---Advertisement---

रघुगंगा गाउँपालिका : रोजगार प्रवद्र्धनसँगै अस्थायी र ज्यालादारीलाई सामाजिक सुरक्षा सुविधा

On: June 15, 2026 1:39 PM
Follow Us:

हरिकृष्ण गौतम
रघुगंगा गाउँपालिकामा ‘राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रम’ अन्तरगत चालु आर्थिक वर्ष २०८२÷०८३ मा १ हजार २८ जना बेरोजगार व्यक्ति सूचीकृत भएका छन् । गाउँपालिकाभित्र बेरोजगार, रोजगारीको खोजीमा रहेका, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई लक्षित गरी सञ्चालित गरिएको कार्यक्रमबाट पुरूष ५ सय ५७ र महिला ४ सय ७१ जना सूचिकृत भएकोमा तीमध्ये तीनवटा योजनामा ९५ दिनको रोजगारी दिइने छ ।

AI Photo

रोजगार सेवा केन्द्रकी प्रमुख पवित्रा भण्डारीका अनुसार वडा कार्यालयमार्फत सबैजसो वडामा सडक सोलिङ, ढलान तथा पदमार्ग निर्माण गरिएको छ । वडा कार्यालयबाट गरिएको मागमा अधिकांस भौतिक पूर्वाधार अन्तरगत कुल ६७ लाख ४४ हजार बजेटमा ८ वटै वडामा ११ योजना सम्झौता भएकोमा जेठ महिनाको मसान्तसम्म २० लाख २२ हजार बराबरको ३ वटा योजनामा भुक्तानी गरिएको छ भने बाँकी योजनाहरूको निर्माणकार्य भइरहेको छ भने भूक्तानीको प्रक्रियामा रहेको छ । ८ वटा योजनाको काम धमाधम भइरहेको अवस्थामा लाभान्वित हुनेको संख्या धेरै रहेको रोजगार शाखा प्रमुख भण्डारीले बताइन् ।‘


हरेक योजनामा न्यूनतम १० जनाभन्दा बढी जनशक्ती हुन्छ, स्थानीयलाई रोजगारीका लागि यो कार्यक्रमले सहज भएको छ,समुदायको सहभागिताले अपनत्व समेत बढेको छ’ शाखा प्रमुख भण्डारीले भनिन् । गत आवमा १ सय २८ जना रोजगार प्रदान गरिएकोमा यस आवमा पनि असार महिनासम्म सोही संख्यामा पुग्ने अनुमान गरिएको छ । गाउँपालिकाबाट विनियोजन हुने बजेटबाट स्थानीयले लाभ लिने कार्यक्रम समेत भएकाले मेसिन भन्दा स्थानीय औजारको प्रयोग गरी गोरेटो बाटोसहितको पदमार्गको विस्तार समेत गरिएको छ ।


कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेल, वडाअध्यक्षसहित प्राविधिक टोलीले अनुगमन समेत गर्ने गरेको छ । गाउँपालिकाभित्र चालु आर्थिक वर्षमा पूर्वाधार क्षेत्रका योजनामा सडकका अफ्ठारा घुम्ती ढलान तथा उकालो सडकमा सोलिङ, सुख्खा पर्खाल निर्माणसहित गोरेटो बाटोमा खर्च गरिएपनि आगामी आर्थिक बर्ष २०८३÷०८४ सालमा उत्पादन हुने क्षेत्रलाई लक्षित गरी कार्यक्रमको तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाई छ ।

‘उद्यमशीलता विकास गर्ने कार्यक्रम सञ्चालन गरिने छ, उत्पादनमा आधारित सीप सिकाई रोजगारमा केन्द्रित भएर पलायन रोक्ने योजना छ’ पौडेलले भने । उनका अनुसार हरेक वडाभित्र माटो सुहाउँदो उत्पादनलाई प्राथमिकता दिएर वैदेशिक रोजगारीबाट फर्किएका गाउँपालिकाबासीको सीप, पुँजी, अनुभव तथा प्रविधिको उपयोगमार्फत उद्यमशिलतामा आर्कषित गर्नुपर्ने अवस्था रहेको बताए ।


ज्यालाका लागि मात्रै आएको रकममा बस्तीमा आवश्यकता अनुसार वडा कार्यालयको बजेटको समेत प्रयोग गरी कार्यान्वयन प्रभावकारी बनेको उनले बताए । स्थानीयस्तरमा गरिब तथा विपन्नलाई रोजगारमा प्राथमिकता दिने गरिएको रोजगार कार्यक्रमका प्राविधिक पुजन चोखालको भनाई छ । रघुगंगा–१, बेगखोलाका करण तिलिजाले राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रमबाट घरायसी काम तथा फुर्सदमा रहेका स्थानीयले रोजगारी पाएपछि खुसी भएको बताए ।

४८ मिटर सोलिङ, गोरेटो बाटो, सुख्खा वाल निर्माण गरिएको बताए । रघुगंगा–४, दग्नामका कुमार पाइजाले सिमित बजेटमा पनि गाउँघरमा रहेका समस्या समाधानका लागि सहज भएको बताए ।


उनले आगामी बर्षमा भौतिक पूर्वाधारमा समुदायको सहभागिता बढाउन तथा पलायन रोक्न बजेटको आकार बढाउनुपर्ने बताए । उनले गाउँघरमा प्रयोग हुने बाटो गुणस्तरीय बनाउन समुदायकै सीप प्रयोग गर्नुपर्ने बताए । राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रममा स्थानीय महिलाका साथै वैदेशिक रोजगारीबाट फर्किएकाको समेत प्रत्यक्ष सहभागिता रहेको छ।

यो कार्यक्रमले बेरोजगार र आंशिक रोजगारीको संख्या पहिचानसहित स्वरोजगारको अवस्थाका बारेमा बुझ्न सजिलो भएको छ । राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रममा भौतिक पूर्वाधारलाई रोकेर स्थायी रोजगारको आधारहरु पहिचान गरी कम्तीमा ३ सय ९० घण्टाको व्यावसायिक तथा सीप विकास तालिम सञ्चालन गर्न गरिनेछ भने तालिम सञ्चालन गर्दा सैद्धान्तिक र व्यवहारिक दुवै विषय समावेश गर्नु पर्ने निर्देशिकामा व्यवस्था छ ।


गाउँपालिकाका सबै अस्थायी र ज्यालादारी कर्मचारीलाई सामाजिक सुरक्षा सुविधा
रघुगंगा गाउँपालिकाले सामाजिक सुरक्षा कोषमा ७० जना अस्थायी करार र ज्यालादारी श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराएको छ । गाउँपालिकाका करार कर्मचराीले खाइपाई आएको तलबको कम्तीमा ६० प्रतिशतलाई आधारभूत तलब मानी त्यसको २० प्रतिशत रोजगारदाता र ११ प्रतिशत श्रमिकको तर्फबाट कोषमा जम्मा गरिनेछ ।

सामाजिक सुरक्षा कोषले कर्मचारीबिचको विभेदलाई न्यूनिकरण गरेको छ भने सेवामा सम्मान मिलेको छ ।सरकारी कोषबाट तलब सुविधा पाउने करार र ज्यालादारी श्रमिकमा स्वास्थ्य तथा वडा कार्यालयमा रहेका कर्मचारी समेत छन् । गाउँपालिकामा करार र ज्यालादारी कर्मचारीलेसेवामा वर्षौंसम्म काम गरेर रित्तो हात घर फर्किने अवस्थालाई अन्त्य गरेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।


गाउँपालिका भित्र कार्यरत कर्मचारीको कामको सम्मानमा समेत कोषले सहज भएको अध्यक्ष भण्डारीको भनाई छ । करारमा सेवारत कर्मचारीलाई कोषको योजनामा आबद्धताले सेवामा समेत आर्कषण बढ्ने अनुमान गरिएको छ ।

कोषमा नियमित रूपमा योगदान गर्ने योगदानकर्तालाई १ लाखसम्मको औषधोपचार, महिला योगदानकर्ताको हकमा न्यूनतम आधारभूत पारिश्रमिकको ९८ दिनसम्मको साठी प्रतिशतले हुन आउने रकम बराबरको प्रसूति सुविधा, शिशु स्याहारबापत प्रतिशिशु एक महिनाको न्यूनतम आधारभूत पारिश्रमिक बराबरको रकम उपलब्ध गराइने व्यवस्था छ।

त्यसैगरी दुर्घटनामा ७ लाखसम्मको उपचार खर्च, स्थायी असक्षमताको हकमा न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशतले हुन आउने रकमका साथै योगदानकर्ताको मृत्यु भएमा निजको आश्रित परिवारलाई पेन्सन सुविधा, अन्तिम संस्कार खर्चबापत २५ हजार रुपैयाँ र सन्तानको हकमा २१ वर्षसम्म शैक्षिक वृत्ति पाउने व्यवस्था समेत रहेको छ ।

Leave a Comment