म्याग्दीका किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ छ । किसानलाई धान, भटमास, बारीमा लगाएको कोदो, भाङ्गो लगायतका खाद्यान्न भित्र्याउने चटारो छ ।पाकेको धान काट्ने, सुकाउने, उठाउने, कुन्यु लगाउने टिपाटिपमा आफूहरु लागेको बेनी नगरपालिका–५, चिप्लेटीका किसान हिराबहादुर खत्रीले बताउनुभयो ।

असोज महिनादेखि मंसिरसम्मको समय किसानका लागि अत्यन्त व्यस्त समय हो । अहिले म्याग्दी जिल्लाको माथिल्लो भेगका किसानहरु खासगरी धानबाली थन्क्याउने कामका लागि दिनभर खेतबारीमा भेटिन्छन् । चाडपर्व मनाएलगत्तै आफूहरु धान काट्ने, उठाउने, कुन्यु लगाउने र दाइँ हाल्ने जस्ता काममा व्यस्त भएको किसानहरुले बताएका छन् ।

धानबाली भित्र्याएपछि खेत तथा पाखो बारीमा हिउँदे बालीहरु गहुँ, जौ, तोरी, उवालगायत छर्ने गरिन्छ । माथिल्लो भेगमा धानबाली भित्र्याएर कोदो काट्ने, बोडीलगायत गेडागुडी टिप्ने र परम्परागत बाली गहुँ, जौ, उवा छर्ने चलन छ । यसपटक मौसम अनुकूल भएसँगै खाद्यान्न बाली भित्र्याउन सहज भएको हुँदा किसानहरु उत्साहित छन् । युवापुस्ता रोजगारी, अवसर र सेवासुविधाको खोजीमा सहर, बजार तथा देशविदेश पसेका कारण गाउँमा काम गर्ने श्रमिकको अभाव हुने गरेको चिप्लेटीका किसान खत्रीले गुनासो गर्नुभयो ।

गाउँघरमा बाली लगाउने, गोडमेल गर्ने र भित्र्याउने बेलामा अर्मपर्मको साथै पालो लगाउने प्रचलन रहिआएको छ । पछिल्लो समय गाउँघरमा गाईगोरु पाल्न छाडेपछि दाइँ हाल्ने, खेतबारी जोत्ने र मलमुत्र बनाउन बस्तुभाउको अभाव झेल्न किसानहरु बाध्य छन् ।

यसैबीच, यसवर्ष भने विगतको तुलनामा धान उत्पादन घट्ने कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । धान रोप्ने समयमा पर्यात मनसुनी वर्षा नहुनु, किसानले समयमै मलबिऊ नपाउनु, सिँचाइको अभाव, समयमा रोपाइँ नहुनु, पाक्ने बेला अत्यधिक पानी पर्नु र हावाहुरीले धान ढलाउनु जस्ता कारणले उत्पादन घट्ने कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले बताउनुभयो ।

 

 

 

Leave a Reply