प्रतिनिधि सभा सदस्य महावीर पुनले मुलुकको आर्थिक समृद्धिका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा पुँजीगत बजेटको कम्तीमा एक प्रतिशत रकम विनियोजन गर्नुपर्ने माग गरेका छन्।
संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देशमा रोजगारी सिर्जना र अर्थतन्त्र सुदृढ गर्न अनुसन्धान र नवप्रवर्तन अपरिहार्य रहेको उल्लेख गरे।
सांसद पुनले सरकारले हालै ‘नवप्रवर्तन तथा विज्ञान प्रविधि मन्त्रालय’ स्थापना गरेको विषयलाई सकारात्मक रूपमा लिँदै उक्त मन्त्रालयलाई प्रभावकारी बनाउन दक्ष जनशक्ति र पर्याप्त बजेटको आवश्यकता रहेको औंल्याए।
उनले वैज्ञानिकहरूले गर्ने आविष्कारलाई व्यावसायिक रूप दिई उत्पादन बढाउनु नै नवप्रवर्तन भएको स्पष्ट पार्दै यसबाट आयात प्रतिस्थापन र रोजगारी वृद्धि हुने बताए।
उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै भने, ‘हाम्रा अर्थमन्त्रीजी एक कुशल अर्थशास्त्री हुनुहुन्छ, तर देशको अर्थतन्त्र उकास्न विज्ञान र नवप्रवर्तनले कस्तो भूमिका खेल्छ भन्ने विषयमा उहाँको गहिरो ध्यान पुग्न सकेको छैन कि भन्ने मलाई भान भएको छ।’
पुनले नयाँ मन्त्रालयमा मन्त्रीदेखि सचिवसम्म सम्बन्धित क्षेत्रका विज्ञ हुनुपर्ने र यसको नेतृत्वमा प्रधानमन्त्री स्वयंले चासो लिनुपर्ने सुझाव दिए। ‘मन्त्रालय त खोलियो, तर यसलाई व्यवस्थित गर्न बाँकी छ। आगामी बजेटमा पुँजीगत खर्चको एक प्रतिशत अर्थात् करिब ३ अर्ब रुपैयाँ यस क्षेत्रका लागि छुट्याउनुपर्छ,’ उनले भने। Nagariknews










