म्याग्दीको धौलागिरि गाउँपालिका–३ मुना स्थित फलिया गाउँबाट मुना तर्फ जाँदै गरेको टिप्पर दुर्घटना हुदाँ चालक गम्भीर घाईते भएका छन् । ढुङ्गा लिएर आउँदै गरेको सिम्रण कन्स्ट्रक्सनको ग १ क ३९९८ नम्बरको टिप्पर दुर्घटनामा कास्की घर भएका चालक ४० वर्षीय पूर्णबहादुर श्रेष्ठ गम्भीर घाइते भएको सूचना अधिकारी सागर तिमिल्सिनाले बताउनुभयो ।
दुर्घटनामा घाईते चालकको बायाँ खुट्टा, ढाड तथा टाउकोमा चोट लागेको छ। त्यस्तै टिप्परमा सवार मकवानपुर मनहरी नगरपालिका–९ निवासी ३५ वर्षीय असिम प्रजा सामान्य घाइते भएका छन्। घाइतेलाई प्रारम्भिक उपचारका लागि मुना स्वास्थ्य चौकी लगिएको र थप उपचारका लागि प्रदेश अस्पताल बेनी पठाइएको धवलागिरी गाउँपालिकाका प्रबक्ता देविन्द्र रोकाले जानकारी दिनुभयो । घटनास्थलमा स्थानीयहरुले उद्धार गरेका थिए । दुर्घटनाग्रस्त सवारी साधन घटनास्थलमै रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।







