---Advertisement---

टपरी एग्रो प्रालिलाई डेढ लाखको सर्वोत्कृष्ट पुरस्कार

On: June 26, 2026 7:23 PM
Follow Us:

हरिकृष्ण गौतम
पर्वतको जलजला गाउँपालिकामा वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्धन कार्यक्रमको लगानी प्रस्तुती कार्यक्रममा टपरी एग्रो प्रालि सर्वेत्कृष्ट हुदै डेढ लाख पुरस्कार प्रदान गरिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्धन कार्यक्रमअन्तर्गत शुक्रबार गाउँपालिकाको सभाहलमा आयोजित उत्कृष्ट १० जना उद्यमीको ब्यवसायिक प्रस्तुतीकरणमा जलजला–४, मोहनचोकमा रहेको टपरी एग्रो प्रालिकी ब्यवस्थापक जमुना आचार्यले प्रस्तुती गर्नुभएको थियो ।


स्थापना २०८१ सालमा स्थापना भएको टपरी एग्रो प्रालिले गाउँपालिकाभित्रका उद्यमीलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने गरी स्थानीय उत्पादन तथा हिमाली क्षेत्रमा पाइने अर्गानिक उत्पादनसहित विभिन्न एकसय थरी सामान बिक्री गर्ने गरेको र आगामी दिनमा थप विस्तार गर्ने योजना रहेको ब्यवस्थापक आचार्यको प्रस्तुतीकरणमा रहेको थियो । बार्षिक ८० लाखभन्दा बढीको अर्गानिक उत्पादन बिक्री गर्ने गरेको टपरी एग्रो प्रालिले अर्गानिक उत्पादनको बजारीकरणमा छोटो समयमा फड्को मारेको छ ।


सोही अवसरमा लगानी प्रस्तुतीकरणमा उत्कृष्ट हुने अभिषेक तरकारी तथा पशुपंक्षी फर्मकी सावित्री खत्री, जलजला कृषि तथा पशुपंक्षी फर्मकी शुभकुमारी कार्की, थापा लोकल मार्टकी कमला बानियाँ थापा, मल्ल ढाका उद्योगकी उषा मल्ल, गोमा गाइभैँसी फर्मका तोपबहादुर क्षेत्री,पाईजा अर्गानिक फलफुल तथा पशुपंक्षी फर्मकी बसन्ती पाईजा, पाईजा नर्सरी फर्मका नरबहादुर पाईजा, राधादेवी पशुपंक्षी तथा कृषि फर्मकी राधिका भुसाल र श्री हरि सुन्तला बगैँचा तथा पशुपंक्षी फर्मकी ताराकुमारी रेग्मीलाई जनही १ लाख नगद प्रदान गरिएको थियो । लगानी प्रस्तुतीकरणमा उद्यमीले संघर्ष, सफलता र भावी योजना प्रस्तुत गरेका थिए ।


सर्वोत्कृष्ट र उत्कृष्ट उद्यमीलाई जलजला गाउँपालिकाका अध्यक्ष दिपक आचार्य, प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयका प्रशासकीय अधिकृत अशोककुमार नेपाली, दायित्व संस्था कार्यक्रमका प्रदेश संयोजक बिजय जिसीले समान तथा पुरस्कार वितरण गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष आचार्यले उत्कृष्ट कृषकको सफलताबाट कृषि तथा पशुपालनको क्षेत्रमा नयाँ पुस्तालाई आर्कषित गर्न सकिने बताउनुभयो । गाउँपालिकाभित्र उद्यमशिलता कार्यक्रमलाई थप प्रभावकारी बनाउने गरी आगामी दिनमा समेत अनुदानसहित प्रोत्साहनका कार्यहरुलाई निरन्तरता दिने बताउनुभयो ।

जलजलाका ९ वटै वडाबाट १५४ जना उद्यमीहरुले आवेदन दिएकोमध्ये उद्यमीको उदेश्य, सोच, वित्तिय अवस्था, नवप्रवद्र्धन, उद्यमको वर्तमान अवस्था लगायतको सूचकका आधारमा पहिलो चरणमा चालिस जना उद्यमीको रुपमा छनौट भएका उद्यमीहरुलाई तालिम दिएर व्यावसायिक योजना तयार गर्न लगाएर दोस्रो चरणमा २० जना हुदै अन्तिम १० उत्कृष्ट उद्यमी छनौट गरीएको थियो ।


गत आ.व. २०८१÷२०८२ मा उत्कृष्ट २० मा छनौट भएका उद्यमीलाई विभिन्न चरणमा फरक अनुदानसहित सफलताको आधारमा उत्कृष्ट २० बाट छानिएर आएका १० जना उद्यमीलाई सम्मान गरिएको कार्यक्रमका फिल्ड अफिसर विश्वनाथ आचार्यले बताउनुभयो ।

प्रदेश सरकारको ४० लाख, जलजला गापाको २० लाख र दायित्व संस्थाको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रमले पालिकामा उद्यममा लागेकाको पहिचान, प्रवद्र्धन र रोजगारी सिर्जनसहित नयाँ उद्यमी उत्पादन गर्ने लक्ष्य रहेको गाउँपालिकका सूचना अधिकारी भेषनाथ आचार्यले बताउनुभयो । आगामी आवमा उद्यमीको सफलता र दिगोपनासँग केन्द्रित भएर कार्यक्रम सञ्चालन गरिने छ ।

Leave a Comment