---Advertisement---

अखण्ड योगको खण्डित बुझाई

On: June 24, 2026 12:24 PM
Follow Us:

महाकवि कालिदास भन्नुहुन्छ, शरीरमाद्यं खलु धर्म साधनम् अर्थात् धर्म प्राप्तिका लागि शरीर एउटा सर्वोत्तम साधन हो । उदाहरणका लागि, हामीले मुक्तिनाथधाम जाने योजना बनायौं भने यात्रा सुरु गर्नुअघि हामी चढ्न लागेको गाडीको अवस्था र कन्डिसनबारे जानकारी लिन चाहन्छौं। किनभने सुरक्षित र सहज यात्राका लागि गाडीको अवस्था बुझ्नु आवश्यक हुन्छ । अनि मात्र हामीले निर्णय लिन्छौं । यदि गाडीको कन्डिसन खराब छ भने हामी त्यस गाडीमा सवार गर्दैनौं किनकी त्यस गाडीले हामीलाई मुक्तिनाथ पु¥याउन सक्दैन । हामी मुक्तिनाथ सकुशल पुग्नका लागि गाडीको कन्डिसन राम्रो हुनुपर्छ ।

ठीक त्यसैगरी एउटा साधकले आफ्नो गन्तव्यसम्म सकुशल पुग्नका लागि सर्वप्रथम उसको शरीरको कन्डिसन एकदम राम्रो हुनुपर्छ अर्थात् उसको शारीरिक अवस्था तन्दुरुस्त हुनुपर्छ । अनि मात्र साधक गन्तव्यमा पुग्न सक्छ । यदि साधकले जतिसुकै महान लक्ष्य निर्माण गरोस् तर उसको शरीर रोगग्रस्त, विकारग्रस्त छ भने त्यो साधक कहीं पुग्न सक्दैन । यसकारण साधकको पहिलो शर्त हो स्वस्थ शरीर । स्वस्थ शरीर विना शान्त मन र सुखी जीवनको परिकल्पना गर्न सकिँदैन । यसर्थ हरेक साधकको शरीर स्वस्थ तन्दुरुस्त हुनु जरुरी छ । आजको युगमा सदासर्वदा स्वस्थ रहनका लागि योग एउटा सर्वोत्कृष्ट विज्ञान हो भनिरहँदा अतिसयोक्ति हुनेछैन ।


योगले सर्वप्रथम आहार शुद्धिको कुरा गर्छ । आहार शुद्धिले रक्तशुद्धि हुन्छ । रक्त शुद्धिले मात्र समग्र शरीर शुद्ध रहन्छ । अर्को कुरा योगका विशेष व्यायाम, आसनले शरीरका सम्पूर्ण अङ्ग प्रत्यङ्ग, तन्तु स्नायु तन्त्र, पाचन तन्त्र आदि इत्यादि तन्त्रलाई सदा सक्रिय राख्छ । प्राणायामले प्राणशक्तिलाई बिस्तार गर्छ जसले गर्दा जीवन शक्ति उर्जाशील बनाउँदै लैजान्छ । यसरी नियमित रुपमा गरिने ध्यान साधनाले मस्तिष्कको लिम्बिक सिस्टम अर्थात् भावनात्मक मस्तिष्कलाई सन्तुलित एवम् सक्रिय बनाउँछ । मस्तिष्क फ्रन्टल लोब सक्रिय एवम् जागृत हुन्छ ।

ध्यानले संवेदी कर्टेक्समा सकारात्मक उत्तेजना ल्याउँछ । जसले गर्दा मस्तिष्कको कार्य सम्पादन र उत्कर्षतामा बढोत्तरी हुन्छ भने अर्कोतिर वैखरी (थिटा) तरङ्गमा सकारात्मक परिवर्तन ल्याउँछ । यसका साथै अवचेतन मनमा रहेको सुषुप्त शक्तिलाई जागृत गराई असीम शक्तिको अनुभूति गराउँदछ । वास्तवमा असीम शक्तिको माध्यमबाट साधकले आनन्दित जीवनको यात्रा गर्न थाल्दछ । अर्थात् बुद्धिको शिखरको यात्रा गर्न थाल्दछ, जब एउटा साधक बुद्धिको शिखर पुग्ने दुर्लभ सौभाग्य पाउनेछ तब ऊभित्र समाधिको घटना घट्नेछ । सम+धि समको अर्थ बराबर धिको अर्थ बुद्धि, भगवतगीताले भन्छ, समत्वं योग उच्यते । यसको पूरा अर्थ दुःख, सुख, मानव, अपमान, नाफा नोक्सान जस्ता परिस्थितिमा पनि बुद्धि बराबर हुनु सम्भाव समदृष्टि भन्ने हुन्छ । यसकारण योगका परम लक्ष्य भनेको समाधिसम्म पुग्नु हो ।


अचेल यत्रतत्र सर्वत्र जताततै आसन व्यायामको भद्दा प्रतिस्पर्धा चलिरहेको छ । एकजना आउँछ र उसले एउटा आसनलाई फरक तरिकाले प्रस्तुति दिन्छ अनि उसले भन्छ मेरो योग नै सर्वोत्कृष्ट योग हो । अर्को एक जना आउँछ उसले एउटा प्राणायामलाई फरक विधिले प्रशिक्षण गर्छ अनि उसले पनि भन्छ हाम्रो योग नै सबैभन्दा राम्रो हो । तेस्रो व्यक्ति आउँछ र उसले जुम्बा सिकाउँछ अनि उसले भन्छ हाम्रो योग नै वैज्ञानिक योग हो आदि इत्यादि यी सबै अल्पज्ञान मिथ्याज्ञानबाट प्रकट भएका भ्रम र अज्ञानता हुन् । आजको कथित शिक्षित एवम् सभ्य समाजले पनि यस्तै होहल्ला र लहलहैको मार्ग समाएको देखिन्छ । वास्तवमा यस्ता भ्रमहरुको पछि लागेर आफ्नो गति र मतिलाई बिगार्नु बुद्धि विलाश बाहेक अरु हुन सक्दैन ।


नेपालभर योगका शाखा बिस्तार गरी शाखाको माध्यमबाट योग अध्यात्मको सन्देश फैलाउने सपना भएता पनि सर्वप्रथम म मेरो म्याग्दी जिल्लाको हरेक जनतालाई योगी र निरोगी बनाउँछु भनी मस्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी, हृदयमा इमान्दार र मनमा संकल्प लिएर हिंडेको साधक हुँ । यसका लागि मैले सर्वस्व त्याग गरी एउटा फकिरको जस्तो जिन्दगी बाँचेको कुरा म्याग्दी जिल्लाका हरेक बुद्धिजिवी भद्रभलाद्मी, राजनीतिकर्मी एवम् सञ्चारकर्मीमा जगजाहेर नै छ । म्याग्दीको माटोमा वि.सं. २०६० सालदेखि आजको दिनसम्म योग अध्यात्मको पसिना बगेको छ । म्याग्दी जिल्लालाई योगमय बनाउने भिजन र चिन्तनमा दिमाख खर्चिएको छ । तर बिडम्बनाको कुरा हाम्रा प्रबुद्ध मित्रहरुले नै योग शिविरको आयोजना गरी म्याग्दी बाहिरबाट प्रशिक्षकहरु धमाधम भाडामा निर्यात गरी योगशिविर सञ्चालन गरेको देखिन्छ ।

यसको अर्थ बाहिरबाट ल्याउनुहुँदैनथ्यो भन्न खोजेको होइन । हाम्रो म्याग्दीमा सबैखाले ज्ञानी पुरुषहरुलाई ल्याउनुपर्छ । हाम्रो संस्थाले पनि वर्षौंदेखि विभिन्न समयमा विभिन्न विषयका विज्ञ एवम् ज्ञानी पुरुषहरुलाई ल्याएर ज्ञान विधा दिने दिलाउने काम गर्दै आइरहेको कुरा सर्वविदितै छ । तर उस्तै आसन उस्तै प्राणायाम, उस्तै व्यायाम गर्ने र म जस्ता साधारण प्रशिक्षकहरु बाहिरबाट निर्यात गरी योग शिविर सञ्चालन गर्दा स्थानीय योग केन्द्रलाई अपमान गरी निरुत्साहित गरेको जस्तो देखिएको छ । योगको नाममा वियोग हुनेतिर समाजलाई उस्काउनु कत्तिको बुद्धिमत्ता हुन्छ र कतिको न्यायोचित विषय हुन्छ यसको फैसला भविष्यले नै गर्नेछ । अन्तमा म भन्छु,– योग कुनै प्रदर्शन होइन योग एउटा विशाल दर्शन हो यसलाई सङ्कीर्ण सोचको घेराबाट योगलाई चियाउन सकिँदैन । योगलाई बुझ्नको लागि विशाल दिल चाहिन्छ ।

Leave a Comment