---Advertisement---

‘जस्तोसुकै चुनौती आएपनि परिणाम देखिने गरी काम गर्छु’ :मिम पूर्जा

On: October 13, 2023 10:56 AM
Follow Us:

म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्र्तराष्ट्रिय कार्यकारी समितिको आसन्न पाँचौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका निर्वतमान बरिष्ठ उपाध्यक्ष मिम पूर्जाले दुईबर्षे अवधिको कार्यकालमा नेतृत्व गर्ने जिम्मेवारी पाएका म्याग्देली पुगेको सबै देशमा मोनाको सञ्जाल विस्तार गर्ने बताएका छन् ।

विश्वभर धेरै देशमा म्याग्देली रोजगार, ब्यापार र शिक्षाको सिलसिलामा पुगेपनि मोनाको विस्तार सुस्त गतिमा भइरहेको भन्दै पूर्जाले आफ्नो पहिलो काम म्याग्देली पुगेका सबै देशहरूको तथ्याङ्क संकलन गरी मोना विस्तार सहित म्याग्देलीलाई मोनामा आवद्ध बनाउने रहेको बताए । मोना अन्तराष्ट्रिय कार्यकारी समिति स्थापना भएको लामो समयसम्म पनि म्याग्देली पुगेका धेरै देशहरू मोनामा समेट्न नसक्नु दुखको कुरा भएको पूर्जाको भनाई छ ।

मोना राष्ट्रिय कार्यकारी समितिलाई शक्तीशाली बनाउँदै मोना आइइसीलाई संस्थागत विकास अहिलेको प्रमुख आवश्यकता रहेको बताए । उनले सार्क राष्ट्रभित्र रहेका म्याग्देलीहरूलाई समेत मोनामार्फत जिल्लाको समृद्ध अभियानमा जोड्नुपर्ने बताए । ‘अहिले ठूला कुरा गर्दिनँ, परिणाम देखिने गरी काम गर्छु’ अध्यक्षका प्रत्यासी पुर्जाले भने ।

जन्मभूमि नेपालबाट बाहिर पुगेका सबै म्याग्देलीहरूको साझा घर मोना बनाउन सकेमा मात्रै मोनाको भिजन, लक्ष्य पूरा हुने पूर्जाको भनाई छ । भारत लगायतका विभिन्न सार्क राष्ट्रमा रहेका म्याग्देलीदेखि अफ्रिकी मुलुकसम्म पुगेकालाई मोनामार्फत म्याग्दीमा लगानी भित्राउन सकिने बताए ।

मोना अन्तराष्ट्रिय कार्यकारी समितिको आफ्नै भवन सहितको संरचना आवश्यकता रहेकाले एकबर्ष भित्र जग्गा ब्यवस्थापन गरी आफ्नो कार्यकालमा भवन बनाउने गरी योजना बनाएको पूर्जाको भनाई छ ।

बेनीअनलाइनसँगको कुराकानीमा उनले समृद्ध म्याग्दी बनाउने अभियानमा प्रवासीको योगदान थप बलियो हुनपर्ने बताउँदै स्थानीय तहसँग सहकार्य गरी परिणाम देखाइदिने बताएका छन् ।

‘मोनामार्फत प्रवासी म्याग्देलीको सञ्जाल फराकिलो बनाउँदै केही फरक अनुभूति दिलाएरै जान्छु ।अहिले सम्पूर्ण योजनाहरु बनाएरै अध्यक्षमा उम्मेदवारी दिएको छु’ मोना अन्तराष्ट्रियका पूर्व महासचिव समेत रहेका पूर्जाले भने ।

उनले म जे बोल्छु, त्यही गर्छु । प्रवासी म्याग्देलीलाई झुठो आश्वासन नदिई भरोसा मर्न नदिने बताए । म्याग्दीको मंगला गाउँपालिका–३ बरंजा घर भई हाल नेदरल्याण्डमा ब्यवसाय गदैं आएका पूर्जाले चौथौ महाधिवेशनमा सहमतिका लागि अध्यक्ष पद छोडेको बताउँदै यसपटक अध्यक्षमा सहयोग गर्न समेत अनुरोध गरेका छन् ।

मोना नेदरल्याण्डका संंस्थापक सदस्य समेत रहेका पूर्जा एनआरएनए नेदरल्याण्डको निर्वतमान अध्यक्ष समेत हुन् । उनले स्थानीय तहसँग स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा सहकार्य गर्नुका साथै मोनाका विज्ञहरूको परिकल्पना र दुरदृष्टिलाई प्रयोग गर्ने बताए । उनले मोना सञ्जालको मोडालिटी फेर्नु अत्यन्त जरुरी रहेको बताए ।

उनले मोनामा सहकार्यको आवश्यकता रहेको बताए ।मोनामार्फत सामाजिक कार्य धेरै भएकाले अव विकास निर्माण सहित रोजगारी दिने क्षेत्रमा लगानीको आवश्यता रहेको बताए ।

प्रवासमा रहेका सफल म्याग्देली ब्यवसायीहरुलाई लगानीको वातावरण बनाउन मोनाले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले कल्पना गरेर हुने विकासले आत्मसन्तुष्टि मिल्ने भएपनि परिणाम देखाउन सबै म्याग्देलीको सामुहिक लगानी नै आवश्यकता पर्ने बताए ।

यस्ता छन् मिम पूर्जाको मुख्य लक्ष्य र योजना
*  मोनाको सञ्जाल विस्तार नभएका देशहरूमा राष्ट्रिय कार्यकारी समिति विस्तार गरिने, राष्ट्रिय समितिलाई बलियो बनाउने।
* प्रवासमा रहेका म्याग्देलीलाई मोनाको सदस्य बनाउन एक प्रवासी पाँच सदस्य अभियान गरिने ।
* राष्ट्रिय कार्यकारी समितिको समन्वयमा मोना फेष्टिबल गरिने ।
* म्याग्देली पुगेका हरेक देशमा मोनाका गतिविधिलाई प्रभावकारी बनाउने, मोना अन्तराष्ट्रियले आर्थिक सहयोग समेत गर्ने।
* प्रवासमा समस्यामा परेका म्याग्देलीलाई सहयोग गर्न आपतकालिन सहयोग कोष खडा गरिने ।
*मोना प्रतिभा पहिचान गरी प्रवासमा लुकेको क्षमतालाई बाहिर ल्याउने रियालिटी शो आयोजना गरिने ।
* म्याग्दीका स्थानीय तहसँग सहकार्य गरी हरेक स्थानीय तहमा मोनाको पहिचान देखिने गरी काम गर्ने ।
*मोनामार्फत म्याग्दीका सबै स्थानीय तहमा एउटा उत्कृष्ट कामको जिम्मा लिने, समयमै सम्पन्न गरी प्रवासीमार्फत समुदायलाई हस्तान्तरण गरिने ।
* मोनाको बार्षिक गतिविधिको क्यालेण्डर बनाएर कार्यसम्पादन गरिने ।
* प्रवासमा मृत्यु र घाईते भएकाहरूको परिवारलाई राहत र विपन्न मोनाका सदस्यका छोराछोरीलाई शैक्षिक सहयोग गर्ने ।*शैक्षिक क्षेत्रमा उत्कृष्ट हुने प्रवासीका छोराछोरीलाई प्रोत्साहन गर्ने,
*हरेक बर्ष उत्कृष्ट राष्ट्रिय कार्यकारी समितिलाई प्रोत्साहन सहित सम्मान गरिने
*राष्ट्रिय कार्यकारी समितिका गतिविधिमा मोनामार्फत आवश्यकता अनुसार निरन्तर सक्रिय सहभागीता जनाउने