म्याग्दी १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन) ले आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेट तथा कार्यक्रममाथि छलफलका क्रममा बुधबार म्याग्दी र प्रदेशका विभिन्न सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
गण्डकी प्रदेशसभाको बुधबारको बैठकमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयसँग सम्बन्धित योजना तथा कार्यक्रममाथि धारणा राख्दै सांसद जुग्जालीले म्याग्दीको रणनीतिक महत्वको बेनी–पाखापानी सडक आयोजनालाई बजेटमा उपेक्षा गरिएको भन्दै त्यसलाई सच्याउन सरकारसँग आग्रह गर्नुभयो ।
उहाँले अर्थमन्त्रीले बजेट वक्तव्यमा दरबाङ करिडोर तथा लामेला–तमान–सोले–दरबाङ सडकको उल्लेख गरे पनि त्यसअनुसार बजेट विनियोजन नगरिएको विषयमा समेत ध्यानाकर्षण गराउनुभयो । बजेट वक्तव्यमा उल्लेख भएका योजनाको कार्यान्वयन सुनिश्चित गर्न आवश्यक स्रोत व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ थियो ।
सांसद जुग्जालीले कृषि मन्त्रालयमार्फत वितरण हुने अनुदान कार्यक्रमको पारदर्शितामाथि प्रश्न उठाउँदै वास्तविक किसानसम्म अनुदान पुग्ने व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । अनुदान वितरण प्रक्रियालाई थप पारदर्शी, निष्पक्ष र परिणाममुखी बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
उहाँले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका कार्यालयबाट खरिद गरिने सिँचाइ पाइपको गुणस्तरप्रति समेत चासो व्यक्त गर्नुभयो । कमसल सामग्री खरिदका कारण सरकारी लगानीको प्रभावकारिता घट्ने भएकाले यस्ता कार्यलाई नियन्त्रण गर्न सम्बन्धित निकायलाई निर्देशन दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेश संरचनालाई थप बलियो र प्रभावकारी बनाउन सरकारको कार्यशैलीमा व्यावहारिक सुधार आवश्यक रहेको जुग्जालीले बताउनुभयो ।
जनताले प्रदेश सरकारको उपस्थितिको अनुभूति गर्ने गरी सेवा प्रवाह र विकास निर्माणका कामलाई प्रभावकारी बनाउन उहाँले सुझाव दिनुभयो । यसैबीच, बेनी–दरबाङ सडकअन्तर्गत फापरखेत क्षेत्रमा बारम्बार हुने पहिरोको विकल्पका रूपमा पखेर–सिमलचौर जोड्ने मोटरेबल पुल निर्माणका लागि रु. दुई करोड बजेट विनियोजन गरेकोमा उहाँले मुख्यमन्त्रीप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
त्यसैगरी बेनी नगरपालिका–१ रत्नेचौर र बागलुङ नगरपालिका–४ जोड्ने ढोडेनीखोला बेलिब्रिज निर्माणका लागि विनियोजन भएको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।














