नेकपा (माओवादी केन्द्र) म्याग्दीले यसपटकको नतिजा सन्तोषजनक नभएपनि लक्ष्य प्राप्तीका लागि सहज भएको बताएको छ । गएको स्थानीय तहमा प्रमुख, उपप्रमुख विहिन भएको माओवादीले बेनी नगरपालिकाको उपमेयर र धवलागिरी गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।

त्यस्तै बेनपा वडा नं ३ मा चौतर्फी घेराबन्दीका बिच वडा जोगाउन सफल भएको छ भने वडा नं ४ नेकपा एमालेबाट खोसेको छ । वडा नं ७ मा १, वडा नं ९ मा २ वडा सदस्य जितेको छ । यता मंगला गाउँपालिका वडा नं ३ नेकपा एमालेबाट खोसेको छ भने मालिका गाउँपालिका वडा नं ३ नेकपा एमालेबाट आफ्नो पक्षमा पारेपनि वडा नं ४ ओरखबोट नेपाली कांग्रेस र वडा नं ७ बिम भने एमालेबाट जोगाउन सकेन् ।

गएको स्थानीय तहमा दुई वडा जितेको माओवादीले यसपटक एक वडामा खुम्चिएको छ । यता धवलागिरी गाउँपालिकामा वडा नं १ गुर्जा जोगाएको छ भने वडा नं ७ ताकम नेकपा एमालेबाट खोसेको छ ।

यता रघुगंगा गाउँपालिकामा माओवादी केन्द्र ’क्लिन स्विप’ भएको छ भने अन्नपूर्ण गाउँपालिका वडा नं ५ मा एक सदस्य जितेको छ। सम्रग जिल्लाभर माओवादी केन्द्रले २ उपप्रमुख, ६ वडा अध्यक्ष, ६ महिला, ६ दलित सदस्य र खुल्ला १० गरी ३० सदस्य जितेको छ । यसैबीच म्याग्दीमा निर्वाचनमा सहभागी भएको एकिकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी,राष्ट्रिय जनमोर्चा, मंगोल नेशलन अर्गनाइजेसनले स्थानीय तहमा एउटा पनि सदस्य जित्न सकेनन् ।

Leave a Reply