हरिकृष्ण गौतम
अनकन्टार ठाउँ । चारैतिर घना जंगलको बीचमा रहेको शिवमन्दिरको छेउमा एउटा सामान्य झुप्रो छ ।त्यही झुप्रोमा बि.स २०८१ साल माघ २२ गतेदेखि धार्मिकस्थल मालिकाधुरी मन्दिरमा उक्लिनुभएकी रघुगंगा गापा–६,पाखापानीकी थममायाँ पाइजा र छोरी रेसु पाइजा बस्नुहुन्छ ।सामान्य छाप्रोमा रात विताएर विहानैदेखि साँझसम्म मन्दिरको सेवामा सर्मपित थममायाँले यो अवधिमा मालिकाधुरीमा मन्दिरसहित अन्य भौतिक संरचनाले चिटिक्क देखिएको छ ।
खुल्ला आकाशमा पूजा गर्नुपर्ने जालपा,कालिका मन्दिरलाई संरक्षण गरिएको छ भने मुल मालिका मन्दिरको रंगरोगन सहित गणेश, सरस्वती सहितका मन्दिर भक्तजनलाई सहज पूजाआजा गर्न मिल्ने बनाइएको छ । मन्दिरमै बास बसेर माता थममायाँले गरेको मेहनत र फेरिएको मालिकाधुरीको संरचनाले भक्तजन समेत दंग पर्ने गरेका छन् ।
मालिकाधुरीमा थममायँ पाइजा परिवारको ब्यक्तिगत २२ लाखभन्दाबढी खर्च भएको छ भने अन्य सहयोगदाताले समेत पूजाआजा र अन्य सामान्य मर्मतमा सहयोग गर्ने गर्नुभएको छ । मन्दिर बनाउन अमेरिकामा रहनुभएका मोतिबहादुर पाइजाले कमाइ गरेपछि पठाउने गरेको थममायाँले बताउनुभयो।
‘श्रीमानको कमाइले अहिलेसम्म गरियो, अब भक्तजनहरुको सहयोग जुटाएर थप संरचनाहरु बनाउनुपर्नेछ,खानेपानीको समस्या समाधानका लागि सहयोगदाताको खोजीमा छौ’ थममायाँले बेनीअनलाइनलाई भन्नुभयो ।

नाकै ठोकिने डरलाग्दो पहाडमा धार्मिक तथा पर्यटकीय गन्तब्य मालिकाधुरीको एउटै थुम्कोमा त्रिदेवीको बास भएकाले भक्तजनहरूको भीड लाग्ने गरेको छ । मालिका,रघुगंगा र मंगला गाउँपालिकाको सीमानामा अवस्थित मालिकाधुरीेमा कालिका,जालपा,शिव,गणेश,सरस्वती मन्दिर तयार गरिएको छ ।
मन्दिर क्षेत्रमा भक्तजनलाई पूजाआजामा सहज हुने गरी ढलान, सत्तल आसपासमा खानेपानीसहित नियमित पूजाका लागि भौतिक संरचनाको आवश्यकता रहेको थममायाँको भनाइ छ । हालसम्म तीनपटक अखण्ड बत्ती बालेर विश्वशान्तिको कामना समेत गरिएको छ ।
त्रिदेवीको दर्शनले मनोकांक्षा हुने जनविश्वासका साथ बषौंदेखि मालिकाधुरी पुग्ने गरेकोमा अहिले मन्दिर तथा आसपासका क्षेत्रमा भक्तजनलाई धेरै सहज भएको बेनीबाट दर्शन गर्न गएका सरोज पौडेलले बताउनुभयो ।

‘मन्दिरमै बास बसेर आमाछोरीले गरेको मेहनत देखेर दंग परे, उहाँहरूको मेहनतले भक्तजनलाई अहिले मन्दिरमा कुनै समस्या छैन’ पौडेलले भन्नुभयो ।
बाह्रैमास चिसो हावा चल्ने मालिकाधुरीे जाडोयाम, मुसलधारे बर्सात सहितको चट्याङ, बन्यजन्तुको समेत प्रवाह नगरी आमाछोरीले मन्दिर बनाउन थालेपछि बैशाख पूर्णिमाको दिनमा पुगेका भक्तजनले धन्यवाद दिएका थिए ।
मन्दिरसम्म पुग्ने भक्तजनलाई स्थानीय तहले धमाधम सडक सञ्जाल विस्तार गरेपनि भक्तजनको सहयोगमा मन्दिरमा संरचना बनिरेको मालिकाधुरी मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताउनुभयो ।

मन्दिर बनाउन जंगलमा बसेर आमाछोरीले गरेको काम निकै प्रशंसनीय रहेको उहाँको भनाई छ । ‘उहाँहरूको लगानी र मेहनतको जति नै प्रशंंसा गरेपनि कमी हुन्छ, धार्मिक क्षेत्रका लागि धेरै गर्नुभएको छ’ अध्यक्ष पाइजाले बताउनुभयो ।

मन्दिरमा पूजारीको काम गरेपछि संकलित भेटी समितिलाई दिने गरेको अध्यक्ष पाइजाले बताउनुभयो । समुन्द्री सतहदेखि तीन हजार ३ सय मिटर उचाइमा अवस्थित मालिकाधुरीमा बर्षेनी आउने भक्तजनलाई सडक सञ्जाल, सत्तल सहितको सुविधाले सहज भएको छ ।
मालिका श्रीस्वस्थानी व्रतकथासँग सम्बन्धित छ । महादेवले मृत सतिदेवीलाई बोकेर हिँड्दा उनको माला खसेको ठाउँमा मालिका स्थापना भएको हो । कालिका र जालिकाको बीचमा मालिका मन्दिर छ । एउटा ठूलो शिलालाई कालिका र अर्कोलाई जालिकाको रूपमा पुजिन्छ । चण्डी पूर्णिमा, जेष्ठी पूर्णिमा, भाइटीकामा पूजाआजा हुन्छ ।
एकदशक अगाडीसम्म पूजाआजाका लागि पुग्ने भक्तजन ओढार र खुल्ला आकाशमा रात बिताउने गरेकोमा अहिले सत्तल, देउरालीमा खानेपानी, शौचालयको सुविधाले सहज भएको छ । कम्तिमा तीनपटक त्यहाँ पुगेर दर्शन गरेमा मनोकामना पूरा हुने भक्तजनको विश्वास रहेको छ । बि.स १९९० साल आसपासबाट पूजा गरिँदै आएको भएतापनि २०२५ सालमा मात्रै मालिकामा सामान्य मन्दिर बनाइएको थियो ।

रघुगंगा गाउँपालिकाको झिँ, पाखापानी, ठाडाखानी, मंगला गाउँपालिकाको कुहँु, थाईवाङ, हिँदी र मालिका गाउँपालिकाको दरवाङ, उपल्लो दुखु हुँदै पनि मालिका पुग्न सकिन्छ । बेनी–कुहुँ– पूर्णगाउँ, टोड्केबाट पदैल यात्रा गनृ सकिने भएपनि यसपटक मंगलाले हिदी हुदै सडक देउरालीसम्म विस्तार गरेको छ । बेनी–दरबाङ, दरबाङ–बिमको बिलबाङ र बेनी–झिँ–पाखापानीको ठाडाखानी हुदै विगतमै सडक पुगेको थियो । सडक सञ्जाल छोडेर करिब एकघण्टामा मन्दिरमा पुगिन्छ ।








