा राखेर डोरी (परङ)मा झुन्डिएर मौरीको चाका नजिक पुगी मह निकाल्नुपर्छ। धेरैपटक मृत्युको मुखमा पुगेर फर्किएको छु,’ मोतीप्रसादले भने। २३ वर्षको उमेरमा पहिलोपटक भिरमा जाँदा ज्यानै गएको महसुस भए पनि आजकल बानी भइसकेको मोतीप्रसादको भनाइ छ।

भिर मह काढ्दा परङमार्फत गएका सिकारीले गोलामा धुवाँ झोस्ने हुनाले थोरै गल्ती भएमा ज्यान पनि जान सक्ने भएकाले पूर्वतयारीमा समेत समय खर्चनुपर्छ।ठुलो भिरमा मेहनत धेरै लाग्ने भएकाले एउटा भिरमा दिनभरि खर्चिनुपर्ने मोतीप्रसादको भनाइ छ।


असम्भव धेरै भिरमा पुगेर मह काढ्ने गरेकाले पनि मोतीप्रसादलाई दैनिक भत्ता दिएर समेत बोलाउने गरेका छन्। ‘एउटै भिरबाट एकसय लिटरसम्म मह निकाल्न सकिन्छ। अहिले गाउँमै मह किन्न ग्राहक आउँछन्,’ मोतीप्रसादले भने।

मोतीप्रसाद पाइजा

अनुभवसँगै आँट, साहस भएको र स्वस्थ भएमात्रै पेसालाई निरन्तरता दिन सकिने उनले बताए। मह निकाल्ने स्थानीय भाषामा भिरौटेलाई व्यापारीले दैनिक तीन हजार, मह तान्ने टाउकेलाई १८ सय, मह छान्ने सिपालुलाई १५ सयसम्म दिने गरेका छन्।

खिमबहादुर घर्ती
त्यसैगरी मोतीप्रसादजस्तै मालिका गाउँपालिका–५, देविस्थानका ५४ बर्षिय खिमबहादुर घर्तीलाई भिरमहको सिजनमा भ्याइनभ्याई हुन्छ । देविस्थान र आसपासका क्षेत्रका पहाडमा उक्लिएर घर्तीले मह निकाल्न सुरू गरेको धेरै बर्ष भयो । गाउँमा घर्तीको अगुवाई विना पहाडमा उक्लिएर मह निकाल्ने जनशक्ती नै छैन ।

मालिका गाउँपालिका भित्र मह सिकारीको नाम लिनुपर्दा अग्रपक्तीमा आउने घर्ती अहिले देविस्थानका जंगलमा रहेका भीरपहरामा समुह बनाएर मह निकाल्ल ब्यस्त रहेको स्थानीय यूवा लोकेन्द्र पुनले बताए । उनका अनुसार देविस्थानमा घर्तीको नेतृत्वमा राजकुमार घर्ती, किरण फगामी,प्रविण तुलाचन, बुद्धि शेरचन, भिम पुन, बोम पूर्जाले मह निकाल्नका लागि भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका काम गर्ने गरेका छन् ।

सुरुमा हरियो घाँसको धुवाँ मौरी भएको ठाउँसम्म पु¥याइन्छ। धुवाँले मौरी लठ्ठ परेर चाका छाड्छन् अनि मात्र बल्ल सिकारी मह काढ्न थालिन्छ। एक समूहले भिरमाथिबाट तल भुईंसम्म डोरी झुन्डाउँछन् भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्छन्। बजारमा महको प्रतिलिटर ३ हजार रूपैयाँमा बिक्री हुुन्छ।

म्याग्दीको भिरमहको बजार अन्तर्राष्ट्रियस्तर सम्म छ। ठुलो भिरमा १० र सानोमा ६ जनाको जनशक्ति व्यवस्थापन गर्नुपर्छ। एक सिजनमा ज्याला, राजस्व, अन्य व्यवस्थापन खर्च कटाएर समूहमा रहेकाले बाँढ्ने गरेका छन्।पछिल्लो समय वनजंगलमा लागेको डढेलोले समेत भिरमौरीको वासस्थानलाई असर गरेको छ।

अग्ला भिरमा डढेलोको धुवाँको मुस्लोका कारण समस्या हुने गरेको अवस्थामा पछिल्ला केही वर्षयता पुनः भिरमा मौरी आएर बसोबास गर्न सहज हुने गरी चाका सोही स्थानमा छाड्ने गरिएको छ। बस्तीबाट धेरै टाढा भिर क्षेत्रमा पछिल्लो समय भिरमौरीको बथान बढ्दै गएकाले उत्पादनमा वृद्धि भएकाले संरक्षणमा समेत विशेष ध्यान दिने गरेका छन्।स्थानीय मह सिकारीले सामुदायिक वनसँग अनुमति लिएर भिर मह खोज्दै गरेका छन् ।


म्याग्दीलाई ‘हनी हन्टिङ’ का लागि प्रख्यात ठाउँका रूपमा चिनाउने प्रयास समेत भइरहेको छ। भिरमौरीको महत्त्वबारे जानकार रहेकाले संरक्षणका लागि पुराना र अनुभवीहरूबाट जानकारी तथा संरक्षणका थप योजना समेत बनाएको छ । म्याग्दीमा विगतमा भीर मह र सिकारीको विषयमा उत्कृष्ट डकुमेन्टी समेत बनेको छ। चराचुरुङीले गुँडसम्म लगाउन नसक्ने ठाउँमा डोरीको सहायताले पुग्ने गरेको दृश्यले विदेशी पर्यटकलाई आकर्षित गर्ने प्रयास गरेपनि हालसम्म स्थानीयले आयआर्जनमा सिमित भएको छ ।


म्याग्दीमा मालिका, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा भीर मह अत्याधिक पाइन्छ । जिल्लाभर गूर्जा,लुलाङ कुइनेमंगले गुर्जा, चिमखोला, दग्नाम, उत्तरी क्षेत्रमा दाना, शिख, हिस्तानको दोसल्ले भीरमहको हव नै मानिन्छ । गुलियो र स्वादिलो हुने भिरमह विशेषगरी यौनवर्धक, शक्ति र हाडजोर्नीका रोगीका लागि अचुक औषधी मानिन्छ।

वसन्त र शरद ऋतु मह सिकारका लागि उपयुक्त समय मानिन्छ। पछिल्लो समय स्थानीयलाई भिरमा जाँदा आवश्यक पर्ने सुरक्षाका उपकरणहरूमा ध्यान दिन अनुरोध गरिए पनि समुदायमै खर्च हुने भएकाले गाउँपालिकाामार्फत संरक्षणमा सघाउने गरिएको धवलागिरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो । गाउँपालिकाभित्र भीरमहबाट आयआर्जनमा संलग्नको सुरक्षाा लागि निरन्तर चासो रहेको र आवश्यकता अनुसार सहयोग समेत गर्ने योजना बनाइएको छ ।

Leave a Comment