---Advertisement---

सँगै बसेर मदिरा सेवन, गहना लुट्न हत्या, प्रमाण मेट्न जलाउने प्रयास

On: June 10, 2026 9:57 PM
Follow Us:

स‌जय रेग्मी /  जिल्लाको फलेवास नगरपालिका-५ खानीगाउँमा बस्दैै आएकी ५२ वर्षीया सन्तु भनिने सोम कुमारी नेपाली हत्या प्रकरणका अभियुक्तलार्ई प्रहरीले सार्र्वजनिक गरेकोे छ ।

गत जेठ ८ गते बागलुङको जैमिनी नगरपालिका-५ बिनामारे घर भई खानीगाउँमा बस्दै आएकी नेपालीको हत्या फलेवास नगरपालिका-५ खानिगाउँमै बस्दै आएका २८ बर्षिय कुशल पुरीले गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक विजय यादवले बताए । घटनाबारे जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलनमा उनले घटनाको सुरुवातदेखि हालसम्मका प्रगतिको बारेमा बताए ।

गत जेठ ८ गते बिहान करिब पौने ८ बजेको समयमा सोम कुमारी नेपाली आफू बस्दै आएको कोठाभित्र मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको सूचनालगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी टोली घटना स्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो ।

मृतकको टाउकोमा गहिरो चोट लागेको तथा रगत बगेको, शरीरमा, भुईँमा, बिस्तारामा मोबिल लतपतिएको, कोठाभित्र ग्याँस खुल्ला रहेको, खाटमा अण्डाको क्यारेट जलेर खरानी भएको, मृतकले कानमा लगाएका सुनका मुन्द्राहरू नरहेको, घाँटीमा सुनको जस्तो देखिने पहेलो धातुको सिक्री रहेको र औँठी रहेको अवस्था पाइएको थियो ।

लगत्तै गण्डकी प्रदेश प्रहरी कार्यालय तथा नेपाल प्रदेश प्रहरी कार्यालय पोखराबाटसमेत प्राबिधिक टोली खटिएर घटनाको अनुसन्धान थालिएको थियो । अनुसन्धानको क्रममा मृतकसँग पछिल्लो समयमा सबैभन्दा नजिक बनेका पुरीलाई प्रहरीले विशेष निगरानीमा राखेको थियो । पुरी मृतकको घरमा आईरहने, आर्थिक कारोबार गरीरहने बुझिएपछि प्रहरीको अनुसन्धान उनैतर्फ मोडिएको थियो ।

आरोपित पुरीका गतिविधिहरु शंकास्पद देखिएको र अचानक सम्पर्कविहिन भएपछि प्रहरीले उनलाई झनै कडाइका साथ पछ्याइरहेको थियो । उनी खोजतालसकै क्रममा जेठ २६ गते बिहान करिब साढे ५ बजेको समयमा पर्वतकै मोदी गाउँपालिका-५ पातिचौरस्थित होटल प्रिन्साको एउटा कोठामा लुकीछिपी बसिरहेको अबस्थामा पक्राउ परे । खानतलासीको क्रममा पुरीको साथबाट मृतकले लगाउने गरेका ८ वटा सुनका मुन्द्रा समेत बरामद भएका प्रहरी नायव उपरीक्षक यादवले बताए ।

पुरीमाथि भएको प्रारम्भिक अनुसन्धानको क्रममा आफुले सन्तुलाई कर्तव्य गरी मारेको स्वीकार गरेको प्रहरीले बताएको छ । घटनामा प्रयोग भएको बाउसो मृतकको फर्निचरमा लुकाई छिपाई राखेको भनी खुलाएको र सोही आधारमा वरामद पनि भएको छ ।

यसरी सुरु भयो घटना

गत जेठ ७ गते साँझ करिब साढे ७ बजेको समयमा कुशल मृतक सन्तुको कोठामा गएको खुलेको छ । उनीहरु दुवै जनाले रातीको करिब ११ बजेसम्म मदिरा र मासु खाए । ११ बजेपछि कुशल आफ्नो घरमा फर्किए । घरमा पुगेपछि सन्तुको शरीरमा भएका सुनका गरगहना लुट्ने योजना बुने । घरमा राखिएको श्रीमतीको नक्कली सुनको सिक्री साथमा लिएर राती २ बजे सन्तुको घरमा पुगे ।

सन्तुको फर्निचरमा प्रवेश गर्दा कोदालो फेला परेपछि त्यसलाई नै कुशलले आक्रमण गर्ने हतियार बनाए । खाटमा रहेकी नेपालीलाई पछाडीबाट कोदालोको पछाडीको भागले टाउकोमा प्रहार गरे । उनको मृत्यु भएपछि मृतकले घाँटीमा लगाएको सुनको सिक्री र कानमा लगाएका १० वटा मुन्द्राहरु निकाले । आफूले घरबाट लिई आएको सुनको जस्तो देखिने नक्कली सिक्री मृतक सन्तुलाई लगाईदिए ।

आफूले गरेको कसुर लुकाउन पुरीले सन्तुको कोठाभित्रै रहेको मोबिल सन्तुको शरीर, भुईँ तथा बिस्तारामा खन्याए । आफ्ना प्रमाणहरु मेटाउनको लागि आगोले ध्वस्त पार्ने उद्धेश्य राखेर सोही कोठामा रहेको ग्यास चुलो ‘अन’ गरे । उक्त कोठाको ढोकाको चुकुल भित्रबाट लगाए, कोठामा रहेको अण्डाको खाली क्यारेट साथमा लिएर झ्यालबाट बाहिर निस्के अनि क्यारेट बालेर झ्यालबाट नजिकै रहेको विस्तारामा राखी आफू घरतर्फ लागे ।

लुटिएका गरगहनामध्ये एउटा सुनको सिक्री र दुईवटा कानमा लगाउने मुन्द्रा पर्वतकै कुश्मा नगरपालिका-५ कुश्मास्थित दर्शनटोल बस्दै आएका स्मृती गहना उद्योगका सञ्चालक रमेश कुमार श्रेष्ठलाई बिक्री गरे । खानतलासीका क्रममा मृतकले लगाउने सुनको सिक्री र मुन्द्रा बरामद गरी श्रेष्ठलाई जेठ २६ गते पक्राउ गरिएको प्रहरीले बताएको छ । श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कुश्मा नगर कार्यसमितिका सभापति समेत हुन् ।

अभियुक्त पुरीलाई कर्तव्य ज्यान तथा डाका चोरी कसुर मुद्दामा र श्रेष्ठलाई लुटिएका गहनाहरु खरिद गरेको अभियोगमा पर्वत जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक यादवले बताए ।

Leave a Comment