पर्वतका विभिन्न पालिकामा व्यावसायिक रूपमा माछापालन गर्दै आएका किसानलाई अनुदानमा माछाका भुरा वितरण गरिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले शत्प्रतिशत अनुदानमा पर्वतका ५७ जना किसानलाई एक लाख २३ हजार माछाका भुरा विवरण गरेको जानकारी दिएको छ ।
व्यावसायिक रूपमा माछापालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न किसानको पोखरीमा नै पुगेर माछा विवरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार लामो समयदेखि माछापालन व्यवसायमा आबद्ध किसानबाट निवेदन सङ्कलन गरी सबै किसानलाई माछाका भुरा उपलब्ध गराइएको छ । किसानको पोखरीको क्षमता र मागका आधारमा भुराहरू उपलब्ध गराइएको उनले बताए ।
कार्यालय प्रमुख श्रेष्ठले वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत रु दुई लाख बजेट विनियोजन गरेर माछाका भुरा वितरण गरिएको जानकारी दिए । उनका अनुसार स्थानीय हावापानीसँग सहज रूपमा हुर्कन सक्ने कमनकार्प जातका भुरा किसानलाई उपलब्ध गराइएको हो । “यो जातको माछा एक वर्षमै करिब दुई किलोसम्म पुग्ने भएकाले किसानलाई राम्रो आम्दानी लिन सहज हुन्छ,” उनले बताए ।
कार्यालयले मत्स्य अनुसन्धान केन्द्र वेगनासपोखराबाट माछाका भुरा खरिद गरी किसानलाई विवरण गरेको जनाएको छ । यो केन्द्र नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत सञ्चालनमा रहेको मत्स्य अनुसन्धान संस्था हो ।
यस कार्यक्रमले जिल्लामा व्यावसायिक मत्स्यपालन विस्तारसँगै किसानको आयआर्जन वृद्धि हुने अपेक्षा गरिएको छ ।
पर्वतको मोदी, कुश्मा, फलेवास, जलजला र पैँयूमा व्यावसायिक माछापालन गरिँदै आएको छ । पछिल्लो समय माछाको उपभोग गर्ने उपभोक्ताहरूको सङ्ख्या समेत बढ्दै गएकाले माछाका भुरा माग गर्ने किसानको सङ्ख्या पनि बढेको कार्यालयले जनाएको छ ।रासस












