---Advertisement---

खाडीबाट फर्केर गाईपालन, मासिक दुई लाखभन्दा बढी आम्दानी

On: June 27, 2026 12:09 PM
Follow Us:

रोजगारीका लागि आठ वर्षसम्म साउदी अरब बसे पनि अपेक्षित आम्दानी गर्न नसकेपछि घर फर्किएका पर्वतका एक युवाले व्यावसायिक गाईपालनबाट मासिक दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्। 

पर्वतको जलजला गाउँपालिका–८ फर्सेका ४५ वर्षीय नारायण जिसी विगत १३ वर्षदेखि व्यावसायिक गाईपालनमा संलग्न छन्। उनको गोठमा १२ वटा गाई र एउटा भैँसी छन्। दैनिक ७५ देखि ८० लिटर दूध उत्पादन गरी बजारमा बिक्री गर्दै आएका जिसीले गाईपालन सुरु गरेपछि आठ वर्ष साउदी अरब गएर काम गरे पनि आफ्नै गाउँमा बढी आम्दानी हुने देखेपछि फर्केर व्यवसाय विस्तार गरेको बताए। 

पछिल्लो पटक १५ लाख रुपैयाँ लगानी गरेर गाईपालन विस्तार गरेका जिसीले दूध बिक्रीबाट वार्षिक २४ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने बताए। दाना, घाँस र परालमा मासिक करिब ६० हजार रुपैयाँ खर्च हुने र सबै खर्च कटाएर वार्षिक १७ देखि १८ लाख रुपैयाँसम्म बचत हुने उनको भनाइ छ। 

उनका अनुसार उत्पादित दूध बस्ती नजिकै रहेको सङ्गम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थाको सङ्कलन केन्द्रमा बिक्री हुँदै आएको छ। सहकारीले गुणस्तरका आधारमा प्रतिलिटर ९६ देखि ११० रुपैयाँसम्म भुक्तानी गर्दै आएको छ। घर नजिकै बिक्री हुने भएकाले बजारीकरणको समस्या नभएको र गुणस्तरअनुसार मूल्य पाउँदा व्यवसाय सहज भएको जिसीले बताए। 

जिसीले आफ्नो फार्म सम्बन्धित निकायमा दर्ता गरेर सञ्चालन गर्दै आएका छन्। गाईवस्तुका लागि दाना आफैं तयार गर्ने र घाँस तथा पराल आफ्नै खेतबारीमा उत्पादन गर्ने भएकाले नियमित खर्च पनि कम हुने उनको अनुभव छ। 

फार्ममा परिवारका सदस्यले मात्रै काम गर्दै आएका छन्। आफू, श्रीमती र छोराछोरीले नियमित रेखदेख गर्ने भएकाले हालसम्म बाहिरी कामदार राख्न नपरेको उनले बताए। 

व्यवसायबाट राम्रो आम्दानी भएपछि जिसीले गोठ र अन्य संरचना विस्तार गरी गाईभैँसीको संख्या २० पुर्‍याउने योजना बनाएका छन्। पालिका र भेटेरीनरी अस्पतालबाट प्राविधिक सहयोग पाइरहेको उनले जानकारी दिए। 

दूध ढुवानीमा प्रतिलिटर पाँच रुपैयाँ अनुदान पाउँदा किसानलाई थप राहत भएको उनले बताए। राज्यबाट प्रोत्साहन मिलेकाले पशुपालनतर्फ आकर्षण बढ्दै गएको भन्दै उनले विदेशमा रोजगारी खोजिरहेका युवालाई स्वदेशमै कृषि तथा पशुपालन गर्न सुझाव दिए। 

फर्से गाउँमा जिसी मात्र नभई अन्य ३५ जनाले पनि व्यावसायिक गाईभैँसी पालन गरिरहेका छन्। जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशुसेवा कार्यालयका अनुसार गाउँबाट दैनिक करिब ८०० लिटर दूध उत्पादन हुँदै आएको छ। कार्यालय प्रमुख सुरेशकुमार श्रेष्ठका अनुसार किसानलाई प्रतिलिटर दूध ढुवानीमा पाँच रुपैयाँ अनुदान दिइँदै आएको छ।  

साथै भकारो सुधार, गाईभैँसीका लागि म्याट र दूध सङ्कलनका क्यानलगायत सामग्रीमा पनि सहयोग उपलब्ध गराइँदै आएको छ।   

Leave a Comment