म्याग्दीमा शनिवार एक कार्यक्रमको आयोजना गरी आठौं राष्ट्रिय महिला अधिकार दिवस–२०८३ मनाइएको छ । ‘महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान’ भन्ने मूल नारासहित सदरमुकाम बेनीमा महिला अधिकार दिवस मनाइएको हो ।
शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) म्याग्दीको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सीना र पत्रकार तथा जलजला अनलाइन डटकमका सञ्चालक सम्पादक कृष्णबहादुर जिसीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सहजीकरण गर्दै प्रहरी निरीक्षक तिमिल्सीनाले पछिलो समय फेसबुक मनिटाईजेसनको नाममा सामाजिक सञ्जालबाट हिंसा भैरहेकाले सचेत रहनुपर्ने बताउनुभयो ।
प्रहरी निरीक्षक तिमिल्सीनाले सामाजिक सञ्जालहरु फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, भाईबर, ईमोलगायत प्लेटफर्मबाट ठगी गर्ने क्रम बढेसँगै डिजिटल हिंसामा समेत वृद्धि भएको बताउँदै मोबाईलमा स्क्रिन सेयर गर्ने र कम्प्युटरमा एनिडेक्सबाट आईडी र पासवर्ड ह्याक गरेर ठगी गर्ने क्रम बढेकाले सचेतना अपनाउनुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय बैंकको नामबाट केवाईसी अपडेटको बाहनामा फोन गरेर ओटिपी माग्ने, पैसा हाल्न लगाउने, विभिन्न पार्सल आएको, आईफोन परेको भन्ने, मायाको चिनो उपहारलगायत नाममा ठगी र लुटपाट बढेको भन्दै व्यक्तिगत जानकारीहरु आफ्नो परिवारलाई समेत जानकारी नगराउन उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा सहजीकरण गर्दै पत्रकार जिसीले सामाजिक सञ्जाल फेसबुक पेजमा आउने विभिन्न विज्ञापनहरुमा क्लिक नगर्न र जथाभावी लाईक तथा कमेन्ट नगर्न आग्रहसहित होसियारीपूर्वक सामाजिक सञ्जालहरुको प्रयोग गर्न सुझाव दिनुभयो । उहाँले सामाजिक सञ्जालहरुमा सकेसम्म व्यक्तिगत तथा पारिवारिक जानकारीहरु नराख्न तथा यदि राख्न मन लागेमा त्यसलाई प्राईभेटमा राख्नुपर्ने जानकारी दिनुभयो । उक्त कार्यक्रममा प्रहरी निरीक्षक तिमिल्सीनाले साईबर अपराध, अनलाइन ठगी, कानुनी व्यवस्था र यसबाट बच्ने उपायहरु तथा पत्रकार जिसीले सामाजिक सञ्जाल फेसबुकको प्रयोगका बारेमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले डिजिटल हिंसा र अनलाइन ठगीबाट बच्नको लागि सचेत हुनुपर्ने बताउनुभयो । उहाँले कार्यक्रममा सिकेका ज्ञान, सिपलाई आगामी दिनमा क्रमशः कार्यान्वयन गर्दै लैजानुपर्नेमा जोड दिँदै महिला हक अधिकारको दिवस मनाइरहँदा महिलाहरु आर्थिक क्षेत्रसँग जोडिन आवश्यक रहेको बताउनुभयो । सामाजिक सञ्जाल र अनलाइनको प्रयोग गर्दा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले आजको दिन महिला सहभागिता र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण दिनको रुपमा रहेको उल्लेख गर्दै संविधानले गरेको व्यवस्था र ऐन कानुनले दिएको अधिकारको पूर्णरुपमा उपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले हाल संघ र प्रदेशमा ३३ प्रतिशत तथा स्थानीय तहमा ४१ प्रतिशत महिलाको सहभागिता सुनिश्चित रहेको बताउनुभयो ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन र एनसिई नेपालका उपाध्यक्ष दिलमाया बिटालुले डिजिटल हिंसा तथा अनलाइन ठगीबाट बच्न सचेत हुनुपर्ने बताउँदै आफ्नो हक अधिकारको पूर्ण रुपमा प्रयोग गर्नका लागि महिलाहरु आफै अगाडि बढ्नपर्नेमा जोड दिनुभयो । कार्यक्रम एनसिई म्याग्दीका कार्यवाहक संयोजक चिना बानियाँको अध्यक्षता, सचिव गौरी थापाको सञ्चालन र सदस्य तिलकुमारी रानाको स्वागतमा सम्पन्न भएको थियो ।

वि.संं. २०६३ साल जेठ १६ गते तत्कालीन पुनस्र्थापित प्रतिनिधिसभाले महिला अधिकार सम्बन्धी ऐतिहासिक चारवटा विशेष प्रस्ताव पारित गरेको दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ । आमा वा बुबामध्ये एकको नामबाट सन्तानलाई नागरिकता प्राप्त गर्ने व्यवस्था, राज्यका सबै संरचनामा कम्तीमा एक तिहाई महिलाको सहभागिता सुनिश्चित गर्ने संवैधानिक प्रावधान, विभेदकारी कानुनको खारेजी तथा महिलामाथि हुने हिंसा अन्त्य गर्ने प्रतिबद्धताजस्ता उपलब्धिहरु राष्ट्रिय महिला अधिकार दिवसका आधारस्तम्भको रुपमा रहेका छन् ।











