समयमा नै वर्षा नहुँदा र सिंचाइ सुविधा पर्याप्त नभएका कारण म्याग्दीमा मध्य असारसम्म करिब ३५ प्रतिशत खेतमा मात्र रोपाइँ भएको छ ।
हालसम्मको विवरणअनुसार म्याग्दीमा कुल खेतीयोग्य जमिन ३० हजार ८५६ हेक्टर रहेकोमा हाल खेती गरिएको १९ हजार ४ सय ९८ हेक्टरमध्ये ६ हजार ४ सय हेक्टर जमिन सिंचित रहेकोमा धान खेती ३ हजार ८ सय हेक्टरमा हुने कृषि विकास कार्यालय म्याग्दीका प्रमुख सञ्जीब बाँस्तोलाले बताउनुभयो ।

एक हजार आठ सय हेक्टर जमिनमा मात्रै सिँचाइको पहुँच पुगेको म्याग्दीका अधिकांश क्षेत्रमा आकासे पानीको भरमा खेती हुँदै आएको छ ।
आकासे पानीको भरमा रोपाइँ हुने म्याग्दीका हरेक क्षेत्रका लागि समयमै पर्याप्त पानी नपर्दा रोपाइँ प्रभावित बनेको छ । असार महिनाको सुरुवातसँगै म्याग्दीका कृषकहरूले धान रोपाइँ सुरु गरेको भए पनि सिँचाइको पर्याप्त स्रोत नभएको कारणले गर्दा आकाशको पानीकै भर पर्नु पर्ने भएकोले रोपाइँ पर्याप्त हुन नसकेको छैन् ।
असारको सुरुवातमा पर्याप्त वर्षा नभएको तथा तीन बाली लगाइने बेँसीका फाँटहरूका खेतमा मकै भएकाले पनि धान रोपाइँमा ढिलाइ भएको छ । जिल्लाको अधिकांश कृषकहरू सिँचाइ अभावमा खेत रोपाइँका लागि वर्षामै भर पर्नुपर्ने बाध्यता रहेको छ ।
म्याग्दीमा गौरिया, जेठो बुढो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण–३, खुमल–४, खुमल–१०, लुम्ले–२ लगायतका धानको खेती हुने गर्छ ।












