हरिकृष्ण गौतम
म्याग्दीको धवलागिरी गाउँपालिका–४,मुदी नाउराका यूवा कुलबहादुर घर्ती मगरले गाउँभरी निर्माणधिन अवस्थामा रहेको जलविद्युत आयोजना झलमल भएपनि गाउँ अझै अध्यरोमा बस्न वाध्य भएको गुनासो गर्नुभयो । गाउँमा पोल, तार बस्ती नजिकबाट विस्तार गरिएपनि नाउरा गाउँ मात्रै नभई चेचुङ, नेरवाङ, बगर बस्तीका बासिन्दाले पटक–पटक अनुरोध गर्दा समेत बत्ती बलेको छैन ।

मुदीमा निर्माणधिन अवस्थामा रहेका जलविद्युत आयोजनाका लागि नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले विस्तार गरेको पोलबाट गाउँलेलाई विजुली दिन आयोजनाहरू सकारात्मक भएपनि प्राधिकरणको कानुनी झन्झटका कारण स्थानीयले टुकी, सोलारमा रात काट्नु परेको छ ।
ङबगरमा स्थानीय नरप्रसाद पुनले गाउँमा विद्युत आयोजनालाई पुगेको विजुलीबाट स्थानीय बन्चित हुनुपर्ने अवस्थाको अन्त्यका लागि सरकारी निकायकै कमजोरी भएको बताउनुभयो । ‘घरआगन अगाडीको पोलतार हेरेर बस्नुपर्ने अवस्था छ, हामीले बालेको विजुलीको शुल्क तिछौ भन्दा पनि पाएका छैनौ’ पुनले भन्नुभयो ।
मुदीको नाउरामा २० घरधुरी, चेचुङ ३० घरधुरी, नेरवाङ ४५ घरधुरी छन् । ४६.२५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी हाइड्रो इम्पाएरका सञ्चालक पूर्णबहादुर पुनले स्थानीयबासीको समस्या समाधानका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।

‘जलविद्युत आयोजनका लागि स्थानीयले सहयोग गर्नुभएको छ, हामीले यो समस्या समाधानका लागि सहयोगको प्रतिबद्धता जनाइसकेका छौ’ सञ्चालक पुनले भन्नुभयो । विद्युत आयोजनालाई वितरण गरेको स्थानबाट समुदायलाई बिजुली उपलब्ध गराउने र प्राधिकरणका कर्मचारीले मिटर रिडका लागि खटिए समस्या समाधान हुने पुनको भनाई छ ।

यता नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख ई.सत्यनारायण गामीले विद्युत प्राधिकरणसँग विद्युतगृहलाई वितरण गरेको ट्रान्सफर्मरबाट सिधै दिन नमिल्ने भएकाले मौखिक छलफलमा आयोजनाले अतिरिक्त ट्रान्सफर्मरको ब्यवस्थापन गरेमा विद्युतीकरण सहित विजुली वितरण गर्न सकिने बताउनुभयो ।
केन्द्र प्रमुख ई.गामीले यस विषयमा मौखिम छलफल भएकाले आयोजनाहरूसँग बसेर छलफल गरी समस्याको समाधानका लागि सकारात्मक भएको बताउनुभयो । उक्त क्षेत्रमा नियमित विद्युत पुग्न अझै डेढबर्षभन्दा बढी लाग्ने भएकाले बैकल्पिकमाध्यमबाट समस्याको समाधानका लागि स्थानीयले विभिन्न कार्यक्रममा निरन्तर आवाज उठाइरहेका छन् ।
धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन तीन वटा जलविद्युत् आयोजनाले उत्पादन गर्ने विद्यु्त्लाई राष्ट्रिय प्रणालीमा जोड्न संयुक्त रूपमा ‘डबल’ र ‘मल्टी’ सर्किट १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माणको प्रक्रियामा रहेको छ ।
धवलागिरि गाउँपालिका–४ जेल्तुङदेखि वडा नं ३ र ७ हुँदै मालिका गाउँपालिका–७ मा रहेको नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत सबस्टेसन जोड्ने १६ दशमलब ४८ किलोमिटर लामो प्रसारण लाइन निर्माणमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला, ४६.२५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी र ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले साझेदारी गरेका छन् ।










