पूर्वाधार विकासमन्त्री लम्सालले उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाको बाँकी रहेको खण्डमा बजेटको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सडक निरीक्षणका लागि मुस्ताङ आउनुभएका मन्त्री लम्सालले बाह्रैमहिना सञ्चालन हुने गरी आगामी आर्थिक वर्ष २०८३/८४ मा कोरला नाकासम्मको बाँकी सडक कालोपत्रेका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनालाई निर्देशनसमेत दिनुभएको छ ।

नेपाल–चीन–भारतबिच त्रिदेशीयसँगै दक्षिण एसियाली देशको व्यापारमा समेत जोड्न कोरला नाकासम्म कालोपत्र गरी अर्थतन्त्रलाई थप बलियो बनाउन सडकखण्डको बाँकी खण्डलाई समेत पूर्णता दिने मन्त्री लम्सालको भनाइ थियो । मन्त्री लम्सालले अति आवश्यक पूर्वाधारलाई स्रोत सुनिश्चिततामा समस्या नभएको बताउनुभयो । मुस्ताङ र म्याग्दी खण्डको करिब २५ किलोमिटर बाढीपहिरोग्रस्त क्षेत्रमा सडक सुधारमा समेत उहाँले चासो व्यक्त गर्नुभयो । बेनी–घाँसा सडकखण्डमा बाढीपहिरोका कारण भोग्नु परेको समस्याको उपयुक्त विकल्पको खोजीका लागि समेत पहल गरिने मन्त्री लम्सालको भनाइ थियो । वर्तमान सरकारले कालीगण्डकी कोरिडोर अन्तर्गत छुसाङ–घमी सडक कालोपत्रेका लागि स्रोत सुनिश्चित गरेको थियो ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाको घमी जोड्ने ४० किलोमिटर सडकलाई अर्थ मन्त्रालयबाट तीन अर्ब १५ करोड बराबरको स्रोत सुनिश्चितता भएर यसै आवमा ठेक्का लगाउने तयारी भइरहेको छ ।

गण्डकी प्रदेशको एक मात्र भन्सार नाका उपल्लो मुस्ताङको प्रमुख समस्या सडक र अन्य भौतिक पूर्वाधार रहेको अवस्थामा मन्त्री लम्सालको प्रतिबद्धताले सडक पूर्वाधारमार्फत आर्थिक गतिविधि थप चलायमन बनाउन सकिने मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु लालचनले बताउनुभयो ।
कोरला नाका भारत र चीन जोड्ने सबैभन्दा छोटो ४३५ किलोमिटर दुरीको नाका हो । कोरला नाका चीनको सिगात्से नगरबाट तीन हजार ६८७ किलोमिटर दुरीमा रहेको छ भने लिजीबाट ल्हासाको दुरी चार हजार ९६५ किलोमिटर रहेको छ ।













