म्याग्दीको बेनीस्थित माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयमा बुधबार एनसिसि ( क्याडेट तालिमका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । तालिमका लागि विद्यार्थी छनोट र अभिभावकलाई तालिमको महत्व बुझाउन विशेष कार्यक्रम आयोजना गरेको हो । आगामी असार १ गतेदेखि सुरु हुने तालिम नेपाली सेनाको गुरु गोरख गुल्म अर्थुंङ्गे म्याग्दीको आयोजना र विद्यालयको संयोजन तथा व्यवस्थापनमा ७९ दिनसम्म सञ्चालन हुने भएको छ ।
यो तालिम श्री राष्ट्रिय सेवा दलद्वारा सञ्चालित जुनियर डिभिजनको ५२औं ब्याच अन्तर्गत हुनेछ । कार्यक्रममा नेपाली सेनाको गुरु गोरख गुल्म अथुङ्गेका गुल्मपति सेनानी राकेश बस्नेतले तालिमको परिचय, उद्धेश्य र यसबाट हुने फाइदाहरुका बारेमा विद्यार्थी तथा अभिभावकहरुलाई जानकारी गराउनुभएको थियो । विद्यालयका प्रिन्सिपल राजु केसीले अभिमुखीकरण कार्यक्रमले विद्यार्थी र अभिभावकलाई तालिमको उद्देश्यबारे स्पष्ट जानकारी दिएको बताउनुभयो । उहाँका अनुसार एनसिसि तालिमले विद्यार्थीलाई शारीरिक, मानसिक र सामाजिक रूपमा सक्षम बनाउने मात्र होइन, राष्ट्रप्रेम र जिम्मेवारीबोध पनि अभिवृद्धि गर्नेछ ।
कार्यक्रममा विद्यार्थी र अभिभावक दुवैको उत्साहजनक सहभागिता देखिएको थियो । विद्यार्थीहरूले तालिममा सहभागी हुने अवसरलाई गौरवको रूपमा लिएका छन् भने अभिभावकहरूले आफ्ना सन्तानको भविष्य निर्माणमा यो तालिम महत्वपूर्ण हुने बताएका छन् । एनसिसि तालिमले विद्यार्थीलाई अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास र राष्ट्रसेवाको भावना जागृत गर्ने बताइएको छ । यसले विद्यार्थीलाई समाजमा जिम्मेवार नागरिकका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ । कार्यक्रममा गुरु गोरख गुल्मका सुवेदार सुदर्शन पाण्डे, जमदार चन्द्रप्रसाद पौडेल, अमलदार पदमकुमार रोकायलगायतको उपस्थिति रहेको थियो ।














