म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. ८ चौराखानीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
स्थानीय चौराखानी बस्ने अन्दाजी ४५ वर्षीया कलीमाया विकको भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
प्रहरीका अनुसार जेठ १२ गते घरभन्दा करिब ३ सय मिटर टाढा रहेको ‘माथिताला’ भन्ने स्थानमा सिस्नो टिपेर, सुकाएर घर फर्कने क्रममा उनी भीरबाट लडेकी थिइन्। भीरबाट करिब २ सय मिटर तल खसेकी विकको शव रुखको जरामा अड्किएको अवस्थामा फेला परेको हो।
मृतकका श्रीमान स बहादुर विकले बुधबार बिहान करिब साढे ११ बजे टेलिफोनमार्फत अस्थायी प्रहरी पोष्ट चिमखोलामा घटनाबारे जानकारी गराएका थिए। जानकारी पाउनासाथ तत्कालै अस्थायी प्रहरी पोष्ट चिमखोलाका प्रहरी हवल्दार सुरज घर्ती क्षेत्रीको कमाण्डमा २ जनाको टोली दिउँसो साढे १२ बजे घटनास्थल पुगेको थियो।
घटनास्थल अस्थायी प्रहरी पोष्ट चिमखोलाबाट करिब ८ किलोमिटर पश्चिममा पर्दछ। घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) सागर तिमिल्सिनाको कमाण्डमा सोको सहित २ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
तस्बिर: एआईबाट सिर्जना भएको










