---Advertisement---

म्याग्दीका शिक्षाप्रेमी शिवनारायण फगामी ‘शिक्षा सेवा पुरस्कार’बाट अभिनन्दित

On: June 15, 2026 12:01 PM
Follow Us:

म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मालिका गाउँपालिकाको केन्द्र दरबाङका शिक्षाप्रेमी तथा समाजसेवी शिवनारायण फगामी एक विशेष कार्यक्रमका बीच अभिनन्दित हुनुभएको छ।

बेनी नगरपालिका वडा नं. ७, बेनी बजारमा अवस्थित प्रकाश माध्यमिक विद्यालयका जग्गादाता लक्ष्मीप्रसाद श्रेष्ठ र पुतलीदेवी श्रेष्ठ (दम्पती) को स्मरणमा स्थापित ‘पुतलीदेवी लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान’ ले फगामीलाई ‘शिक्षा सेवा पुरस्कार–२०८२’ समर्पणसहित अभिनन्दन गरेको हो।

दरबाङको जनप्रिय माविमा आयोजित एक समारोहका बीच प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार श्रेष्ठ, संस्थापक सदस्यहरू अजयमिलन, सृजना र विनय श्रेष्ठद्वारा उहाँलाई दोसल्ला ओढाई सम्मान-पत्र र पुरस्कार राशिसहित अभिनन्दन गरिएको थियो। सम्मानित शिवनारायण फगामी दरबाङस्थित जनप्रिय माध्यमिक विद्यालयका पूर्व शिक्षक समेत हुनुहुन्छ। उहाँका पिता दिवङ्गत क्याप्टेन करवीर फगामीले म्याग्दीको शैक्षिक इतिहासमा ठूलो गुन लगाउनुभएको थियो।

वि. सं. २०५८ सालको भीषण वर्षात् र पहिरोका कारण साविकको जनप्रिय माध्यमिक विद्यालयको भवन पूर्ण रूपमा क्षतिग्रस्त भई संकटमा परेको थियो। त्यस कठिन समयमा विद्यालयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा क्याप्टेन करवीर फगामीले उपल्लो दरबाङमा आफ्नो स्वामित्वमा रहेको बहुमूल्य जग्गा निःशुल्क दान गरेर शैक्षिक संकट टार्नुभएको थियो।

सोही जग्गामा हाल जनप्रिय माध्यमिक विद्यालयको आधुनिक भौतिक पूर्वाधारहरू निर्माण भई यस क्षेत्रकै एक अग्रणी शैक्षिक संस्थाको रूपमा सञ्चालन भइरहेको छ। दुई दशक लामो समयसम्म शिक्षण पेसामार्फत हजारौँ विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुभएका शिवनारायण फगामी शिक्षण सेवाबाट निवृत्त भएपछि पनि निरन्तर रूपमा म्याग्दीको शिक्षा क्षेत्रको विकास, भौतिक पूर्वाधार निर्माण र विभिन्न सामाजिक रूपान्तरणका अभियानहरूमा सक्रिय रहँदै आउनुभएके थियो। फगामी हाल पक्षघात रोगसँग मुकाबिला गर्दै आउनुभएको छ।

आफ्ना पिताको परोपकारी भावनालाई जीवित राख्दै समाजमा पुर्‍याउनुभएको सोही अतुलनीय योगदानको कदरस्वरूप प्रतिष्ठानले उहाँलाई गत वर्षको ‘शिक्षा सेवा पुरस्कार’ प्रदान गरेको प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार श्रेष्ठले बताउनु भएको छ।

अभिनन्दन कार्यक्रममा जनप्रिय माविका प्रधानाध्यापक दिवाकर सुवेदीले शिक्षाप्रेमी फगामी र वहाँका पिताले शिक्षाको उज्यालो फैलाउन गरेको त्यागको प्रशंसा गर्नुभयो। उहाँले ‘पुतलीदेवी लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान’ प्रति आभार व्यक्त गर्दै यो सम्मानले सामाजिक सेवा र शैक्षिक विकासका कार्यमा समर्पित समाजसेवीहरूलाई थप ऊर्जा र प्रेरणा मिलेको धारणा व्यक्त गर्नुभयो।

सुवेदीले प्रकाश माविका जग्गादाता श्रेष्ठ दम्पतीको स्मृतिमा स्थापित प्रतिष्ठानले दरबाङका जग्गादाता फगामी परिवारका सदस्यलाई सम्मान गरेर जिल्लाका दुई ऐतिहासिक शैक्षिक धरोहर र दाताहरूबीच आपसी सद्भाव र सम्मानको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताउनुभएको थियो।

Leave a Comment