म्याग्दीको सदरमुकाम बेनीमा रहेको बौद्ध युवा क्लबको आयोजनामा आगामी असोजमा दुई लाख २२ हजार २२२ रुपियाँ पुरस्कार राशीको खुला फुटबल प्रतियोगिता हुने भएको छ । क्लबका अध्यक्ष दुर्गा बुढाका अनुसार प्रतियोगिता असोजको अन्तिम साता सञ्चालन हुने छ । प्रतियोगितामा दोस्रो हुने टिमले एक लाख ११ हजार १११ र तेस्रो हुने टिमले ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
त्यस्तै अनुशासित टिमलाई २२ हजार २२२ रुपियाँ, उत्कृष्ट खेलाडीलाई सात हजार ७७७ रुपैयाँ प्रदान गरिने छ । उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई समेत सात हजार ७७७ रुपियाँका दरले पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता खुला रहने छ र प्रत्येक टिमले बढीमा दुई जना विदेशी खेलाडी समावेश गर्न पाउने आयोजकले जनाएको छ । देशभरका जुनसुकै क्लब तथा टिमले आफ्ना उत्कृष्ट खेलाडी सहभागी गराउन सक्ने छन् भने विदेशी खेलाडी अधिकतम दुई जनामात्रै समावेश गर्न पाइने क्लबले स्पष्ट पारेको छ ।

त्यसैगरी बौद्ध युवा क्लबका कोषाध्यक्ष कमल घर्तीमगरका अनुसार प्रतियोगितामा पुरस्कारतर्फ चार लाख ५७ हजार ४७२, मेडल तथा ट्रफीमा एक लाख २५ हजार, खेल सामग्रीमा ७५ हजार, प्रचार–प्रसार तथा मायाको चिनोमा चार लाख ५० हजार, अतिथि सत्कार तथा स्वयंसेवक परिचालनमा दुई लाख र अफिसियल खर्चमा तीन लाख ५० हजार गरी कुल १६ लाख ५७ हजार ७७२ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता २०८३ सालको असोज २५ देखि ३० गतेसम्म बेनी नगरपालिका–७ स्थित बेनी बजारको खुल्ला मञ्चमा सञ्चालन हुने छ ।
९ ए साइड स्वरूपमा हुने प्रतियोगिता फिफाले तोकेको मापदण्डअनुसार सञ्चालन गरिने बौद्ध युवा क्लबका श्यामसुन्दर कँडेलले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ, बेनी नगरपालिका वडा नं ७ का वडा सदस्य रमेश फगामी, म्याग्दी उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष बेलबहादुर कटुवाल, मंगला आमा समुहकी अध्यक्ष टकसरा राना, बौद्ध यूवा क्लवका निर्वतमान अध्यक्ष विजय किसान, स्थानीय समाजसेवी सुवासकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो।












