म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा शुक्रबार सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु भएको छ । बेगको भिजरा देखि भजने जाने सडक निर्माणका क्रममा पहिरो खसेर रुइसे देउराली कन्ट्रक्सन प्रा.लीको डोजर पुरिदाँ रघुगंगा गाउँपालिका–२ भगवतिका ५१ वर्षीय पदम कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनास्थलमा रहेका प्रहरी निरीक्षक सागर तिमिल्सीनाले अन्य डोजर र ब्याकुहोलोडर परिचालन गरेर पहिरोमा पुरिएका कार्कीको शव निकालेर परिक्षणका लागि प्रदेश अस्पताल बेनीमा पठाएको जानकारी दिनुभयो ।उहाँका अनुसार कार्की उक्त डोजरका चालक हुन् । सडकको मार्ग खनिरहेको अवस्थामा मिथिबाट सुख्खा पहिरो खसेर डोजर र चालकलाई पुरेको थियो । प्रहरी र स्थानीयबासीले करिब चार घण्टाको प्रयासपछि पहिरोबाट कार्कीको शव निकालेका थिए ।













