पटक-पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या देखिएपछि नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले एक ठाँउमा फल्ट पत्ता लागेको जनाएको छ। दैनिक ट्रिपिङ हुने समस्या आउन थालेपछि प्राविधिक टोली खटिएर पर्वतको जलजला गाउँपालिका क्षेत्रमा तारलाई छुट्याउने पिनमा समस्या भेटिएपछि समाधान गरिएको प्रमुख सत्यनारायण गामीले बताउनुभयो ।
‘ट्रिपिङ हुने समस्या देशैभरी छ, हामीले जिल्लाभित्र समस्या देखिएका स्थानमा कर्मचारी परिचालन गरी समस्या पहिचानको प्रयास गरिरहेका छौ’ कार्यालय प्रमुख गामीले भन्नुभयो । पर्वत र म्याग्दी क्षेत्रमा कर्मचारीले समाधानका लागि विशेष अभियान सुरु गरेकाले समस्या भेटिएलगत्तै समाधान गरिने प्रमुख गामीको भनाई छ । वर्षायाममा बारम्बार विद्युत् अवरुद्ध हुने सम्भावना धेरै हुन्छ ।
बेनी वितरण केन्द्रले संघीय सरकारबाट समेत ट्रिपिङको समस्या समाधानका लागि अनुरोध भएको बताउनुभयो। समस्यालाई उच्च प्राथमिकतामा राख्दै समाधान अभियान सञ्चालन गरिएको हो । म्याग्दीमा पटकपटक विद्युत अवरुद्ध हुदाँ उद्योग तथा कलकारखाना, साना मजौला उद्योग, ब्यवसाय, शैक्षिक संस्था लगायत समस्यामा पर्ने गरेका छन् । मनसुनका कारण उत्पन्न हुन सक्ने सम्भावित समस्यालाई निरुपण गरी विद्युत् सेवा नियमित र भरपर्दो बनाउन समेत उपभोक्ताले माग गरेका छन् ।












