---Advertisement---

मगर खाम भाषा पठनपाठन गराउन प्रशिक्षक प्रशिक्षण तालिम सुरु

On: May 10, 2026 8:30 PM
Follow Us:

मगर खाम भाषा पठनपाठन गराउनका लागि नेपाल पुन मगर समाज रघुगंगा गाउँपालिका समितिले बेनीमा प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरेको छ । म्याग्दीको रघुगंगा गाउँपालिकाको आर्थिक सहयोगमा कक्षा १ को मगर खाम भाषा किताब समेत प्रकाशन गरेको समाजले आइतवारदेखि सात दिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु गरेको हो ।

गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा मगर खाम भाषाको पठनपाठनको तयारी गरिएको छ । मगर समुदायको बाहुल्यता रहेका विभिन्न १५ वटा विद्यालयमा यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम अन्तर्गत मगर खाम भाषाको पाठ्यपुस्तक पठनपाठन सुचारु गराउने तयारी गरिएको हो ।

एक सातासम्म सञ्चालन हुने तालिममा १५ विद्यालयका शिक्षकहरुको सहभागीता रहेको छ भने मगर भाषा विज्ञ कर्णबहादुर बुढा मगरले खाम भाषा सम्बन्धी प्रशिक्षण दिनुहुने पुन मगर समाज रघुगंगाका अध्यक्ष टिका पुर्जा पुन मगरले जानकारी दिनुभयो । सयौँ बर्षदेखि हराएर जाने अवस्थामा पुगेको मगर खाम भाषाको संरक्षण, पुनरुत्थान र अन्तरपुस्ता हस्तान्तरणको लागि विद्यालयका शिक्षकहरुलाई प्रशिक्षकको रुपमा तयार गर्न तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा रघुगंगा गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी र मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले मगर खाम भाषाको किताब बिमोचन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै रघुगंगा गाउँपालिका अध्यक्ष भण्डारीले मातृभाषामा अध्ययन गर्न पाउने संवैधानिक अधिकारलाई सुनिश्चित गर्दै मगर बाहुल्य बसोबास रहेका बस्तीमा स्थानीय पाठ्यक्रममा मगर खाम भाषा सम्बन्धी पढाई हुने व्यवस्था गर्न लागिएको बताउनुभयो ।

उहाँले विगतका बर्षहरुमा मगर, छन्त्याल लगायतका जातजातिको भाषा संरक्षणको लागि तालिमहरु सञ्चालनमा गाउँपालिकाले सघाएको बताउँदै यस पटक मगर खाम भाषाको पठनपाठनका लागि विद्यालयका शिक्षकहरुलाई तालिम दिएर प्रशिक्षक तयार गर्न लागिएको बताउनुभयो ।

कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष गर्बुजाले गत बर्ष खाम भाषा तालिम प्रदान गरिएको र यस बर्षदेखि मगर खाम भाषालाई स्थानीय पाठ्यक्रम मार्फत पठनपाठन गराउने तयारी गरिएको बताउनुभयो । बर्षौदेखि हराएर जाने अवस्थामा पुगेको खाम भाषालाई संरक्षण गर्नका लागि विद्यालयमा पठनपाठन गराउनुका साथै प्रविधियुक्त प्रचार सामाग्री बनाएर समेत अगाडी बढ्ने योजना बनाईएको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल पुन मगर समाजका केन्द्रिय अध्यक्ष खमबहादुर गर्बुजा पुन मगरले संघीय र प्रदेश सरकारले मगर भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने गरी ऐनहरु पारित गरिसकेकाले स्थानीय तहहरुले स्थानीय भाषामा पाठ्यक्रम तयार गरी लागु गर्नुपर्ने बताउनुभयो । उहाँले मगर समुदायको भाषा, लिपी र संस्कृतिहरु लोप भएर जाने अवस्थामा रहेको सन्दर्भमा रघुगंगा गाउँपालिकाले देखाएको सक्रियता सकरात्मक र प्रसंशनीय रहेको बताउनुभयो ।

कार्यक्रममा समाजका केन्द्रिय सल्लाहकार कुलवीर राम्जाली मगर,साँस्कृतिक विभागका संयोजक टेकबहादुर पहरे पुन, नेपाल मगर संघ म्याग्दीका अध्यक्ष खम थामा मगर, गण्डकी प्रदेश समितिका सदस्य हिरा पुन मगर, रघुगंगा गाउँपालिका– ५ का वडा अध्यक्ष मनकुमार शेरपुञ्जा, ७ का वडा अध्यक्ष थकबहादुर पाईजा, पुन मगर समाज म्याग्दीका अध्यक्ष निरज शेरपुञ्जा मगर मगर, अन्नपूर्ण गाउँपालिका समितिका अध्यक्ष टक पुन मगर लगायतले मगर समुदायको कला, भाषा, संस्कृति र चाडपर्वको मौलिकता र इतिहाको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा पुन मगर समाज युकेका सल्लाहकार योगकुमार फगामीले मगर भाषाको महत्व लाई उजागर गरी नयाँ पुस्तालाई भाषाको ज्ञान दिन तालिम लाई प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

नेपाल एकिकरणको समयदेखि तत्कालिन रिडीखोलारकालीगण्डकी नदीदेखि पूर्वका १२ र पश्चिमका १८ मगर राज्यहरुको अस्तित्व मेटिएसंगै मगर खाम भाषा र लिपीको समेत इतिहास मेटिदै गएको मगर समुदायका जानकारहरु बताउँछन् । पुन मगर समाज रघुगंगा गाउँपालिका समितिका अध्यक्ष टिका पुर्जा पुन मगरको अध्यक्षता, उपाध्यक्ष चेतन गर्बुजा पुन मगरको स्वागत र सचिब बिनु राम्जाली पुन मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Comment