सेवाग्राही लिन नआएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीले पोखरामा बसोबास गर्ने म्याग्देलीलाई वितरण गर्ने शिविर सञ्चालन गरिने भएको छ । कार्यालयमा राष्ट्रिय परिचयपत्र थन्किएपछि जिल्लाभित्र पालिका तथा वडास्तरमै पुगेर वितरण गर्ने गरिएकोमा पहिलोपटक पोखरामा यही असार २७ गते शनिबार पुन समाजको सभाहल, रामबजारमा वितरण गरिने सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो ।
वि.सं. २०७७ साल कार्तिक २४ गतेदेखि २०८० साल असार मसान्तसम्म जिल्ला प्रशासन कार्यालय म्याग्दीमा राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता गराएका, म्याग्दी जिल्ला स्थायी ठेगाना भई हाल पोखरामा बसोबास गर्नेलाई भौतिक रुपमा उपस्थित भएर सेवा लिन अनुरोध गरिएको छ । उक्त शिविरमा अभियानमार्फत वडा कार्यालयहरूबाट संकलन गरिएका राष्ट्रिय परिचयपत्रहरू हालसम्म कार्यालयमा प्राप्त नभएकाले प्राप्त भएपछि मात्रै वितरण गरिने छ । जिल्ला प्रशासन कार्यालयमै फारम भरेपछि विदेशिएका र जिल्लाबाहिर भएकाले १० हजारभन्दा बढी थन्किएको छ ।
प्रजिअ रबिन्द्र आचार्यले जिल्लाभित्र स्थानीय तहमार्फत वडा कार्यालयमा समन्वय गरी आगामी आर्थिक बर्ष २०८३÷०८४ सालमा निरन्तरता दिइने छ । फारम भर्दा र परिचयपत्र लैजान व्यक्तिको आँखा, अनुहार, हात, औठाछाप आदिको विद्युतीय (डिजिटल) विवरण सङ्कन गर्ने आधुनिक प्रणाली बायोमेट्रिक गरिन्छ । राहदानी, नागरिकता तथा विभिन्न सेवा लिन जिल्ला प्रशासनमा आएका सेवाग्राहीले राष्ट्रिय परिचयपत्रको फारम भरेको लामो समयसम्म पनि परिचयपत्र लिन नआएको धेरै परिचयपत्रको कार्ड वितरण हुन सकेको छैन । परिचयपत्र लिनका लागि स्वयं व्यक्ति नै आउनुपर्ने र पुनःबायोमेट्रिक गर्नुपर्छ ।












