जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत प्रहरी निरीक्षक सागर तिमिल्सिना उत्कृष्ट प्रहरी घोषित भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा तथा मातहत समेतका प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरूले सम्पादन गरेको कार्यहरूमध्ये म्याग्दीमा तिमिल्सिनाले सम्पादन गरेको कार्य सर्वोत्कृष्ट रहेकाले बैशाख महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जारी गरेको सूचनामा समाजमा शान्ति सुरक्षा अमनचयन कायम राख्न, अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धान गर्न, फैसला कार्यान्वयन गर्न, लागु औषध नियन्त्रण लगायतका कार्यमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै उत्कृष्ट प्रहरी छनौट कार्यविधि २०८१ बमोजिमे उत्कृष्ट प्रहरी घोषणा गरिएको उल्लेख छ ।
म्याग्दीमा ७ महिना अगाडी प्रहरी निरीक्षकमा आउनुभएको तिमिल्सिनाले जिल्लामा दुर्घटनास्थलको स्थलगत अनुगमन, पुराना लागु औषधनको नियन्त्रण सहित बेनीमा कुलतमा फसेकाहरुको चेन ब्रेक गर्ने भूमिका खेल्नुभएको थियो । गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी घोषित भएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी तिमिल्सिनाले सम्मानले उर्जा थपिएको र थप म्याग्देली नागरिकको सेवामा सर्मपित हुने बेनीअनाइनलाई बताउनुभयो ।
सांगठनिक नीति निर्देशन बमोजिम प्रदान गरिएको जिम्मेवारी तथा पदीय दायित्वलाई ईमान्दार, बफादार र कर्तव्यनिष्ठ भई उच्च व्यावसायिक साथ सम्पादन गरेको भन्दै सम्मान प्राप्त गरेकोमा थप जिम्मेबारीबोध भएको प्रहरी निरीक्षम तिमिल्सिनाको भनाई छ । यसअगाडी हालै सरुवा हुनुभएका प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापा समेत सम्मानित हुनुभएको थियो ।











