म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा बुधबार सम्पन्न स्त्रीरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट छ सय जनाभन्दा बढी लाभान्वित भएका छन्।
‘मातृत्व जोगाउने अभियान अन्तर्गत’ विराट क्यान्सर अस्पताल र विराट मेडिकल कलेजको सहयोगमा दुई दिनसम्म सञ्चालन भएको शिविरमा ६१४ जनाले सेवा लिएका आयोजक ‘कल्प इमपावर उमेन नेपाल’ले जनाएको छ। पाठेघरको मुखको क्यान्सरका सम्भावित बिरामी पहिचान, स्त्रीरोगसम्बन्धी समस्या न्यूनीकरणका लागि जनचेतना वृद्धि र उपचारमा पहुँच बढाउने उद्देश्यले शिविर सञ्चालन गरिएको कल्पका अध्यक्ष पूजा कोइरालाले बताए।
उनका अनुसार शिविरमा पहिचान भएका पाठेघरको मुखको क्यान्सरको लक्षण देखिएका १५ जनालाई थप उपचारका लागि धवलागिरि प्रादेशिक अस्पतालमा रेफर गरिएको छ। क्यान्सररोग विशेषज्ञ डा
विनोद अर्याल र स्त्रीरोग विशेषज्ञ बविता शाहको टोलीले स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणसम्बन्धी सेवा दिएका थिए।
दरवाङ आधारभूत अस्पताल परिसरमा सञ्चालन भएको शिविरमा मालिकाको साथै मङ्गला र धवलागिरि गाउँपालिकाका महिलाले पनि सुविधा पाएका छन्। शिविरको संयोजन गरेकी मालिका गाउँपालिका–४ की शिला पुनले चेतना र शिक्षाको कमीका कारण रोग लुकाएर बसेका बिरामीको पहिचान गरी उपचारको दायरामा ल्याउने उद्देश्यले शिविर आयोजना गरेको बताइन्।
बालविवाह र शारीरिक तथा मानसिक रुपमा परिपक्व नभएका किशोरी गर्भवती र सुत्केरी हुँदा स्त्रीरोगसम्बन्धी समस्या धेरै रहेको तर उनीहरू रोग लुकाएर बस्ने गरेका पुनले बताइन्। स्वास्थ्य शिविरअघि जेठ १० गते मालिका गाउँपालिकाको सात वडाका २७ किशोरी र युवतीलाई पाठेघरको मुखको क्यान्सरको कारण, समाधानका उपाय र उपचार विधिका विषयमा प्रशिक्षण दिइएको थियो। प्रशिक्षणमा सहभागी किशोरीले जेठ ११ गते बस्तीहरूमा पुगेर सचेतनामूलक कार्यक्रम गरेका थिए।
तीस वर्षभन्दा कम उमेर समूहका नेपालका युवा महिलाले स्थापना गरेको कल्प संस्थाले सञ्चालन गरेको मातृत्व जोगाउने अभियानमार्फत हालसम्म २० हजार जनाभन्दा बढीले सेवा पाएका संस्थाले जनाएको छ।
शिविर सञ्चालनका लागि मालिका गाउँपालिका र ‘जेके’ फाउन्डेसनले पनि सहयोग गरेका संस्थाका कार्यक्रम विकास प्रमुख सम्राट थापाले बताए।










