---Advertisement---

चौथो गल्कोट कप पुरुष भलिबलको उपाधि मोना अस्ट्रेलियाको पोल्टामा

On: April 26, 2026 8:16 PM
Follow Us:

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाको सिड्नीमा भएको चौथो गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । लिडकमस्थित अबर्न बास्केटबल सेन्टरमा आइतबार भएको फाइनलमा म्याग्दी काली युनाइेटडलाई ३–० को सोझो सेटमा पराजित गर्दै मोना च्याम्पियन बन्न सफल भएको अध्यक्ष सुसन श्रेष्ठले बताउनुभयो ।


मोनाले प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसहितका अनुभवी खेलाडीलाई मैदानमा ल्याएको थियो । नेपाली राष्ट्रिय टोलीकै पूर्व सदस्य विजय थापा सम्मिलित म्याग्दीकालीले पहिलो सेटमा कमजोर प्रदर्शन गर्दा दोस्रो र तेस्रो सेटमा बलियो चुनौती पेश गरेपनि नतिजा आफ्नो पक्षमा पार्न नसक्दा उपाधि मोनाको पोल्टामा परेको हो । प्रतियोगितामा मोनाले पहिलो सेट २५–११ सहज भएपनि दोस्रो र तेस्रो सेटमा क्रमश २५–२० र २५–२० ले जितेको थियो ।


उपाधिसँगै च्याम्पियन बनेको मोनाले ४ हजार ५ अष्ट्रेलियन डलरसँगै रनिङ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको म्याग्दी कालीले २ हजार ५ अष्ट्रेलियन डलरसँगै रनिङ ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । मोनाका रविन चन्द ठकुरी प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीसहित १ सय ५ अष्ट्रेलियन डलरसँगै ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए ।

म्याग्दी कालीका विजय थापा उत्कृष्ट स्पाइकर, मोनाका बिशाल कार्की सेटर, मोनाकै चन्द्र घर्ती मगर ब्लकर, गल्कोटका दिल बहादुर सुनार उत्कृष्ट सर्भर र म्याग्दी कालीका किसन गुरुङ उत्कृष्ट लिवेरो चुनिए । व्यक्तिगत विधाका उत्कृष्टहरुले समान ५० अष्ट्रेलियन डलरसँगै ट्रफी र प्रमाणपत्रले सम्मानित भएका थिए । नेपाली समुदायका ११ टोलीको सहभागिता रहेको थियो ।

Leave a Comment