हरिकृष्ण गौतम
म्याग्दीको रघुगंगा गाउँपालिका-२,भगवतीका गोपाल शर्माले गाउँपालिकाको रोजगार सेवा केन्द्रबाटै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति (रि–इन्ट्री) गरे । घर विदामा आएका शर्माले काठमाण्डौमा गएर वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति गर्नुपर्ने झन्झटबाट मात्रै मुक्त भएनन्, केही दिन घरमै बस्ने र आर्थिक समेत बचत भयो । यूरोपेली देश रोमानियाबाट घर आएका रघुगंगा–२ भगवतीकै हिराबहादुर भण्डरीले गाउँपालिकाबाट सजिलै पुनः श्रम स्वीकृति गरे ।

शर्मा र भण्डारीजस्ता चालु आर्थिक बर्ष २०८२÷०८३ मा ३१ जनाले वैदेशिक रोजगारीमा रहेका स्थानीयले गाउँपालिकाबाटै सेवा लिएका छन् । बार्षिक ५० जनाभन्दा बढी लाभान्वित भएका छन् । घर विदामा आएको बेलामा पुनः श्रम स्वीकृतिका लागि काठमाण्डौ धाउनुपर्ने, आर्थिकसँगै समयको बचत हुने भएपछि गाउँपालिकाबाटै यो सेवा लिन पाउँदा निकै सहज महसुस गरेका छन् ।

‘केहीदिन भएपनि घरपरिवारसँगै बस्न पाइन्छ भन्दै खुसी हुनुहुन्छ,सबै कागजात भएकाहरूको २४ घण्टामै काम हुन्छ’ रोजगार सेवा केन्द्रकी प्रमुख पवित्रा भण्डारीले भनिन् । उनले गाउँपालिकाभित्र यो सेवाका बारेमा जानकारी लिन आउनेहरूलाई त्यहाँ रहेका गाउँपालिकाबासीको अवस्था र समस्याका बारेमा समेत जानकारी लिने गरिएको शाखा प्रमुख भण्डारीको बताइन् ।

श्रम स्वीकृति लिने व्यक्तिले राहदानी, एकप्रति पासपोर्ट साइजको फोटो, पारिवारिक विवरण, बैंक खाता, व्यक्तिगत इमेल, सम्पर्क नम्बर, रोजगारदाताले दिएको सम्झौतापत्र, राहदानीको प्रतिलिपिसहित रोजगार शाखामा निःशुल्क अनलाइन आवेदन दिन सकिने भण्डारीको भनाई छ ।वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्था अनुसार वैदेशिक रोजगारीमा जाने हरेक नेपाली नागरिकले अनिवार्य श्रम स्वीकृति लिनु पर्ने व्यवस्था छ।
गाउँपालिकामै पुनः श्रम स्वीकृतिले समय र पैसाको पनि बचत परिवारसँगको बसाई लम्बियो
वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा पाउँदा खुसी भएकाले सेवालाई थप सहजता तथा वडातहसम्म प्रचारप्रसार गर्ने गरिएको छ । नागरिकको पैसा,समयको बचत हुनुका साथै राज्यको माथिल्लो तहले प्रदान गर्दै आएको सेवा सुविधा स्थानीय तहमा आउनु सकारात्मक पक्ष रहेको बताउँदै थप प्रभावकारी बनाउनपर्ने कतारमा रहेका तिलु शर्मा पौडेलले बताए । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दोे तथा सहज बनाउन वैदेशिक रोजगारीमा जानेहरुका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आगामी बर्षमा झनै प्रभावकारी बनाउने बताए ।

‘बैदेशिक रोजगारीमा रहेका गाउँपालिकाबासीको समाज बनाउन अतुलनीय योगदान छ,उहाँहरूको सहजताका लागि फर्किएपछि समेत रोजगारीको वातावरणसहितका कार्यहरूमा निरन्तर काम गरिरहेका छौ’ अध्यक्ष भण्डारीले भने ।उनले गाउँपालिकाबाट उपलब्ध हुने सेवाहरूले केही दिन भएपनि घरमै बसेर सिधै एयरर्पोेटबाट जान सक्ने वातावरण बनेको बताए ।
बैदेशिक रोजगारीमा समस्यामा परेकालाई उद्धार, राहत तथा क्षर्तीपूतिका कार्यहरूमा समेत गाउँपालिकाबाट समेत आप्रवासी सेवा केन्दसँग सहकार्य समेत गरिएको अध्यक्ष भण्डारीको भनाई छ । गाउँपालिकाले वितरण गर्ने अनुदानमार्फत घरपरिवारलाई कृषि, पर्यटन तथा अन्य उद्यमशिताका कार्यक्रमहरूमा जोडेर समेत बैदेशिक रोजगारीबाट फर्किने वातावरण बनाइरहेको अध्यक्ष भण्डारीको भनाई छ ।
”बैदेशिक रोजगारीमा जाँदा समस्यामा पर्नुभयो,एकपटक गाउँपालिकालाई सम्झिनुहोला”
माल्टामा सडक दुर्घटनामा ज्यान गुमाएका रघुगंगा–६,झिँका खिमबहादुर पुनको श्रम स्वीकृतिको अवधि समाप्त भएको तीन महिना वितेको थियो । रोजगारीको क्रममा समाप्त हुनु अगावै आफू कार्यरत मुलुकाबाट श्रम स्वीकृति नवीकरण गर्नुपर्नेमा पुनको नविकरण नभएपछि क्षर्तीपूर्ति सहितका प्रक्रियाहरू रोकिएको थियो ।
गाउँपालिकामा रोजगार सेवा केन्द्रको स्थापना भएपछि मृतक पुनको बिमाबापतको रकमका लागि प्रक्रिया अगाडी बढेको छ । श्रम स्वीकृति नवीकरण नगरेको अवस्थामा वैदेशिक रोजगारीमा रहँदा मृत्यु भएकाले २५ लाख क्षर्तीपूर्ति गुमेपनि बिमा तथा अन्य राहतका कार्यहरूलाई प्रक्रियागत रूपमा अगाडी बढाइएको छ ।
श्रम स्वीकृतिको अवधि सकिएपछि विदेशमा कुनै पनि कारणले मृत्यु भएमा वा गम्भीर बिरामी भएमा कानुन बमोजिम वैदेशिक रोजगार कल्याणकारी कोषको रकम र बीमवापतको रकम दाबी गर्न नसकिने अवस्था रहेको शाखा प्रमुख पवित्रा भण्डारीको भनाई छ।रघुगंगा–२ का प्रकाश बरुवालको रोजगारकै क्रममा नसा च्यापिएपछि क्षर्तीपूर्तिबापत ७ लाखका लागि प्रक्रियामा रहेको गाउँपालिकाको रोजगार सेवा केन्द्रले जनाएको छ ।

गाउँपालिकाले “आप्रवासी स्रोत केन्द्र बेनी र सम्बन्धित देशमा रहेको मोनामार्फत समस्यामा परेकालाई उद्धार तथा राहतको प्रक्रिया अगाडी बढाएको गरेको प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले बताए । ‘गैरकानुनी रुपमा बस्नेहरूलाई दुर्घटना भएमा राहत ब्यवस्थापनमा समस्या हुने देखिएको छ, श्रमिकका परिवारले पाउने कल्याणकारी सेवा सुविधा उपभोग गर्न नपाएको अवस्थामा गाउँपाकिलाका सेवा लिन आउनेलाई श्रम स्वीकृतिको अवधि समाप्त हुनु अगावै नवीरण गर्न आग्रह गर्ने गरेका छौ’ पौडेलले भने ।

उनका अनुसार आफ्नो श्रम स्वीकृतिको म्याद रहे÷नरहेको व्यहोरा वैदेशिक रोजगार विभागको वेभसाइटमा गई जाँच गर्न सकिन्छ। म्याद समाप्त भएको वा हुने अवस्थामा रहेको श्रम स्वीकृति नवीकरणले आफ्नो र परिवार दुबैलाई सहज हुन्छ । श्रम स्वीकृतिको म्याद सकिएको अवस्थामा गैरकानुनी बसाईबाट कानुनी भमेलामा पर्न सकिने भएकाले सचेत हुन समेत अनुरोध गरिएको पौडेलले बताए । गाउँपालिकाबाट बैदेशिक रोजगारीमा गएर समस्यामा परेकालाई सम्पर्कमा आउन समेत अनुरोध गरिएको छ ।
वैदेशिक रोजगारीमा जानुअघि, विदेशमा काम गर्दा र फर्कंदा आइपर्ने कानुनी ज्ञान र विधिका बारेमा जानकारी गराउनाका साथै ठगी, उद्धार, राहत, विदेशबाट शव ल्याउन, क्षतिपूर्ति र बीमा सुविधाका लागि सहजीकरण गाउँपालिकाबाटै हुने गरेको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा रहेको आप्रवासी सहायता कक्ष वैदेशिक रोजगारसम्बन्धी समस्यामा परेका ठगिएका, विदेशमा अप्ठ्यारोमा पर्नेलगायत वैदेशिक रोजगारसम्बन्धी समस्यामा परेकाका लागि सहायता कक्षले धेरै सहजता प्रदान गरेको छ ।
वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउन श्रम तथा रोजगार मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी सहायता कक्ष स्थापनाले समेत सबै स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई सहजीकरण र सहयोग गर्ने गरेको छ। एकपटक श्रम स्वीकृति लिई विदेशमा रोजगारीमा गएपछि श्रम स्वीकृतिको अवधि कायमै रहेको अवस्थामा नेपालमा फर्की पुनः सोही मुलुकको सोही काममा जाँदा पुनः श्रम स्वीकृति लिनु नपर्ने तर एकपटक लिएको श्रम स्वीकृतिको अवधि समाप्त भएपछि पुनःविदेशमा रोजगारीको लागि जानुपरेमा श्रम स्वीकृति नवीकरण गर्नुपर्ने व्यवस्था छ।
”साबुन बनाउने तालिमद्वारा आत्मनिर्भरताको खोजी”
रघुगंगा गाउँपालिकाले वडास्तरमै आर्थिक रुपमा आत्मनिर्भर बनाउन सावुन बनाउने तालिम दिएको छ ।बजारबाट सावुनको आयात रोक्दै स्थानीयस्तरमा उत्पादन हुने तालिम दिइएको हो । उपाध्यक्ष महिला सशक्तिकरण तथा महिला उद्यमशिलता प्रोत्साहन कार्यक्रम सीप विकास तालिम सञ्चालन गरिएपछि अहिले गाउँमै सावुन उत्पादन सुरू भएको छ ।

चालु आर्थिक बर्ष २०८२÷०८३ सालमा वडा नं १ तिप्ल्याङ, वडा नं ४ दग्नाम, वढा नं ६ पाखापानीमा प्रति वडा २ लाख रुपैयाँ बजेट विनियोजन गरी तालिम सम्पन्न भएको गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारुी पुनले बताइन् ।‘तालिमपछि गाउँमा उत्पादन सुरू भएको छ,स्थानीयको उत्पादनलाई बजारीकरणका लागि आवश्यकता परेमा सहयोग गर्नेछौ’ उपाध्यक्ष पुनले भनिन् ।
व्यावसायिक रुपमा उत्पादन गरिएको सावुन गाउँपालिका तथा सदरमुकाम बेनीबजारमा बिक्री समेत गरिएको छ ।महिलालाई आयआर्जनमूलक क्षेत्रमा अब्बल बनाउन सावुनसहित ग्रामिण क्षेत्रमा सञ्चालन गर्न सकिने तालिमलाई प्राथमिकता दिएको बताउँदै आगामी बर्ष बिक्रीका लागि सहयोग गरिने बताइन् ।

उत्पादन गरिएको साबुनको बिक्रीका लागि सहज होस् भनेर वडा कार्यालय, स्वास्थ्य चौकी,सामुदायिक विद्यालय तथा निर्माणधिन अवस्थामा रहेका जलविद्युत आयोजना सहित अन्य गैरसरकारी संस्थालाई अनिवार्य रूपमा गाउँमै उत्पादन गरेको साबुन प्रयोग गर्नुपर्ने बताइन् । फुर्सदको समयलाई साबुन बनाउनमा सदुपयोग गर्न थालेको रघुंगंगा–१,बेगखोलाका बेगबहादुर तिलिजाले बताए । ‘अहिले उत्पादन गरेकै सावुन बाँकी छ, सकिएलगत्तै फेरी बनाएर बिक्री गछौं,् सावुन बनाउनका लागि धेरै समय र खर्च नलाग्ने तर आम्दानी भने गर्न सकिन्छ’ तिलिजाले भने ।

कोटगाउँकी यामकुमारी शेरपुञ्जा मगरले सीप नसिक्दासम्म अलमलमा परेको अवस्थामा तालिम र आवश्यक कच्चा पदार्थ प्राप्त गरेपछि सहज भएको बताइन् । ‘हातमा सिप भयो भने महिला अरूको भरमा निर्भर रहनु पर्दैन,कम लगानीमा साबुन उद्योग सञ्चालन गर्न सकिन्छ’ महिला उद्यमी शेरपुञ्जाले भनिन् । गाउँपालिकामा यसबर्ष झिँ सहित ४ वडामा सावुन बनाउने तालिम सञ्चालन गरिएको रोजगार तथा लघुउद्यम सेवा केन्द्रकी प्रमुख भण्डारीले बताइन् ।

आगामी आवमा थप वडासहित महिला उद्यमीलाई लक्षित गरी तालिमसहितका कार्यक्रमहरू समेत वडाबाट प्रस्ताव गरिएको छ । स्थानीयले तयार गरेको सावुन र हार्पिक बजारमा पाइनेभन्दा सस्तो र गुणस्तर समेत रहेको बताइएको छ । गाउँपालिकाले आयआर्जनका लागि विभिन्न उद्यमशिलता तालिम समेत सञ्चालन गर्ने गरेको छ ।

”स्थानीय उत्पादनको बजारीकरणमा रघुगंगा गाउँपालिकाको पूर्णसाथ छ”
उपाध्यक्ष महिला सशक्तिकरण तथा महिला उद्यमशिलता प्रोत्साहन कार्यक्रममार्फत उत्पादन गरिएको सामानलाई गाउँपालिकाभित्र बिक्रीसहित बजारीकरणमा समेत सघाउने गरी पहल गरिएको छ ।
बैदेशिक रोजगारीबाट फर्किएका, बेरोजगार तथा महिला उद्यमीलाई लक्षित गरी सञ्चालन गरिएको विभिन्न स्वारोजगारमुलक तालिमलाई तालिममै सिमित नगर्ने गरी नवीनतम ज्ञान, सीप, सोच र सिर्जनशीलता प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाले स्थानीयस्तरमै सावुनसहित घरेलु सामान उत्पादन गर्ने उद्योग स्थापना गरी पहिलो प्राथमिकता बजारीकरण रहेको गाउँपालिका उपाध्यक्ष पुनको भनाई छ ।

स्थानीयस्तरमा उद्योग स्थापनाका लागि तालिमसहित आवश्यक उपकरण तथा कच्चा सामाग्री ब्यवस्थापन, बिक्री वितरणमा सहजीकरणका साथै संरचना बनाउन समेत सहयोग गर्ने गाउँपालिकाको नीति रहेको छ ।
गाउँपालिकाभित्र रहेका विपन्न समुदायलाई घरेलु सीप सिकाएर आयआर्जनसँग जोड्ने लक्ष्य गरी वडास्तरबाट भइरहेको मागहरूलाई समेत सम्बोधन गरिएको छ । संघीय, प्रदेश सरकारसँग लागत साझेदार गरी स्थानीय स्रोत र सीपको प्रवद्र्धन गरी उद्यमशीलता विकास गर्ने नीतिअन्तर्गत गाउँपालिकाले आगामी बर्षमा उत्पादनसँग जोडिएका कार्यहरू गर्ने योजना रहेको छ ।
घरायसी काममा सीमित महिला उद्यमी तथा विभिन्न सीप भएकालाई सिकाई रोजगारमा जोड्ने कार्यक्रमहरू प्रभावकारी समेत देखिएका छन् । उपाध्यक्ष महिला सशक्तिकरण तथा महिला उद्यमशिलता प्रोत्साहन कार्यक्रममा वडाबाट माग गरिएअनुसार बजेट विनियोजन गरिन्छ भने तालिम सम्पन्न भएपछि उत्पादन र बजारीकरणको अनुगमनमा समेत ध्यान दिने गरेका छौ ।








