(विनय श्रेष्ठ)
आदरणीय अभिभावकज्यू,
नमस्कार ।
यो शैक्षिकसत्रदेखि नेपाल सरकारले शनिवार र आइतवार लगातार दुई दिन बिदा गरेको छ । यस निर्णयले अभिभावकलाई आफ्ना सन्ततीहरूको पढाइ राम्रोसँग पूरा नहुने हो कि भन्ने चिन्ता एकातर्फ छ भने अर्काेतर्फ मोवाइल लगायत अन्य क्रियाकलापमा समय बिताएर बिग्रने हो कि भन्ने थप चिन्ताले सताइरहेको छ ।

मानिसको पहिलो स्कुल घर नै हो । पहिलो गुरु बुबाआमा नै हुन । विद्यालयमा धेरै समय विताउँदैमा सफल हुने होइन । कतिपय सफल व्यक्तिहरू विद्यालयमा पाइला नै नटेकेका पनि छन् । कतिपय मानिसले विद्यालय तह र उच्च शिक्षाको अध्ययन घरै स्वःअध्ययन गरेर पूरा गरेकाछन् ।
यद्यपि मानिसको जीवनमा शिक्षाको ज्योति छर्न विद्यालय र गुरुवर्गको अहम् भुमिका रहेकोछ । त्यसैले वर्षभरि विभिन्न नाममा बिदा भैरहने देशमा हप्ताको दुई दिन बिदा दिने प्रचलनको शुरुआत हुदा अभिभावकको निधारमा चिन्ताको रेखा बस्नु स्वभाविक नै हो ।

अब प्रश्न उठ्छ, बिदामा आफ्ना सन्तानलाई के गर्न लगाउने ? दिन चर्या कसरी कटाउन लगाउने ? प्रश्न जायज छ ।पहिलो कुरा, आफ्ना छोराछोरीहरूलाई घरायसी काममा सक्रिय बनाउनुहोला । बिदाको दिन हो भनेर अवेरसम्म सुत्न नदिनुहोला । समयमै सुत्ने र उठ्ने बानीको विकास गराउनुहोला ।
नुहाउने काम सकेपछि आफ्नो लुगा आफै धुन लगाउनुहोला । आफ्नो कोठा, घर आगन सफा गर्न लगाउनुहोला । खाना पकाउन र भाडा माझ्न लगाउनुहोला । घरायसी कामकाजमा सघाउन र खेतबारी तथा करेसाबारीमा काम गर्न सिकाउनुहोला । कुनै कुलत र दुर्वयसनीमा फसेको छ भने छुटाउनुहोला ।

अर्को कुरा, जीवन उपयोगी सीप सिक्न लगाउनु होला । कम्प्युटर लगायत आधुनिक प्रविधिमा पोख्त बनाउनु होला । आफ्नो इच्छा र रुचि भएको वियषवस्तुमा समय व्यतीत गर्न लगाउनुहोला ।
जस्तैः चित्रकला, पेन्टिङ निबन्ध लेखन, बक्तृत्वकला (भाषणकला), साहित्य लगायतमा रुचि जगाएर समय व्यतीत गर्न लगाउनुहोला । उमेरले सोह्र वर्ष कट्दैछ भने आवश्यक सवारी साधनहरू चलाउन सिकाउन र ड्राइभिङ लायसेन्स निकाल्ने वातावरण तयार गर्नुहोला । पुख्र्याैली सीप भए हस्तान्तरण गर्नुहोला । पुख्र्यौली पेशाहरू छ भने सिकेर निरन्तरता दिन लगाउनुहोला । आफ्नो व्यापार व्यवसाय छ भने संलग्न गराउनुुहोेला ।
तेस्रो कुरा, खेलकुद र मनोरञ्जनमा मन ध्यान लगाउन दिनुहोला । रुचि र दख्खल भएको कुनै एउटा खेल नियमित खेल्न लगाउनु होला । सके प्रशिक्षण पनि दिलाउनु होला । प्रतियोगितामा भाग लिन लगाउनुहोला । गुच्चा, भुरुङ, डण्डीबियो, कपर्दी, माउते, सात ढुङ्गे, एक खुट्टे, जर्मन ढ्याक, खोप्पी, लुकी, छोइ, चुङ्गी, आसपास, क्यारेमबोर्ड, बाघचाल, चेस लगायत परम्परागत र आधुनिक खेलहरू खेल्न प्रोत्साहित गर्नुहोला ।
शिक्षाप्रद, ज्ञानबद्र्धक र मनोरञ्जात्कम फिल्महरू देखाउनुहोला । पौडने (स्वीमिङ) लगायत जीवनमा चाहिने आधारभूत कुराहरू सिकाउनु होला । नृत्य, गित, संगितमा रुचि छ भने नाच्न, गाउन र बजाउन लगाउनुहोला । नजिकैको सिकाउने थलो तालिम केन्द्रमा पठाउनुहोला ।
थप कुरा, छोटो पारिवारिक भ्रमणलाई जोड दिनुहोला । धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकिय स्थलको भ्रमणमा साथमा लैजानुहोला । पुख्र्याैली घरबाट टाढा हुनुहुन्छ भने त्यहाँ लैजानु होला ।

आफन्त र ईष्टमित्रका लैजानु होला र चिनजान गराउनुहोला । साथी भाइहरूसंग छोटो दुरि र समयको घुमफिर गर्न दिनुहोला तर गलत साथीको संगत छ भने छुटाउनुहोला । विवाह, ब्रतबन्ध, पास्नी लगायतको निम्तोमा सामिल गराउनुहोला । आफ्नो कला, संस्कृतिसंग परिचित गराइ जगेर्ना र संरक्षण गर्न संलग्न गराउनुहोला । नेपालीको कला संस्कृति झर्ना र झरनासंग परिचित गराउनुहोला ।
अब प्रश्न उठ्छ, के बिदामा नपढ्ने ? किताब नै नछुने ? झर्न पढाइ बिगार्ने ?
होईन, त्यस्तो भन्न खोजेको पटक्कै होईन ।
बिदाको दिनमा नियमित गृहकार्य गर्न र नोट लेखन गर्न सक्नेछन् । परियोजना र प्रयोगात्मक कार्यसंग तालमेल गरि अध्ययन गर्न सक्नेछन् । पढेको कुरालाई व्यवहारमा लागू गर्न सक्नेछन् । गएको हप्ता कुनै कारणवश विद्यालय उपस्थित नभएको भए सो दिनको पढाइ पूरा गर्न सक्नेछन् । विद्यालयको पुस्तकालयबाट पुस्तक ल्याइ अध्ययन गर्न सक्नेछन् ।
आफ्नो सामान्यज्ञानमा उच्च दखल राख्न प्रयास गर्नेछन्, जुन भविष्यमा आफैलाई काम लाग्नेछ । घरमा भएको पत्रपत्रिका लगायत पुस्तकहरू पढ्न सक्नेछन् । हस्तलेखन (हेनराइटिङ) सुधार गर्न अंग्रेजी लगायत भाषामा कमजोर भए भाषा कक्षा (ल्याङ्गग्योज क्लास) पढ्न सक्नेछन् । उपयोगी अनलाइन कक्षा जोडिएर अध्ययन गर्न सक्नेछन् । समुदायमा पुस्तकालय छ भने नियमित गै अध्ययन गर्न सक्नेछन् ।
अन्तमा,
आफ्ना सन्ततीहरूसंग पर्याप्त समय व्यतीत गर्नुहोला । उनीहरूको स–साना समस्या आफै समाधान गर्न लगाउनुहोला भने ठूला समस्या समाधानका लागि साथ दिनुहोला। याद गर्नुहोस् तपाईंको साथ, सहयोग र समयले नै तपाईंको सन्ततीको सुनौलो भविष्य कोर्न सकिन्छ । तपाईंको सन्ततीको सुनौलो भविष्यको लागि हाम्रो हातेमालो सधैं रहिरहनेछ ।
धन्यवाद ।
तपाईं र विद्यार्थीको भलो चाहने …
विनय श्रेष्ठ
शिक्षक, प्रकाश माध्यमिक विद्यालय, बेनी नगरपालिका–७, बेनी, म्याग्दी












