---Advertisement---

‘बेनी बजारलाई बाढी र पहिरोबाट जोगाउन सकिन्छ’

On: November 15, 2026 12:49 PM
Follow Us:

दीपककुमार श्रेष्ठ

म्याग्दीको सदरमुकाम बेनी बजारमा यस वर्षको वर्षाले पारेको असर निकै डरलाग्दो रूपमा देखियो र सुनियो। बजारको पूर्वपट्टि कालीगण्डकी नदीको उच्च बहावले गरेको कटान र पश्चिमपट्टिको पहिरोले बेनीवासीको रातको निद्रा मात्र हराएन, वर्षा भइरहेकै समयमा बालबालिका, वृद्धवृद्धा तथा युवायुवती सबैलाई मध्यरातमा घर छाडेर सुरक्षित स्थानको खोजीमा भागदौड गर्न बाध्य बनायो।

मंगलाघाट क्षेत्रमा सरकारी सवारीसाधन र कार्यालय भवन पहिरोले पुरिए। न्युरोडको भीरबाट आएको पहिरोले केही घरमा क्षति पुर्‍यायो। बेनी बजारको खानेपानी आपूर्ति बन्द भयो। खानेपानीको संरचना मर्मत गरी पूर्ववत् अवस्थामा ल्याउन महिनौँ लाग्ने देखिन्छ। कालीगण्डकी किनारको करिडोर सडक क्षतिग्रस्त हुँदा कोरला नाकाबाट आएका तथा अन्य भारी सवारीसाधनको आवागमनमा समेत बाधा पुगेको छ। जिल्लाका अन्य क्षेत्रमा पनि जनधनको ठूलो क्षति भएको छ।

बेनी बजारको वर्तमान अवस्थालाई हेर्दा मुख्य रूपमा दुईवटा समस्याको समाधानमा ध्यान दिनुपर्ने देखिन्छ। ती समस्या र तिनका सम्भावित समाधानबारे केही लेख्न मन लाग्यो।

1. कालीगण्डकी र म्याग्दी नदीका तटबन्धको समस्या तथा समाधान।

2. न्युरोडपछाडिको तथा खालीपाखाली क्षेत्रको भिरालो भागमा हुने पहिरोको समस्या तथा समाधान।

१. कालीगण्डकी र म्याग्दी नदीका तटबन्धको समस्या

स्थान र संरचनाको अवस्थाअनुसार तटबन्धमा निम्नमध्ये केही वा सबै समस्या हुन सक्छन्।

  • नदीको तटबन्ध इन्जिनियरिङ डिजाइनअनुसार निर्माण नहुनु।
  • तटबन्धको जग स्कावर डेप्थ (पानीको बहावले जगमुनिको माटो वा ढुङ्गा खोतल्न सक्ने गहिराइ) को हिसाबले पर्याप्त गहिरो नहुनु।
  • तटबन्धले सडकको माटो, सवारीसाधनको भार र वर्षायाममा नदीबाट पर्ने पानीको चापसमेत थेग्नुपर्ने तथ्यलाई डिजाइनमा समावेश नगरिनु।
  • तटबन्धको उचाइको तुलनामा मोटाइ कम हुनु।
  • भार बहन गर्ने क्षमताअनुसार आवश्यक मात्रामा रड प्रयोग नगरिनु।
  • डिजाइनअनुसारको कङ्क्रिट मिक्स प्रयोग नगरिनु।
  • निर्माणका क्रममा सिमेन्ट, बालुवा, गिट्टी तथा पानीको मात्रा उचित अनुपातमा नमिलाइनु।
  • फर्माको काम सही तरिकाले नगरिनु।
  • कङ्क्रिट खन्याउँदा भाइब्रेटर मेसिनको उचित प्रयोग नहुनु।
  • ढलान गरिसकेपछि कङ्क्रिटलाई आवश्यक मात्रामा पानीले भिजाएर क्युरिङ नगरिनु।
  • संरचनालाई मजबुत बनाउन आवश्यक ज्यामितीय बनोट र प्राविधिक पक्षको ख्याल नगरिनु।
  • जमिनमुनिको पानीको चाप घटाउन पर्याप्त मात्रामा विप होल (पानी निकासका प्वाल) नराखिनु।
  • जगलाई थप मजबुत बनाउन तटबन्धको नदीतर्फको भागमा ढुङ्गा बिछ्याउनुपर्नेमा भएका ढुङ्गासमेत निकालिनु।
  • नदीको बहावलाई सहज बनाउन तटबन्धलाई सम्भव भएसम्म सीधा बनाउनुपर्नेमा अनावश्यक घुमाउरो बनाइनु।
  • नदी र सडक दुवैको बढी भार पर्ने घुमाउरो स्थानमा अन्य स्थानको तुलनामा कमजोर संरचना निर्माण गरिनु।
  • निर्माण व्यवसायीको प्राविधिक ज्ञानमा कमी वा लापरबाही हुनु।
  • जिम्मेवार प्राविधिकको अनुभव, दक्षता तथा सुपरिवेक्षणमा कमजोरी हुनु।
  • बजारवासी तथा टोलवासीले समेत निर्माणको गुणस्तरमा चासो नराख्नु, नियमित अनुगमन नगर्नु र देखिएका कमजोरीबारे सम्बन्धित निकायलाई जानकारी नगराउनु।

कालीगण्डकी र म्याग्दी नदीका तटबन्धको समाधान

  • वर्षायाममा नदीको अधिकतम बहाव र त्यसबाट उत्पन्न हुने चापका साथै सडकतर्फको माटो तथा सवारीसाधनको भारसमेतलाई समेटेर तटबन्ध (रिटेनिङ वाल) को डिजाइन गर्नुपर्छ।
  • संरचनालाई थप मजबुत बनाउन आवश्यकताअनुसार निश्चित दूरीमा निर्माण जोर्नी (कन्स्ट्रक्सन जोइन्ट) राख्नुपर्छ। सामान्य अवस्थामा करिब सय फिटको आसपासमा जोर्नी राख्ने व्यवस्था गर्न सकिन्छ, तर यसको अन्तिम निर्धारण प्राविधिक डिजाइनअनुसार हुनुपर्छ।
  • तटबन्धको जगको चौडाइ, मोटाइ र गहिराइ वर्षायामको पानीले समेत खोतल्न नसक्ने गरी प्राविधिक डिजाइनअनुसार निर्माण गर्नुपर्छ।
  • तटबन्धको पर्खालको तल्लो भाग माथिल्लो भागभन्दा कम्तीमा दुई गुणा चौडा वा डिजाइनअनुसार पर्याप्त मोटाइको हुनुपर्छ।
  • ढलानका लागि प्रयोग गरिने छडको मात्रा र कङ्क्रिटको मिक्स डिजाइन इन्जिनियरिङ डिजाइनअनुसार हुनुपर्छ। वि.सं. २०७२ को भूकम्पपछि लागू गरिएको नेपाल राष्ट्रिय भवन संहितामा आरसीसी संरचनाका लागि विभिन्न प्राविधिक मापदण्ड निर्धारण गरिएका छन्। घरको पिलर निर्माणमा समेत निश्चित आकार र कङ्क्रिटको गुणस्तर आवश्यक पर्ने अवस्थामा सडक र नदी दुवैको भार बहन गर्ने तटबन्ध कति बलियो हुनुपर्छ भन्ने विषयमा गम्भीर हुन आवश्यक छ।
  • तटबन्धको नदीतर्फको जगको आसपासमा आवश्यकताअनुसार करिब दुई मिटर क्षेत्रसम्म ढुङ्गा बिछ्याएर संरक्षण गर्नुपर्छ।
  • तटबन्धको उचाइ बढ्दै जाँदा नदीको बहाव क्षेत्र पनि पर्याप्त फराकिलो हुने गरी संरचना निर्माण गर्नुपर्छ। यसो गर्दा नदीको सतह बढ्दा पनि सडकतर्फ पानी पस्ने जोखिम कम गर्न सकिन्छ।
  • तटबन्धको डिजाइन अनुभवी इन्जिनियरबाट गराउनुपर्छ। आवश्यक परे सम्बन्धित विषयका विज्ञसँग परामर्श लिनुपर्छ। कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता प्रविधिको प्रयोगबाट प्रारम्भिक अध्ययन, तथ्याङ्क विश्लेषण र डिजाइनसम्बन्धी सुझाव लिन सकिए पनि अन्तिम प्राविधिक डिजाइन र प्रमाणीकरण योग्य इन्जिनियरबाटै गराउनुपर्छ।
  • आरसीसी तटबन्धको पछाडिपट्टि सडकतर्फको माटो अड्याउन र पानीको चाप कम गर्न आवश्यकताअनुसार ग्याबियन वाल निर्माण गर्न सकिन्छ। साथै आरसीसी तटबन्धमा पर्याप्त विप होल तथा पानी निकासका पाइप राख्नुपर्छ। यसले जमिनबाट रसिएर आउने पानीको चाप कम गर्छ।
  • नदी नियन्त्रणसम्बन्धी निर्माण कार्यको गुणस्तरमा निर्माण व्यवसायी, प्राविधिक, जनप्रतिनिधि तथा नगरवासी कसैले पनि बेवास्ता गर्नु हुँदैन। किनकि सयौँ तथा हजारौँ नागरिकको धन र जनको सुरक्षा यसैसँग जोडिएको हुन्छ।

२. बजार क्षेत्रपछाडिको भिरालो भागमा पहिरोको समस्या

बेनी बजारको पछाडिको भिरालो क्षेत्रमा पहिरो जानुका सम्भावित कारण निम्न हुन सक्छन्।

  • पहाडी क्षेत्रमा रहेका पानीका मूल तथा स्रोतको उचित निकासको व्यवस्था नहुनु।
  • पानीका मूल भएका क्षेत्रमा अग्ला रुखहरूको अत्यधिक वृद्धि हुनु।
  • माटोलाई जराले समातेर राख्न सक्ने होचा बोटबिरुवा तथा झाडीको अभाव हुनु।
  • आवश्यकताअनुसार पहिरो रोकथामका संरचना निर्माण नगरिनु।
  • पहिरो जाने क्षेत्र, नदी तथा खोल्सामा पर्खाल वा तटबन्ध निर्माण गरिए पनि जमिनभित्रबाट रसिएर आउने पानीको निकासको व्यवस्था नहुनु।
  • भिरालो जमिनसँग जोडेर बनाइएका घरहरूमा वर्षाको पानीको चाप कम गर्ने संरचना नबनाइनु।
  • वर्षायाममा बग्ने भेलबाढीको उचित निकास नहुनु।
  • मानव बस्ती तथा बजार विस्तारका क्रममा नदी, खोल्सा र नालाको अतिक्रमण हुनु।

पहिरोको समाधान

  • अग्ला रुखहरू आवश्यकताअनुसार नियमित रूपमा हटाउने वा काँटछाँट गर्ने व्यवस्था गर्नुपर्छ।
  • बजार क्षेत्रका भिरालो जमिनमा स्थान र आवश्यकताअनुसार जगदेखि नै बलियो तारजालीमा ढुङ्गा भरेर ग्याबियन संरचना निर्माण गर्नुपर्छ।
  • भिरको आवश्यक स्थानमा भित्री पानी रसाएर बाहिर निस्कन सक्ने गरी तारजाली लगाएर माटो अड्याउने व्यवस्था मिलाउनुपर्छ।
  • ढलान वा पक्की ढुङ्गाको पर्खाललगायतका संरचना निर्माण गर्दा वर्षाको पानी सहज रूपमा बाहिर निस्कने गरी पर्याप्त साना प्वाल तथा पाइप राख्नुपर्छ। यसो गर्दा संरचनाभित्र पानीको चाप कम भई पहिरो जाने तथा संरचना भत्किने सम्भावना घट्छ।
  • चिस्यानयुक्त क्षेत्रलगायत अन्य स्थानमा रहेका अग्ला रुखको उचित व्यवस्थापन गर्नुपर्छ। पानीको मूल सुक्न नदिने र जराले माटो समातेर जमिनलाई मजबुत बनाउने उपयुक्त प्रजातिका बोटबिरुवा पहिचान गरी रोप्नुपर्छ।
  • सल्लाका रुखले कतिपय स्थानमा पानीको स्रोत र अन्य वनस्पतिमा पार्न सक्ने असरको अध्ययन गरी आवश्यकताअनुसार वैकल्पिक रुखबिरुवा रोप्ने व्यवस्था गर्न सकिन्छ।
  • चिस्यानयुक्त क्षेत्रमा साना पानीका कुवा, ट्याङ्की तथा अन्य संरचना निर्माण गरी स्थानीय बासिन्दाले नियमित रूपमा प्रयोग गर्न पाउने गरी पानीको व्यवस्थापन गर्नुपर्छ। जग्गाधनीले आफूले पनि प्रयोग नगर्ने र अरूलाई पनि प्रयोग गर्न नदिने प्रवृत्तिको अन्त्य हुनुपर्छ।
  • सल्लाका रुखलाई व्यावसायिक रूपमा उपयोग गर्ने गरी व्यवस्थापन गर्दै साना तथा झाडीस्वरूपका बिरुवा र उपयुक्त फलफूलका बिरुवालाई प्राथमिकता दिन सकिन्छ। यसबाट आम्दानी र रोजगारी सिर्जना गर्ने योजना बनाउन सकिन्छ।
  • सीताफल, बयर, तिजूलगायतका रैथाने फलफूलको संरक्षण र प्रवर्द्धनमा समेत ध्यान दिनुपर्छ।
  • ग्यासको प्रयोग बढेसँगै कतिपय स्थानमा वनजङ्गलको वृद्धि तीव्र भएको देखिन्छ। बस्ती र वनबीच सन्तुलन कायम राख्न आवश्यकताअनुसार वन व्यवस्थापन, हाँगाबिँगा काँटछाँट, छिप्पिएका रुखको वैज्ञानिक व्यवस्थापन तथा नयाँ बिरुवा रोप्ने कार्यलाई निरन्तरता दिन सकिन्छ। वनबाट निस्कने खेर गएका दाउरा तथा काठबाट कोइला र ब्रिकेटजस्ता वस्तु उत्पादन गरी इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ।

निष्कर्ष

यस वर्षको वर्षाले बेनी बजारलगायत म्याग्दी जिल्लामै भागदौड र त्रासको अवस्था सिर्जना गर्‍यो। अन्य जिल्लाको तुलनामा जनधनको क्षति कम भए पनि सामाजिक सञ्जालमा फैलिएका विभिन्न सूचना र सामग्रीले मानिसहरूमा मानसिक त्राससमेत उत्पन्न गराए। केही मानिस घाइते भए, केहीले ज्यान गुमाए र ठूलो मात्रामा भौतिक सम्पत्तिमा क्षति पुग्यो।

यो प्राकृतिक विपत्ति थियो। यसलाई कसैले पहिल्यै ठ्याक्कै अनुमान गर्न सक्ने अवस्था थिएन। यस्ता विपत्तिका अगाडि विश्वका विकसित र शक्तिशाली राष्ट्रहरूसमेत असहाय बन्ने गरेका छन्। डर र त्रासका कारण कतिपयले सदरमुकाम नै अन्यत्र सार्नुपर्ने बहससमेत चलाए। कतिपयले अब सर्वनाश भयो, प्रकृतिसँग कसले लड्न सक्छ र यसको कुनै उपाय छैन भन्न थाले।

वास्तवमा प्रकृतिसँग कसैले लड्न सक्दैन। तर प्राकृतिक विपत्तिबाट हुने क्षतिको जोखिम भने अवश्य कम गर्न सकिन्छ। त्यो विज्ञान र प्रविधिको सही प्रयोगबाट सम्भव छ।

बेनी बजारलाई नदी कटान र पहिरोबाट जोगाउन उचित इन्जिनियरिङ, विज्ञान तथा प्रविधिको सदुपयोग गर्दै सरकारको संरक्षण र समन्वयमा विज्ञ, राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि तथा स्थानीय बासिन्दाले इमानदारपूर्वक आफ्नो भूमिका निर्वाह गर्नुपर्छ।

समुद्रमाथि र समुद्रमुनि राजमार्ग निर्माण गर्न सकिन्छ। समुद्री सतहभन्दा तल रहेका भूभागलाई समेत सुरक्षित राख्न सकिन्छ। मरुभूमिमा पानीको व्यवस्थापन गरेर हरियाली बनाउन सकिन्छ भने बेनी बजारलाई बाढी र पहिरोबाट जोगाउन सकिँदैन भन्ने हुँदैन।

त्यसैले कोही पनि अनावश्यक रूपमा आतङ्कित हुन जरुरी छैन। माथि उल्लेख गरिएका समस्याका साथै अन्य सम्भावित जोखिमको समेत वैज्ञानिक अध्ययन, पहिचान र विश्लेषण गरी उपयुक्त उपाय अवलम्बन गर्न सकिन्छ। यसका लागि मुख्य आवश्यकता इच्छाशक्ति हो। दोस्रो आवश्यकता कर्तव्यनिष्ठा र नैतिक जिम्मेवारी हो।

यी दुवै गुण भएका नेतृत्वकर्ता अघि बढ्नुभयो भने हजारौँ हातहरूको सहयोग प्राप्त हुनेछ। बेनी बजारको सुरक्षा सम्भव छ। आवश्यक छ त केवल सही योजना, इमानदार कार्यान्वयन र सामूहिक प्रतिबद्धता।

(बेनी बजारमै जन्मेहुर्केका श्रेष्ठ पेशाले इन्जिनियर हुन्।)

*यस सम्बन्धि थप जानकारीसहितको प्राविधिक जानकारीसहितको लेख सोमबार प्रकाशित हुने बेनी साप्ताहिक समाचारपत्रमा हेर्नुहोला ।*

Leave a Comment