---Advertisement---

गुर्जालाई सडक सञ्जालमा जोड्नु धवलागिरीमा चालु आवको प्रमुख उपलब्धी

On: May 12, 2026 9:21 AM
Follow Us:

मुना, २८ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिकाले वडा नम्बर १ गुर्जालाई सडक सञ्जालमा जोड्नुलाई भौतिक पूर्वाधारतर्फ चालु आर्थिक वर्षको हालसम्मको प्रमुख उपलब्धीको रुपमा प्रस्तुत गरेको छ ।

पालिकाको केन्द्र मुनामा सोमबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा गुर्जा सडक सञ्जालमा जोडिएको, जलजला–ढोरपाटन हुदै पुर्वी रुकुम जोड्ने सडकको मार्ग खुलेको र मुदीमा वडा कार्यालय भवन सञ्चालनमा आएको प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।

गुर्जा र मुनामा ढल ब्यवस्थापन योजना प्राथमिकताका साथ सञ्चालन भएको जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले स्थानीय आवश्यकता र नागरिकको मागको आधारमा सडक पूर्वाधारको पहुँच विस्तार गरिएको बताउदै यसबाट स्थानीय जनजिवनमा सहजता ल्याएको बताउनुभयो । वडा नम्बर ५ को भेडिखाल्टामा पनि यसै आर्थिक वर्षभित्र सडक पु¥याउन निर्माण ब्यवसायी परिचालित भएको अध्यक्ष पुनले बताउनुभयो ।

खाम्ला–खिवाङ सडक स्तरोन्नति गरेर यातायात सञ्चालन योग्य बनाउन ठेक्का लागिसकेको, मुना–मुदी सडकको दरखोलामा मोटरेबल पुल र फलीयागाउँमा एक घर, एक धारा सहितको खानेपानी योजना बनाउन प्रदेश र संघीय सरकारसँग पहल भइरहेको अध्यक्ष पुनले बताउनुभयो । निर्माण भएका आधारभूत पूर्वाधारको सुधार गर्दै गाउँमै रोजगारी सिर्जना, आयआर्जन र पर्यटन प्रर्वद्धनमा जोड दिदै शिक्षा, स्वास्थ्य सेवालाई सहज बनाउन गाउँपालिकाले प्रयास गरिरहेको अध्यक्ष पुनको भनाई थियो ।

गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले गुर्जा जोड्ने सडकको देउराली–लत्रवाङ खण्डको अप्ठ्यारो सडक सुधारका लागि ठेक्का लागेको, गुर्जाको ढल ब्यवस्थापन योजना निर्माणमा ठेकेदारले गरेको कमजोरी पहिचान गरि भत्काएर पुन बनाउन लगाएको, रोकिएको दरवाङ–मुना–ढोरपाटन सडक निर्माणलाई अघि बढाउन ताकेता गरिएको, मुना–जलजला–ढोरपाटन सडकमा यातायात सञ्चालन योग्य बनाउन पहल भएको बताउनुभयो ।

प्रशासकीय र ताकम अस्पतालको भवन निर्माणलाई पूर्णता दिन प्रयास गरिएको जानकारी दिदै पालिकाका साथै प्रदेश र संघीय सरकारका योजनालाई गुणस्तरीय बनाउन अनुगमन, निगरानी, सहजिकरण, समन्वय गरेको उपाध्यक्ष पुनले बताउनुभयो । एक सय ५१ मध्य १२९ योजनाको सम्झौता धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ मा छनौट गरेका एक सय ५१ मध्य वैशाख २६ गतेसम्म एक सय २९ वटा योजनाको सम्झौता गरि कार्यान्वयनमा लगेको छ ।

नौ वटा ठेक्का र एक सय २० वटा योजना उपभोक्ता समितिसँग सम्झौता भएकोमा ३० वटा सम्पन्न भइसकेका प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । पुँजिगत शिर्षकमा रु. १४ करोड ६८ लाख ३५ हजार बजेट बिनियोजन भएकोमा २२ दशमलब ४९ प्रतिशत अथवा रु. तीन करोड ३० लाख २४ हजार खर्च भएको छ ।

लक्ष्य भन्दा बढी आन्तरिक आम्दानी भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । रु. ४५ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखिएकोमा वैशाख अन्तिम सातासम्म रु. ६१ लाख ५२ हजार अथवा लक्ष्य भन्दा एक सय ३६ प्रतिशत बढी आम्दानी भएको गाउँपालिकाले जनाएको छ । वैदेशिक प्रयोजनाका लागि कागजात प्रमाणित गराउनेहरु बढेका कारण राजस्व वृद्धिमा सकारात्मक प्रभाव परेको हो ।

स्थानीयका गुनासा, सुझाव र माग सार्वजनिक सुनुवाईमा सहभागी र सामाजिक सञ्जाल मार्फत धवलागिरीका बासिन्दाहरुले प्रस्तुत गरेका स्थानीय बिकास निर्माण र सेवा प्रवाहका विषयमा गुनासा, सुझाव र मागहरुका विषयमा छलफल भएको थियो ।

सहभागीहरुले ढोरपाटनसँगको सिमाना बिवाद सुल्झाउन, विकासका योजनालाई गुणस्तरीय र टिकाउ बनाउन तथा समयमै सम्पन्न गराउन भूमिका खेल्न, औपचारिक कार्यक्रम गर्दा समयमा ध्यान दिन, मार्ग खोलिएका सडकको स्तरोन्नति गरेर नियमित यातायात सञ्चालन योग्य बनाउन, कृषि शाखामा जनशक्तिको ब्यवस्थापन गर्न, पशु सेवासँग सम्बन्धित कार्यक्रम कार्यान्वयनमा सहजिकरण गर्न माग गरेका थिए ।

प्रदेश सरकार मार्फत सञ्चालित दरवाङ–मुना–ढोरपाटन सडक र खोरिया–लमसुङ मोटरेबल पुल निर्माण रोकिएको, लुलाङ–गुर्जा सडकको देउराली–लत्रबाङ खण्ड जोखिमयुक्त भएको, ढोरपाटन जोड्ने सडकको जलजला नजिकैको उकालोमा सडकलाई सहज सवारी सञ्चालन योग्य बनाउन, दर–लुलाङ बैकल्पिक सडक र मुना–मुदी सडकको दरखोलामा मोटरेबल पुल बनाउन, फलियागाउँमा एक घर, एक घारा खानेपानी योजना कार्यान्वयनमा ल्याउन, निर्माणाधिन प्रशासकीय र आधारभूत अस्पताल भवनलाई पूर्णता दिन सुझाव दिएका थिए ।

यसैगरी मोवाइल फोन सेवा गुणस्तरीय बनाउन, नर्जाखोलाको ढुंगाखानी सञ्चालनका लागि सहजिकरण गर्न, विद्यार्थी संख्याका कारणमा विद्यालय समायोजन र दरबन्दी मिलान गर्न सुझाव दिएका थिए । पूर्णबहादुर भण्डारी, बल गर्बुजा मगर, तिलाराम नेपाली, सबहादुर फगामी, रामबहादुर खत्री, मनिता पुन, कमलसिंह घर्ती लगायतले जिज्ञाशा, सुझाव र माग गर्नुभएको थियो ।

सहभागीले उठाएका र सामाजिक सञ्जाल मार्फत प्राप्त भएका प्रश्नहरुको विषयमा गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर र प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जवाफ, प्रतिक्रिया र प्रतिवद्धता जनाउनुभएको थियो । कार्यक्रमको सहजिकरण पत्रकार सन्तोष गौतम र दलप्रसाद विश्वकर्माले गर्नुभएको थियो ।

Leave a Comment