फ्रान्सले स्वीडेनलाई ३–० ले हराउँदै फिफा विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ। यस जितसँगै कप्तान केलियन एमबाप्पेले नयाँ कीर्तिमान बनाएका छन्।
खेलको ४५औं मिनेटमा एमबाप्पेले शानदार गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। दोस्रो हाफको ५३औं मिनेटमा ब्राडली बार्कोलाले माइकल ओलिसको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए। त्यसपछि ७४औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको ३–० को जित सुनिश्चित गरे।
योसँगै एमबाप्पे विश्वकपको नकआउट चरणमा सर्वाधिक १० गोल गर्ने खेलाडी बनेका छन्। उनले ब्राजिलका लियोनिडास र रोनाल्डोको आठ–आठ गोलको कीर्तिमान तोडे।
आजको खेलमा एमबाप्पेले पाँचौं र छैटौं गोल गर्दै गोल्डेन बुटको दौडमा लियोनेल मेस्सीसँग बराबरी गरेका छन्। विश्वकपमा उनको कुल गोल संख्या १८ पुगेको छ। उनले १८ खेलमा १८ गोल गरेका हुन्। जुन मेस्सीको कीर्तिमानभन्दा एक गोल कम हो।
प्रतियोगिताभरि एमबाप्पे र मेस्सीबीच विश्वकप गोलको कीर्तिमानलाई लिएर प्रतिस्पर्धा भइरहेको छ। एमबाप्पेले पहिलो खेलमा सेनेगलविरुद्ध गोल गर्दै विश्वकपमा आफ्नो कुल गोल संख्या १५ पुर्याएका थिए। त्यसबेला मेस्सीको १३ गोल थियो।
पछि मेस्सीले अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै विश्वकपमा आफ्नो कुल गोल संख्या १६ पुर्याए। यससँगै उनले मिरोस्लाभ क्लोसको सर्वाधिक १६ गोलको कीर्तिमान बराबरी गरेका थिए।
सन् २०१८ मा विश्वकपमा डेब्यु गर्दा एमबाप्पेले ४ गोल गरेका थिए। पछि, सन् २०२२को कतार विश्वकपमा ८ गोल गर्दै उनले गोल्डेन बुट अवार्ड जितेका थिए। यस पटक पनि गोल्डेन बुट जितेमा एमबाप्पे विश्वकपमा एक भन्दा बढी पटक वा लगातार गोल्डेन बुट जित्ने पहिलो खेलाडी बन्नेछन्।
जारी विश्वकपमा गोल्डेन बुटको दौडमा एम्बाप्पे र मेस्सीलाई नर्वेका एर्लिङ हालान्डले पछ्याइरहेका छन्। उनले ५ गोल गरिसकेका छन्।
यता, फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्सले पनि नयाँ इतिहास रचेका छन्। स्वीडेनविरुद्धको जितसँगै उनले विश्वकपमा प्रशिक्षकका रूपमा सर्वाधिक १८ जित हासिल गर्ने कीर्तिमान बनाए। यसअघि यो कीर्तिमान जर्मनीका हेल्मुट शोनको नाममा १७ जित रहेको थियो।
अब फ्रान्सले अन्तिम १६ मा शनिबार पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ।













