म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाको आयोजनामा सर्वाधिक धनराशिको डबल धमाका १०औं मोना अस्ट्रेलिया कप भलिबल तथा बास्केटबल प्रतियोगिता हुने भएको छ । संस्था स्थापनाको २०औं वर्षको अवसर पारेर हुन लागेको दुई दिने प्रतियोगिता लिडकमस्थित ओबर्न बास्केटबल सेन्टरमा जुन ६ र ७ तारिख (जेठ २३ र २४ गते) मा हुनेछ ।
प्रतियोगितामा खुल्ला पुरुष भलिबल, खुल्ला महिला भलिबल र पुरुष बास्केटबल हुने छ । प्रतियोगितामा पुरुषतर्फको विजेताले ७ हजार ७ सय ७७ अस्ट्रेलियन डलसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुने टोलीले ३ हजार ६ सय ३६ अस्ट्रेलियन डलसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने मोनाका अध्यक्ष सुसन श्रेष्ठले बेनीअनलाइनलाई बताउनुभयो ।

महिलातर्फको विजेताले विजेताले २ हजार २ सय २२ अस्ट्रेलियन डलसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले १ हजार १ सय ११ अस्ट्रेलियन डलसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । अस्ट्रेलियामा म्याग्देलीहरुको संस्था मोनासहित अन्य म्याग्दी आवद्ध रहेको संस्थामार्फत भलिबल खेललाई निकै लोकप्रिय बनाइएको छ । यसपटक मोनाले नेपाली समुदायभित्र हुने सर्वाधिक धनराशिको प्रतियोगिताको आयोजना गरेको महासचिव बाबुराम पौडेलले बताउनुभयो ।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ महिला र पुरुषको सर्वाेत्कृष्ट खेलाडीले २ सय डलर र ट्रफी पाउनेछ । स्पाइकर, सर्भर, ब्लकर, सेटर, लिवेरो र प्रशिक्षकले ट्रफी प्राप्त गर्नेछ ।
प्रतियोगितामा पोल ‘ए’ मा छन्त्याल परिवार अस्ट्रेलिया, दि गोर्खा स्पोट्र्स क्लब, पर्वत बेनी युनाइटेड (निलो), गल्कोट समाज अस्ट्रेलिया, आयोजक मोना अस्ट्रेलिया र म्याग्दी काली युनाइटेड (ओरेन्ज) रहेका छन् । पोल ‘बी’ मा मंगला समाज अस्ट्रेलिया, म्याग्दी काली युनाइटेड (रातो), म्याग्दी जलजला परिवार अस्ट्रेलिया, पोखरा भलिबल क्लब, ढोरपाटन क्लब अस्ट्रेलिया र पर्वत बेनी युनाइटेड (रातो) रहेका छन् ।
महिलातर्फ ६ टोलीको सहभागिता छ । पोल ‘ए’ मा मंगला, ढोरपाटन र जलजला तथा पोल ‘बी’ पोखरा, आयोजक मोना र म्याग्दी काली युनाइटेड रहेका छन् । बास्केटबलमा ११ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समुहमा विभाजन गरिएको छ । पोल १, २ र ३ मा समान तीन टोली तथा पोल ४ मा दुई टोली रहेका छन् ।
ओएसएस एजुकेशन एण्ड भिजा सर्भिसेसले प्रतियोगितालाई मुख्य प्रायोजन गरेको छ । पुरुष भलिबल विधालाई तृप्ति फाउन्डेसनले तथा महिला भलिबललाई नेपमार्टले प्रायोजन गरेको छ । पुरुष बास्केटबल विधालाई लक्ष्मी होम लोनले प्रायोजन गरेको छ । पावर वाईमा एएलडी कर्पाेरेट र माउन्ट इको, गोल्ड स्पोन्सरमा विग वाई क्लिनिङ सर्भिस, लुम्बिनी मिट एण्ड ग्रोसरी, गोविन्द खनाल, सिल्भर प्रायोजकमा केसी एकाउन्टिङ एण्ड टेक्सेसन सर्भिसेस रहेका छन् ।














