म्याग्दीका स्वतन्त्र सांसद महावीर पुनको प्रस्तावमा प्रधानमन्त्री बालेन्द्र शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय छुट्टै गठन गर्ने निर्णय गरेपछि सांसद महावीर पुनले सरकारको प्रशंसा गर्नुभएको छ। सांसद पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो लामो समयदेखिको माग पुरा भएकोमा खुसी व्यक्त गर्दै सरकारलाई धन्यवाद दिनुभएको हो। ‘मैले लामो समयदेखि गरेको माग पुरा भयो । नेपाल सरकारलाई धेरै धेरै धन्यवाद तथा दीर्घायुको कामना गर्दछु’ पुनले लेख्नुभएको छ।
साथै उनले विगतमा रिसको झोँकमा नेताहरूलाई दिएको ’श्राप’ समेत फिर्ता लिएको घोषणा गर्नुभएको छ। सांसद पुनले यसअघि ८ वैशाख २०८३ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लिखित पत्र बुझाउँदै छुट्टै मन्त्रालयको माग समेत गर्नुभएको छ। नेपाल आर्थिक रूपमा गरिब हुनुको मुख्य कारण पृथ्वीनारायण शाहको पालादेखि नै कुनै पनि शासक वा सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तनलाई प्राथमिकता नदिनु रहेको तर्क गर्नुभएको थियो ।
सांसद पुनले यसको अभावमा नेपालले दुई ठुला समस्या भोगिरहेको छः पहिलो, सानोभन्दा सानो उपभोग्य वस्तु पनि उत्पादन नहुँदा व्यापार घाटा चरम बिन्दुमा पुग्नु र दोस्रो, प्रतिभाशाली एवं सृजनशील युवाहरू रोजगारीको अभावमा विदेश पलायन हुनु ।
३३ वर्षदेखि सामाजिक क्षेत्रमा काम गरेको अनुभवका आधारमा उहाँले देशमा उद्यमशीलता र रोजगारी सिर्जना गर्न यो मन्त्रालय अनिवार्य रहेको अडान राख्दै आउनुभएको थियो ।
पुनले दुई दिन अगाडि मात्र संसदमा पनि यस विषयमा जोडदार माग राख्नुभएको थियो । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुधार, मितव्ययिता कायम गर्ने र अनावश्यक चालु खर्च कटौती गर्ने उद्देश्यले मन्त्रालयहरूको सङ्ख्या घटाएको छ ।
सरकारले साविकको शिक्षा मन्त्रालयबाट विज्ञान–प्रविधि झिकेर र नयाँ थप गरिएको नवप्रवर्तनसम्बन्धी कार्यहरू हेर्ने गरी छुट्टै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको हो । यस्तै सञ्चार तथा सूचना प्रविधिसम्बन्धी कार्यलाई भने अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभिएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले सङ्घीय मन्त्रालयहरूको सङ्ख्या २२ बाट घटाएर १८ पुर्याएको छ ।











