विश्वकप फुटबलको कुनै खेल अन्तिम मिनेटमा पुगेपछि एक सानो निर्णयले पनि खेलको नतिजा बदल्न सक्छ। त्यस्तो निर्णायक क्षणमा रेफ्री सही समयमा सही स्थानमा पुग्नुपर्ने हुन्छ। तर त्यो सजिलो काम होइन।
उनीहरूले मियामीको अत्यधिक आर्द्र मौसमदेखि मेक्सिको सिटीको समुद्री सतहभन्दा २,२०० मिटरभन्दा बढी उचाइसम्मका चुनौतीपूर्ण वातावरणमा खेल सञ्चालन गर्नुपर्ने हुन्छ।
दर्शकहरूको ध्यान प्रायः गोल गर्ने खेलाडीमा केन्द्रित हुन्छ। तर मैदानमा रेफ्रीहरू पनि खेलाडीसरह निरन्तर दौडिरहेका हुन्छन्। फिफाका अनुसार एक रेफ्रीले औसतमा प्रति खेल १२ देखि १३ किलोमिटर दौडिन्छन्, जुन धेरै मिडफिल्डर वा आउटफिल्ड खेलाडीले तय गर्ने दूरीसँग मिल्दोजुल्दो हो।
फिफाका अनुसार २०२६ विश्वकपका लागि रेफ्रीहरूको तयारी करिब चार वर्षअघि नै सुरु गरिएको थियो। उनीहरूलाई पनि खेलाडीसरह वैज्ञानिक ढंगले प्रशिक्षण दिइएको हुन्छ।
नियमित शारीरिक परीक्षण, फिटनेस मूल्याङ्कन र खेलअघिका अन्तिम छ महिनामा उच्च तीव्रताको अभ्यासमार्फत उनीहरूको क्षमता बढाइएको थियो।
फिफाले सन् २०२५ मा अमेरिकामा आयोजना भएको क्लब विश्वकपबाट प्राप्त अनुभवले गर्मी, आर्द्रता, लामो यात्रा र फरक समय क्षेत्रसँग जुध्न रेफ्रीहरूलाई तयार पार्न ठूलो सहयोग पुगेको जनाएको छ।
खेलजस्तै अभ्यास, वैज्ञानिक निगरानी
रेफ्रीहरूको प्रशिक्षण सामान्य दौडमा सीमित हुँदैन। उनीहरूले वास्तविक खेलकै जस्तो परिस्थितिमा स्प्रिन्ट, दिशा परिवर्तन, गति नियन्त्रण, सहनशीलता र निर्णय क्षमताको अभ्यास गर्छन्।
प्रत्येक प्रशिक्षणका क्रममा जीपीएस ट्र्याकर, मुटुको धड्कन मापन गर्ने सेन्सर तथा रक्त–ल्याक्टेट परीक्षण प्रयोग गरेर उनीहरूको शारीरिक अवस्था विश्लेषण गरिन्छ।
फिफाले प्रशिक्षणको भार पनि वैज्ञानिक तथ्यका आधारमा समायोजन गर्ने गरेको जनाएको छ। ‘हामी खेलाडीहरूले प्रयोग गर्ने स्तरकै डेटा ट्र्याकिङ प्रणाली रेफ्रीहरूमा पनि प्रयोग गर्छौं,’ फिफाले जनाएको छ।
पोषण र रिकभरीमा विशेष ध्यान
विश्वकपका लागि छनोट भएका रेफ्रीहरू मियामीस्थित विशेष प्रशिक्षण केन्द्रमा बस्छन्। त्यहाँ उनीहरूका लागि १२ जना चिकित्सा विशेषज्ञ, १० जना फिजियोथेरापिस्ट तथा खेल पोषणमा विशेषज्ञ शेफको व्यवस्था गरिएको छ।
खेल हुनुभन्दा तीन दिनअघि छोटो दूरीको तीव्र दौड, नक्कली खेल अभ्यास र गति विकाससम्बन्धी प्रशिक्षण गराइन्छ। खेल सकिएपछि भने दुई दिन सक्रिय रिकभरी, मसाज, स्ट्रेचिङ र क्रायोथेरापीमार्फत शरीरलाई पुनः तयार बनाइन्छ।
साथै पर्याप्त पानी, इलेक्ट्रोलाइट सप्लिमेन्ट र प्रत्यक्ष घाममा कम समय बिताउने तालिका पनि अपनाइन्छ।
थकानले निर्णयमा पार्न सक्छ असर
फुटबलसम्बन्धी अनुसन्धानले अत्यधिक थकानका कारण रेफ्रीको स्थिति चयन, हेर्ने कोण र प्रतिक्रिया समय कमजोर हुन सक्ने देखाएको छ। त्यसैले उनीहरूलाई खेलभर उच्च एकाग्रता कायम राख्न विशेष मानसिक तथा शारीरिक तयारी गराइन्छ।
अध्ययनअनुसार एलिट स्तरका खेलमा रेफ्रीको उच्च तीव्रताको दौडले उनीहरूको कुल गतिविधिको एक तिहाइभन्दा बढी हिस्सा ओगट्न सक्छ। खेलका क्रममा उनीहरूको मुटुको धड्कन अधिकतम क्षमताको ८० देखि १०० प्रतिशतसम्म पुग्ने गरेको छ।
चोटपटकको जोखिम पनि उत्तिकै
कडा तयारीका बाबजुद रेफ्रीहरू पनि चोटबाट सुरक्षित हुँदैनन्। क्लब विश्वकपको समूह चरणमा अमेरिका र अष्ट्रेलियाबीच भएको खेलमा जर्मन रेफ्री फेलिक्स ज्वेयर खेलको अन्त्यतिर खुट्टा बाउँडिएर मैदानमै ढलेका थिए। त्यसपछि दुवै टोलीका खेलाडी र सहायक रेफ्रीले उनको खुट्टा तन्काउन सहयोग गरेका थिए, जसपछि उनले खेल पूरा गराएका थिए।
विश्वकपमा खेलाडीहरू नै सबैभन्दा बढी चर्चामा रहने भए पनि प्रत्येक निर्णायक गोल, पेनाल्टी वा अफसाइड निर्णयको पछाडि रेफ्रीहरूको अथक दौड, अनुशासन र वर्षौंको तयारी लुकेको हुन्छ।
उनीहरूको एउटा सही सिट्टीले खेलको इतिहास बदल्न सक्ने भएकाले उनीहरू पनि विश्वकपका वास्तविक ‘अदृश्य धावक’ हुन्।
















