---Advertisement---

म्याग्दीका दुई गाउँमा केराले भित्र्याउँछ वार्षिक डेढ करोड

On: June 20, 2022 9:49 AM
Follow Us:

बेनी नगरपालिका- २ स्थित खबरा र बगरफाँटका किसान केराखेतीबाट मनग्गे आम्दानी गरिरहेका छन्। यी दुई गाउँ केरा गाउँको रूपमा चिनिएका छन्।

खबराका १६० घरधुरी र बगरफाँटका १८ घरधुरी किसानले गरेको केराखेतीबाट वार्षिक डेढ करोडभन्दा बढी रकम भित्रिन्छ। खबराका किसानले केराखेतीबाट वार्षिक रूपमा एक करोड हुने गरेको छ भने बगरफाँटका किसानले पनि वार्षिक ५० लाख रुपैयाँको केरा बिक्री गर्छन्। व्यापारी घरघरमा पुगेर केरा उठाउने गरेको बगरफाँटका कृषक खिमबहादुर कार्की बताउँछन्।

खबराका किसानले विगत १२ वर्ष देखि व्यावसायिक केराखेती गर्दै आएका हुन्। बजारमा ‘खबराको केरा’ को ब्राण्ड नै बनेको विगत १० वर्षदेखि खबरामा केरा खेती गर्दै आएका अगुवा कृषक शोभित शर्मा सापकोटाले बताए।  राम्रो आम्दानी हुन थालेपछि अहिले गाउँ नै केरा खेतीले ढाकेको छ। खेतबारी,पाखा, कान्ला र खोल्सा सबैतिर केराखेतीले छपक्कै ढाकेको अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए।

खबरामा केराखेतीको सुरुवात २० वर्ष अघि मानबहादुर थापा र चन्द्रबहादुर कार्कीले गरेका हुन्। उनीहरूले सुरु गरेको केरा खेतीले अहिले गाउँ नै ढाकेको छ।

अन्यभन्दा केरा खेतीबाट राम्रो आम्दानी हुने भएपछि खबरा र बगरफाँटका किसान यसतर्फ आकर्षित भएका हुन। खबराका प्रत्येक घरधुरीले व्यावसायिक रूपमा हजारी जातको केराखेती गरेको कार्कीले बताए।

स्थानीय शोभित सापकोटा करिब १६ रोपनी जमिनमा लगाएको केराबाट वार्षिक १० लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्ने गरेको बताउँछन्। परम्परागत खाद्यबालीको विकल्पमा खेतबारीमा व्यवसायिक केरा खेती गर्न थालेपछि खबरावासीको आर्थिक अवस्थामा निकै सुधार आएको कृषक सापकोटाले बताए।

बिरुवा रोपेको दुई वर्षमा पसाउन थाल्ने र पसाएको पाँच महिनामा केरा बिक्रीका लागि तयार हुन्छ। उत्पादन भएको केरा नजिकै रहेको बेनी बजारमा सहजै बिक्री हुन्छ। ‘धान, कोदो, मकै र गहुँभन्दा केराबाट राम्रो आम्दानी गर्न सकिन्छ’, स्थानीय बविता सापकोटाले भनिन्, ‘पाँचरोपनी जमिनमा केराखेती गरेका छौं वार्षिक रूपमा ४ देखि ५ लाख रुपियाँ सम्म आम्दानी हुन्छ।’

सापकोटाले १० वर्ष देखि केरा खेती गर्दै आएकी छिन्। छोराछोरी पढाउन र घरखर्ची चलाउन कुनै समस्या छैन उनले भनिन् ‘केरा बिक्री गरेर आएको पैसाले छोराछोरीलाई काठमाण्डौं राखेर पढाउन पुगेको छ।’ उत्पादन भएको केरा घरबाटै बिक्री हुन्छ’, सापकोटाले भनिन्, ‘केरा लिन व्यवसायीह घरमा आउँछन्। राम्रो कोसाको प्रतिदर्जन १२० रुपियाँमा बिक्री हुन्छ।’

धान छोडेर केरा खेतीमा बगरफाँटवासी

बेनी नगरपालिका–२ बगरफाँट गाउँका किसानले धान फल्ने खेतमा केरा खेती गरेका छन्। धान, गहुँ, मकै बालीको विकल्पमा यहाँका कृषकले खेतका गह्रामा व्यावसायिक रुपमा केरा खेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन्।

अन्नबाली जस्तै धेरै मिहिनेत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको कृषकहरुले बताएका छन्। केही वर्षअघि सम्म परम्परागत खाद्यान्न खेती हुने बगरफाँट अहिले केराको बगैँचामा परिणत भएको छ। अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको कृषक खिमबहादुर कार्कीले बताए।

कार्कीले खेतका गह्रामा ५०० सय केराका बिरुवा लगाएका छन्। ३०० बोटले उत्पादन दिन थालेका उनले जानकारी दिए। त्यसैगरी अर्का कृषक दुर्गाबहादुर थापाले पनि गुडुराको धान फल्ने चार रोपनी खेतमा केराका बिरुवा लगाएका छन्। खेती गर्न झञ्झटिलो हुने, कम उत्पादन हुने, खर्च बढी हुने र काम गर्ने मान्छे पनि नपाइने हुँदा धान छाडेर केरा लगाएको थापाले बताए।

मजदूर अभावमा खाद्यबाली हुने जमीन बाझिन थालेको अवस्थामा केरा खेती प्रभावकारी विकल्प बनेको स्थानीयवासी भीमबहादुर कार्कीले बताए। एक वर्षअघि गत वर्षको जेठमा यहाँका कृषकले करिब दुई हजार केराका बिरुवा लगाएका छन्। एउटै घरीबाट एक हजार कोसासम्म उत्पादन लिन सकिने उनीहरू बताउँछन्।

धु्रबसागर शर्मा

धु्रबसागर शर्मा बेनीअनलाइनका संवाददाता हुनुहुन्छ।