आधुनिक प्रविधि र बदलिँदो जीवनशैलीलाई कलात्मक रूपमा प्रस्तुत गरिएको नकुल ढकाल र नविना ढकालको स्वरमा रहेको
म्युजिक भिडियो इन्टरनेटको जमाना छ, चिठ्ठी के पठाम को म्यूजिक भिडियोले छोटो समयमा चर्चा कमाएको छ ।
म्याग्दीको सदरमुकाम बेनी नगरपालिका–८,स्थित क्याम्पचोकका रचनाकार एवम् गायक नकुल र अष्टेलियामा रहेकी छोरी नविनाको स्वर तथा संगीतकार बसन्त थापाको संगीत र प्रशान्त मगरको निर्देशनमा तयार गरिएको गीतले चिठीपत्र, दुरसञ्चार सेवामार्फत प्रेम सम्बन्धको संवादमा केन्द्रित छ । पछिल्लो समयको बिलासी जीवनशैलीलाई समेत समेट्न प्रयास गरेको गीतले आधुनिकतामा रमाइरहेको समाजलाई मौलिकताको झल्को दिने प्रयास गरेको छ ।
गीतका रचनाकार एवम् गायक ढकालले आफ्नो जन्मभूमी बागलुङ बलेवामा छायांकन गरेको गीतमा प्रदेशमा रहेकी छोरीसँगको सहकार्यमा सांगीतिक कोशेली पस्कीन पाउँदा निकै खुसी लागेको बताउनुभयो ।
२१ औँ शताब्दीमा इन्टरनेट र स्मार्टफोनको आगमनले प्रेमीकाको रोजाइ, सञ्चार र प्रेम गर्ने शैलीलाई कसरी बदलिदियो भन्ने कुरालाई यस गीतमा मुख्य विषयवस्तु बनाइएको गायक ढकालको भनाई छ । म्यूजिक भिडियो ४ लाखभन्दा बढीले यूटुवमा हेरेका छन् भने डिजिटल प्लेटफर्महरूमा समेत निकै भाइरल छ । हरिकृष्ण गौतम










