---Advertisement---

१७ वर्षे विदेश बसाइपछि भेँडापालन

On: July 1, 2026 9:44 PM
Follow Us:

बिहान सबेरै उठ्नु, पशु चौपायाको गोठमा जानु, घाँस तथा कुँडोफाँडो खुवाउनु र दहुनु एक किसानको दैनिकी नै हो । यस्तै एकाबिहानै उठेर भेडाको गोठमा जाने, पाठापाठीलाई दुध खुवाउने र भेडालाई घाँस तथा कुँडो खुवाएपछि आफूले खाना खाएर जङ्गलमा चराउन लैजाने काम गरेर भेडा गोठालाको दिन बित्ने गर्दछ ।

अहिले यही भेडा चराउने काममा व्यस्त हुनुहुन्छ, म्याग्दीको रघुगंगा गाउँपालिका–५, झिँका दलमान शेरपुञ्जा । विगतमा १७ वर्षको समय वैदेशिक रोजगारीको सिलसिलमा तीनवटा देशमा बिताउनुभएका उहाँले ५ वर्षअघि गाउँ फर्किएपछि भेडापालन गर्दै आइरहनुभएको छ । आफ्नो बाबुबाजेले गर्दै आएको पेशा भेडापालन व्यवसाय अरु कामभन्दा उचित लागेपछि आफूले भेडापालन गर्न सुरु गरेको उहाँको भनाइ छ ।

रोजगारीका लागि ५ वर्ष दुबई, १८ महिना साउदीअरब र बाँकी साढे १० वर्ष कतार बसेर फर्किनुभएका शेरपुञ्जाले हिजोआज टोड्केको वनजङ्गल क्षेत्रमा भेडा चराउने गर्नुहुन्छ । उहाँको गोठमा अहिले ७० भन्दा धेरै भेडा छन् । उनीहरु माउभेडा, भेडाका पाठापाठी र साँड रहेका छन् भने एउटै भेडालाई ४५ हजार रुपैयाँसम्म मूल्य पर्ने उहाँले जानकारी दिनुभयो । बिहान १०/११ बजे भेडा गोठबाट निकालेपछि दिनभर वनमा चरेर भेडा साँझ ५/६ बजेतिर गोठमा फर्कन्छन् । माउ भेडालाई वनजङ्गलमा लगे पनि स–साना पाठापाठी गोठमै रहन्छन् ।

भेडापालन गरेका किसानहरुले गर्मीयामको समयमा हिमालको फेदीसम्म भेडा चराउनको लागि पु¥याउने गर्दछन् । अर्थात् गर्मी समय सुरु भएपछि लेकतिर र जाडो मौसममा भेडालाई बेंसीतर्फ झार्ने चलन रहेको छ । शेरपुञ्जाले अहिले गर्मी बढेकाले लेकतिर भेडा उकालेको बताउनुभयो । उहाँले अरु भेडापालन गरेका साथीहरुले धौलागिरि हिमालको फेदीसम्म भेडा लैजाने गरेको भए पनि आफूले नलगेको बताउनुभयो । हिमपात परेको समयमा भेडालाई छुट्टै दाना खुवाउनुपर्छ । भेडापालक किसान शेरपुञ्जाले तोरीको पिना निकालेर त्यसमा नुन मिसाएर भेडालाई दानाको रुपमा प्रयोग गर्ने गरेको बताउनुभयो ।

विदेशी भूमिमा गएर अर्काको अन्डरमा काम गर्नुभन्दा स्वदेशमै भेडा चराउन पाउँदा आनन्द आउने भेडापालक किसान शेरपुञ्जासँग अनुभव छ । उहाँले भेडापालनबाट वार्षिक रुपमा करिब छ लाख रुपैयाँ आम्दानी गर्ने गरेको अनुभव सुनाउनुभयो । भेडापालनबाट आएको आम्दानीले छोराछोरीलाई स्नातक तहसम्म अध्ययन गराएको, घरखर्च चलाउनेलगायत काममा खर्च गर्ने गरेको उहाँ बताउनुहुन्छ । झिँ गाउँको शिरानमा रहेको पर्यटकीय क्षेत्र टोड्के आसपासको जङ्गलमा शेरपुञ्जाका भेडाहरु दिनभरजसो चर्ने गर्दछन् ।

गाउँमा ‘भाले मगर’को समेत परिचय बनाउनुभएका भेडापालक किसान शेरपुञ्जाले विदेशमा गएर कमाएको पैसा एकपटक घरमा पठाएपछि आफू रित्तै हुने गरेको समेत खुलासा गर्नुभयो । उहाँले भेडा खरिद गरेर भेडापालन सुरु गर्नुभएको थियो । अहिले शेरपुञ्जाको गोठमा ससाना पाठापाठी, माउभेडा र बिऊँपूजी गरी ७० वटाभन्दा धेरै भेडाहरु रहेका छन् । आफ्नो हातखुट्टा चलुन्जेल भेडापालन गरिरहने उहाँको योजना छ । गाउँ फर्किएर भेडापालन गर्दा घर, परिवार, छरछिमेक सबैसँग बस्न पाइने भएकाले वैदेशिक रोजगारी त्यागेको उहाँले बताउनुभयो ।

सुरुमा २३ वटा भेडा खरिद गरेर आफूले व्यावसायिक भेडापालन सुरु गरेको किसान शेरपुञ्जाको भनाइ छ । उहाँले आफूलाई भेडापालन गर्नका लागि खोर व्यवस्थापनको आवश्यकता रहेको बताउँदै सरकारले भेडाहरु पाल्न खोर सुधारमा सहयोग गर्नुपर्ने माग गर्नुभयो । उहाँले सुरुमा साढे दुईलाख रुपैयाँको लगानी गरेर भेडापालन सुरु गरेकोमा अहिले त्यसलाई बढाएर गोठमा १० लाख रुपैयाँ बराबरको भेडा पु¥याउनुभएको छ । भेडापालन गर्नसके बजारको समस्या नभएको किसान शेरपुञ्जाको अनुभव छ । व्यावसायिक रुपमा भेडापालन गरेका वास्तविक किसानहरुको पहिचान गरेर सरकारले सोही अनुसार आवश्यक सहयोगहरु गर्नुपर्ने उहाँको भनाइ छ ।

Leave a Comment