म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र बेनी–दरबाङ सडक आज बिहिबारदेखि आइतबारसम्म रातको समयमा सवारी आवागमन बन्द गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले म्याग्दी र मुस्ताङमा अति भारी वर्षा हुनसक्ने भनी रेड अलर्ट जारी भएको हुँदाजिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहिबार साँझ ६ बजेदेखि विहान ६ बजेसम्म सडक पूर्णरुपमा बन्द हुने प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बेनीअनलाइनलाई बताउनुभयो ।

‘रातको समयमा बाढीपहिरोको जोखिम हुन्छ, सूचनाको पालना गरिदिनुहोला, सडकमा सुरक्षाकर्मीको गस्ती पनि हुन्छ’ प्रजिअ गैरले भन्नुभयो । बेनी दरबाङ सडकखण्ड अन्तरगत बाढीपहिरोको जोखिमस्थल आसपासका क्षेत्रमा निगरानी समेत भइरहेको प्रजिअ गैरको भनाई छ । पहिरोको जोखिम भएकाले रातको समयमा सवारी सञ्चालन नगर्न प्रशासनले सार्वजनिक सूचना समेत जारी गरी अनुरोध समेत गरेको छ ।

यसैबीचज जिल्ला प्रशासन कार्यालय मुस्ताङसँगको समन्वयमा बेनी–जोमसोम सडक समेत बिहिबारदेखि आइतबारसम्म रातको समयमा बन्द गरिएको छ । बेनी–जोमसोम सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ। सडकखण्ड अन्तरगत म्याग्दीको करिब १४ किलोमिटर बाढीपहिरोग्रसित र मुस्ताङमा समेत बाढीले सडक अवरुद्ध हुने भएकाले सर्तकता अपनाउन मुस्ताङ प्रशासनले सूचना जारी गरेको छ । बेनी–दरबाङ सडक अन्तर्गत फापरखेत,बाङ्गे पहिरो क्षेत्रमा पहिरोको उच्च जोखिम छ भने बेनी जोमसोमको गलेश्वरपारीदेखि मुस्ताङको घाँसासम्म ठुलो बैसरी,महभिर, गुईठे,भिरकाटे, रुप्से, दाना, बाँदरजुङ भिर उच्च जोखिमभित्र पर्छ ।












