---Advertisement---

अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि-पर्यटन र पूर्वाधारमा जोड

On: June 24, 2026 8:37 PM
Follow Us:

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ६१ करोड १४ लाख ६९ हजार रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ। बुधबार पोखरेबगरमा सम्पन्न गाउँसभाको २३औँ अधिवेशनले बजेट अनुमोदन गरेको हो। बजेटले शैक्षिक सुधार, कृषि व्यवसायीकरण, पर्यटन प्रवर्द्धन, स्वास्थ्य सेवामा पहुँच विस्तार, आर्थिक तथा सामाजिक विकास, पूर्वाधार निर्माण, वातावरण संरक्षण तथा प्रविधिमैत्री सुशासनलाई प्रमुख प्राथमिकतामा राखेको छ।

कुल बजेटमध्ये चालुतर्फ ४५ करोड ८६ लाख २ हजार रुपैयाँ (७५ प्रतिशत) र पुँजीगततर्फ १५ करोड २८ लाख ६७ हजार रुपैयाँ (२५ प्रतिशत) विनियोजन गरिएको छ। विषयगत शाखाबाट प्रस्तावित कार्यक्रम तथा योजनाका लागि ५ करोड ४४ लाख ६७ हजार रुपैयाँ, गाउँपालिकाको प्रशासनिक खर्च तथा कार्यक्रम कार्यान्वयनका लागि २३ करोड ११ लाख ४० हजार रुपैयाँ तथा वडा कार्यालयहरूको सिफारिसका आधारमा सञ्चालन हुने विकास आयोजना तथा कार्यक्रमका लागि ८ करोड ३६ लाख रुपैयाँ विनियोजन गरिएको छ।

आयतर्फ संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान र राजस्व बाँडफाँडमार्फत ५२ करोड ९८ लाख ५६ हजार रुपैयाँ, प्रदेश सरकारबाट अनुदान तथा राजस्व बाँडफाँडमार्फत २० करोड ४२ लाख ६ हजार रुपैयाँ, गाउँपालिकाको आन्तरिक आयबाट २ करोड ५० लाख रुपैयाँ तथा बैंक मौज्दातबाट ९ करोड १२ लाख ९० हजार रुपैयाँ परिचालन गरिने उपाध्यक्ष दिवा तिलिजा पुनले जानकारी दिनुभयो। चालु आर्थिक वर्ष २०८२÷०८३ को जेठ मसान्तसम्म गाउँपालिकाले कुल विनियोजित बजेटमध्ये ३० करोड १७ लाख ३६ हजार रुपैयाँ (४९.१४ प्रतिशत) खर्च गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेका अनुसार यस अवधिमा चालु खर्च २२ करोड ५२ लाख ७५ हजार रुपैयाँ (५९.६८ प्रतिशत) र पुँजीगत खर्च ७ करोड ६४ लाख ६१ हजार रुपैयाँ (३२.३२ प्रतिशत) रहेको छ।अधिवेशनमा गाउँपालिका अध्यक्ष भारतकुमार पुनले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नीतिमा भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै सुशासन प्रवर्द्धनमा जोड दिइएको छ। कृषि क्षेत्रलाई उत्पादनमुखी र व्यावसायिक बनाउन स्थानीय रैथाने बाली संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गरिने तथा वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलतामा आकर्षित गर्न ‘बिउ पुँजी’ कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ।पर्यटन प्रवर्द्धनतर्फ पुनहिल र तातोपानी क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने भएको छ।

साथै पदमार्गमा यात्रा गर्ने पर्यटक तथा पदयात्रीको सुविधाका लागि हेल्थ डेस्क स्थापना गर्ने नीति लिइएको छ। शिक्षा र स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखिएको छ। विद्यालय खाजा कार्यक्रमलाई थप प्रभावकारी बनाइने तथा महिलाको स्वास्थ्य अवस्थाको परीक्षणका लागि विशेष स्वास्थ्य शिविर सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।गाउँपालिकाले विगतदेखि अधुरा रहेका विकास आयोजना तथा योजनालाई सम्पन्न गर्दै ‘समृद्ध अन्नपूर्ण’ निर्माणको लक्ष्य हासिल गर्ने संकल्प व्यक्त गरेको छ।

Leave a Comment